सुरज भट्टराई,रुपन्देही। ५ नम्बर प्रदेश स्तरिय कविता प्रतियोगितामा रुपन्देहिका यज्ञ प्रसाद न्यौपाने(दिपक)ले प्रथम स्थान हासिल गरेका छन् । न्यौपाने युगिन साहित्य समाज नेपालका अध्यक्ष समेत हुन। उनको ‘घामको आत्मकथा ‘ शीर्षकको कविताले प्रथम पुरस्कार जितेको हो । प्रदेश ५ का बिभिन्न जिल्लाबाट प्राप्त ९० कविताहरु मध्ये अन्तिम छनोट भएका २६ वटा कवितामध्ये न्यौपानेको कविता सर्वोत्कृष्ट भएको हो ।सामाजिक बिकास मन्त्रालयले चौथो संविधान दिवसको अबसरमा कबिता प्रतियोगिताको आयोजना गरेको हो। यस्तो छ प्रथम हुन सफल यज्ञप्रसाद न्यौपाने (दीपक)को कबिता ‘घामको आत्मकथा’
कबिता
सीमान्त सपनाको बस्तीभित्र
इतिहासको उध्दिग्न अँध्यारोमा
यतिखेर उदाएको छु
एउटा सुनौलो घाम ।
सदीयौंदेखि अनागरिक बाँचिरहेको माटोमा
मिसिएको छु इन्द्रेणी रङ ।
कि मलाई उदेग लागेको छ
किन थुकिरहेछन्
मतिर फर्केर केही मान्छेहरू
कि तिनको अनुहारमा
छ्यापिदैन थुकका छिटाहरु ?
कि पुरानै विचारको लगौटी सुँघेर
सम्भोग गर्न चाहन्छन्
गणतन्त्रको किशोरी यौवनसँग
कि कसैको भीखमा बलीदिएको हुँ
जुनकीरीको पुच्छर जस्तो मलिन घाम ?
अहँ ∕ योद्धाको लासको चोमुलोङ्मा टेकेर
अडिएको छु क्रान्तिका रक्तिम वर्णमालाहरुमा ।
हो मेरै आत्मकथाको विप्लवी दस्तावेज
यो संविधान ।
दरबारको पटाङ्गिनीबाट निस्केर, स्वाधीन संघीय आभा
अहिले मानचित्रमा हिडेको छु खेत
धान भएर
समावेशीता र न्यायको
मूल सडक भएर
उक्लेको छु पहाड
चेतनाको सलेदो भएर
फैलन चाहन्छु
उज्यालो गर्भाधान भएर
किसानका हरिया सपनाहरूमा ।
म दुबो मौलाउँछु
जनजीविकाका प्रश्नहरुमा
हो म फुलिरहेछु उन्यँुका बस्तीहरुमा
म नमुर्झाउने आस्थाको घाम हुँ
क्लान्त मान्छेहरुको विश्वास हुँ
तिम्रै आदिवासी सपनाको सुकुल हो
लोकतन्त्रको घाम
तिम्रै उन्मुक्तिको गीत हो संविधान ।
भ्रमको धुलौटो कोरेर पूरा हुँदैन
अब सत्तामोहको गणित ।
बिर्सेको छैन
मेरै आगमनको सङ्घारमा उभिएर
बलात् चिथोरेको हुचिल जस्तो छिमेकीले ।
बास छाडेका चराहरुको डायस्पोरा
चुच्चोमा चारोको पुलिंदा भएर
अविराम बग्न मन छ यो देशको भूगोलभरि ।
अवसादको छाँयामा होईन
समाजवादका किरणहरुमा उधिन्नु बरु
बाँकी छ्न भने विभेदहरु
यिनै किरणहरुमा समेल्नु बरु
बाँकी छन् भने असमानताहरु ।।