घोराही । थारु समुदायका महिलाले शनिबार धुमधामका साथ अष्टिम्की पर्व मनाएका छन् । श्रीकृष्ण जन्माअष्टमीका दिन मनाइने यो पर्व थारु महिलाले वर्षेनी विशेष उल्लासका साथ मनाउने परम्परा छ ।
संस्कृतिविद् अशोक थारुका अनुसार ‘अष्टिम्की’ शब्द ‘अष्टमीटिका’ बाट आएको हो । श्रीकृष्णलाई थारु भाषामा ‘कान्हा’ भन्ने भएकाले भाद्र महिनाको अष्टमी तिथिमा कान्हालाई टीका लगाइने दिनलाई अष्टिम्की भनिन्छ । यो पर्व दुई दिनसम्म मनाइन्छ । पहिलो दिन महिलाले ब्रत बसेर महटावाको घरमा भित्तेचित्र कोरेर पूजा गर्छन् । चित्रमा कान्हासहित सूर्य, चन्द्र, कौरव, दुलाहा–दुलही, डोली, ड्वाला, माछा, बाघ, हात्ती, पंक्षी लगायतका आकृति बनाइन्छन् । बेलुकी गाउँभरिका महिलाले रंगीचंगी पोशाक र गहनाले सजिएर सामूहिक पूजा र गीतगान गर्छन् ।
महटावाकी श्रीमतीबाट पूजा सुरु भएपछि कान्हालाई टीका, कलशको जल अर्पण र भित्तेचित्रलाई क्रमशः पूजा गर्ने परम्परा छ । पूजा पछि रातभर गीत गाएर जाग्राम बस्ने प्रचलन रहेको स्थानीय इन्दिरा दहितले बताइन् । दोस्रो दिन बिहान महिलाले दीप र फूल खोलामा विसर्जन गर्छन् । यो दिनलाई थारु भाषामा ‘फह्रार’ भनिन्छ । स्नान–पूजा गरेपछि घरमा पाँचदेखि सात थरी तरकारी र मिठाइ बनाएर दाजुभाइको नाममा अग्रासन दिने परम्परा छ । विवाहित महिलाले दाजुभाइलाई अग्रासन लिएर जाने चलन रहिआएको स्थानीय चौधरीले बताए ।
अष्टिम्की पर्व दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेतका थारु समुदायमा उल्लासपूर्वक मनाइने गरिन्छ ।
थारु महिलामा अष्टिम्की पर्व : ब्रत, पूजा र जाग्रामसहित उल्लास
थारु महिलामा अष्टिम्की पर्व : ब्रत, पूजा र जाग्रामसहित उल्लास

Advertisement
तपाईको प्रतिक्रिया