प्युठान । प्युठान नगरपालिका–७ टिकुरीकी ३४ वर्षीया खिमा केसीको बिहान गोठमै सुरु हुन्छ । भैंसीको स्याहार, दूध दुहुनेदेखि बजार पु¥याउने काम अहिले केवल पेशा होइन, जीवनशैलीकै रूपमा स्थापित भएको छ ।
तीन वर्षअघि कपिलवस्तुबाट ३ वटा भैंसी किनेर सुरु गरिएको पशुपालन व्यवसाय अहिले ’प्रगति कृषि तथा पशुपंक्षी फर्म’को नामले परिचित भएको छ । हाल उहाँसँग १० वटा हरियाना जातका मुर्रा भैंसी छन्, जसमध्ये ४ दुहुना छन् । तीबाट दैनिक ५५–६० लिटर दूध उत्पादन हुने गरेको छ ।
‘दैनिक ५० लिटर दूध बिक्री गर्छु,’ खिमाले भन्नुभयो, ‘डेरीलाई प्रतिलिटर ८० र घरमै ग्राहकलाई १ सय रुपियाँमा बिक्री हुन्छ ।’
उक्त व्यवसायबाट खिमा मासिक झण्डै ५० हजार रुपियाँ आम्दानी गरिरहनुभएको छ । गोठ निर्माण र भैंसी खरिदमा सुरुमा ७ लाख रुपियाँ लगानी गरेकी उहाँले हालसम्म करिब १५ लाख रुपियाँ लगानी गरिसक्नुभएको छ ।
‘श्रीमान् ट्राफिक प्रहरीको हवल्दार हुनुहुन्छ । उहाँको मात्रै तलबले घर खर्च चलाउन गाह्रो हुन्थ्यो,’ खिमाले भन्नुभयो, ‘भैंसीपालनपछि आम्दानी मात्र होइन, आत्मविश्वास पनि बढेको छ ।’
चार रोपनी जग्गामा हरियो घाँस उत्पादन गर्दै आउनुभएकी उहाँले सुख्खा समयमा भने कपिलवस्तु लगायतका क्षेत्रबाट पराल र गहुँको भूसा खरिद गरेर व्यवस्थापन गर्नुहुन्छ ।
कक्षा १२ अध्ययन गर्नुभएकी खिमाका दुई छोरा र एक छोरी छन् । ’श्रीमान्, सासुआमा र भाइबहिनीको सहयोगले यो सम्भव भएको हो,’ खिमाले भन्नुभयो, ‘श्रीमान् अवकाश पाउँदा व्यवसाय थप विस्तार गर्ने योजना छ ।’
प्युठान नगरपालिकाको पशु विकास शाखाबाट प्राविधिक सल्लाह लिँदै आउनुभएकी खिमा हाल झिमरुक पशुपंक्षी तथा मत्स्य सहकारीमार्फत बाग्दुलामा दूध बिक्री गर्दै आउनुभएको छ । ‘दूधमा अनुदान पाइन्छ भनेर सहकारीमार्फतै बिक्री गर्न थालेकी हुँ,’ उहाँले बताउनुभयो । उहाले घरमै दूध प्लाष्टिक प्याकिङ गरी ग्राहकसम्म पु¥याउने अभ्याससमेत गर्न थाल्नुभएको छ ।स्थानीय कृषक खिमा स्वरोजगार हुँदै आम्दानीका लागि कतै भौतारिनु पर्दैन भन्ने उदाहरण बन्न थालेका छन् ।
भैंसीपालनबाट आत्मनिर्भर खिमा
भैंसीपालनबाट आत्मनिर्भर खिमा

Advertisement
तपाईको प्रतिक्रिया