प्युठान। प्युठानको सरुमारानी गाउँपालिकाले ज्यूँदो खसीबोकाको खरिद मूल्य निर्धारण गरेको छ ।
मंगलबार गाउँपालिकाका अध्यक्ष झगवहादुर विश्वकर्माको अध्यक्षतामा बसेको सरोकारवाला निकाय सहितको बैठकले किसानको मागलाई सम्बोधन गर्दै मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।
बैठकले जिउँदो खसी ३० केजीसम्म प्रति केजी ४८५ रुपियाँ र ३० केजी भन्दा माथी प्रति केजी ५५० रुपियाँ निर्धारण गरेको छ । त्यसैगरी जिउँदो बोका ३० केजीसम्म प्रति केजी ४८५ रुपियाँ र ३० केजी भन्दा माथी ५ सया रुपियाँ तोकिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत देविराम पाठकले जानकारी दिनुभयो ।
यहाका शान्ति कुन्ज महिला उद्यमी सहकारी, सक्रिय महिला उद्यमी सहकारी र सरुमारानी महिला उद्यमी सहकारी, सेवा नेपालले दशैँ, तिहार र छठपर्वका अवसरमा खसीबोका खरिद गरेर सहुलियत दरमा बिक्री वितरण गर्दै आएका छन ।
सहकारीका अनुसार यस वर्ष झण्डै एक हजार खसीबोका बिक्री गर्ने लक्षय छ। योबाहेक खसीबोकाको व्यापार गर्दै आएका व्यक्ति विशेषले पनि व्यक्तिगत सम्पर्कका आधारमा मागबमोजिम खसीबोका बाहिर पठाउँदै आएका छन।
बैठकमा सहकारी संस्था, बाख्रापालक किसान, व्यापारी र सरोकारवालाको उपस्थिती रहेको थियो ।