टेकबहादुर पुन,दाङ । राजपुर गाउँपालिकाले आफ्नो पालिकाका करिब २ हजार बढी सामाजिक सुरक्षा भत्ता पाउनेहरुलाई वडा तहबाटै बितरण गरिरहेको छ।
पालिकाले पौष ४ गते वडा नम्बर ६ बाट भत्ता बितरण सुरु गरेको हो । बिहिवार वडा नम्बर ३ का २ सय ९८ जनालाई भत्ता बितरण गरिएको पालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले बताए । अहिले सम्म पालिकाले वडाको १, २, ३, ५, ६ र ७ नम्बर वडामा सामाजिक सुरक्षा भत्ता बितरण गरिसकेको छ । पालिकाले ४ नम्बर वडामा २३ गते भत्ता बितरण गरि पहिलो चरणको बितरण कार्यको समापन गर्दैछ ।
बृद्ध बृद्धा तथा अपाङ्गता भएका ब्यक्ती हरुलाई बैँक सम्म जानपनि मुस्किल पर्ने भएपछी गाउँपालिकाले यस्तो अभियानको शुरुवात गरेको हो । जसले गर्दा नेतृत्व तर्फ पालिकाबासीमा थप हौसला पैदा भएको छ ।भत्ताकै निम्ति टाढा टाढाबाट बैँक सम्म आएर घण्टौ लाईन लाग्नुपर्ने बाध्यता हटेको छ ।
भुगोलले ठूलो भएको पालिकामा टाढाका बस्ती थुप्रै छन । खासगरी नाका तथा खोलाका बासिन्दाहरु भत्ताका लागि १ भन्दा बढी दिन छुट्टाएर बैँकसम्म आउनुपर्ने बाध्यता थियो । त्यहीमाथी एकैचोटी भत्ता आउने भएकाले घण्टौ लाईन लाग्नुपर्ने बाध्यता थियो । यिनै बाध्यतालाई मध्यनजर गर्दै घरघरमा स्थानिय सरकारको अनुभुती दिलाउन वडा-वडाबाट भत्ता बितरण गरिरहेको राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले बताए ।
यस्तो अभियानले राजपुरबासीलाई समयको बचत सँगै बैँकको झन्झटिलो हटेको राजपुर १ पटौली नाका निवासी प्रेम घर्ती मगरले बताए ।
पालिकाको सहकार्यमा ग्लोबल आईएमई लमही शाखाले भत्ता बितरण गरिरहेको छ ।