काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस, जसपा र राष्टिय जनमोर्चाको तर्फबाट बनेको पाँच दलीय गठबन्धनले सानदार जित हात पार्दा प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेकपा एमालेले पनि गठबन्धनलाई चुनौती दिँदै एक सिट जोगाएको छ ।
सत्ताधारी दलहरू गठबन्धनसहित मैदानमा उत्रिँदा एमालेले प्रदेश १ तर्फ आफ्ना उम्मेदवारलाई विजयी बनाउन सफल भएको हो । योसँगै १९ सिटका लागि भएको निर्वाचनमा एमाले ‘क्लिनस्विप’ हुनबाट जोगिएको हो ।निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम परिणामअनुसार चुनाव भएका १९ मध्ये १८ सिटमा गठबन्धनमा आबद्ध दलका उम्मेदवार विजयी भएका छन् । प्रदेश १ मा एमालेका सोनम ग्याल्जेन शेर्पा विजयी भएका हुन् । शेर्पाको विजयले राष्ट्रिय सभामा एमाले नै ठूलो पार्टीको हैसियतमा उभिएको छ।
राष्ट्रिय सभामा एमाले नै ठूलो
बुधबारको निर्वाचनअघि राष्ट्रिय सभामा एमालेको २४ सिट थियो । बुधबारबाटै एमालेले आफ्नो सात सिट गुमाउँदै १७ सिट कायम राखेको छ ।
यसैगरी, माओवादी केन्द्र दोस्रो ठूलो दल बनेको छ । चुनावअघि १४ सिट रहेको माओवादीले निर्वाचनपछि १ सिट थप्दै दोस्रो ठूलो दल बनेको हो । माओवादीबाट चार सिट रिक्त हुँदै गर्दा थप एक सिट जितेको हो । बुधबार भएको निर्वाचनपछि माओवादी केन्द्रको सिट १५ पुगेको छ ।
यसैगरी, तेस्रो ठूलो दल नेपाली कांग्रेस बनेको छ भने यसअघि सात सिटमा मात्रै सीमित रहेको कांग्रेसले सिट बढाएर १० पु¥याएको छ । कांग्रेसबाट तीन सिट रिक्त हुँदै थियो ।यस्तै, एकीकृत समाजवादी राष्ट्रिय सभामा चौथो ठूलो दल बनेको छ । चुनावअघि सात सिटमा रहेको सो दलबाट चार सदस्य रिक्त हुँदै थिए । गठबन्धनमा भएको भागबन्डामा नेकपा एसले पाँच सिट पाएको थियो भने अब आठ सिटसहित नेकपा एस चौथो ठूलो दल बनेको हो ।यसैगरी, एक सिट रहेको जनता समाजवादीले गठबन्धनमा दुई सिट पाएको भए पनि एक सिट मात्रै थप्न सफल भयो । प्रदेश १ मा जसपाले एक सिट गुमाएको हो । अब राष्ट्रिय सभामा जसपा दुई सांसद भएका छन् ।
यसैगरी, प्रतिनिधिसभामा मात्रै रहेको जनमोर्चाको राष्ट्रिय सभामा समेत खाता खोलेको छ । लुम्बिनी प्रदेशको दलिततर्फ जनमोर्चाका उम्मेदवार तुलबहादुर विश्वकर्मा विजयी भएका छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।