विद्यालय पुग्ने गोरेटाहरु बन्द छन्, ज्ञानका राजमार्गहरु खुल्लै छन्

औपचारिक विद्यालय तथा विश्वविद्यालय जीवनमा म कैंयौ परीक्षाहरुमा सहभागी भए । सयौं परीक्षाका ती प्रश्नपत्रहरुले मेरा हजारौं घण्टाहरु चपाएका छन् । मेरो मस्तिष्क पनि सक्दो घोटिएको छ म आफैबाट । तर यसो सम्झु भन्छु, एउटा प्रश्न मात्रै मेरो दिमागमा नाँच्छ ।

प्रश्न थियो, ‘‘एउटा असल सिकारुले सिक्नकालागि कहिल्यै शिक्षकको प्रतिक्षा गर्दैन । पुष्टि गर्नुहोस् ।’’

धेरै जसोले आफ्नो शैक्षिक जीवनकै अन्तिम वर्ष स्नातकोत्तर तहको दोस्रो वर्षलाई मान्दछन् । यही दोस्रो वर्षको परीक्षामा यो प्रश्न किन सोधिए होला? म हिंजोआज पनि खुब गमिरहन्छु । विद्यालय शिक्षाकै औचित्य माथि प्रश्न गर्ने यो प्रश्न किन सोधिएन होला यस अघिका परीक्षाहरुमा ? या किन सोधियो होला यही अन्तिम वर्षमा ? शिक्षकको अस्तित्व र कक्षामा उसको उपस्थितिको गरिमामाथि प्रश्न गर्ने यो प्रश्न आज पनि गम्भिर प्रश्न छ मेरोलागि । त्यसो त स्नातकोत्तर सकाएपछि शिक्षक बन्नलाई गतिलो कागज (प्रमाणपत्र) चाँही बन्छ, व्यक्ति योग्य या अयोग्य जे बनोस् ।
यो प्रश्न सबै भन्दा बढी त त्यो क्षण मेरो दिमागमा नाँच्दछ जतिबेला म कक्षामा प्रवेश गर्न गइरहेको हुन्छु । एक शिक्षकको रुपमा कक्षामा प्रवेश गरेर निर्धारित पाठ्यक्रमको राजमार्ग पहिल्याउनु कि उक्त प्रश्नको आशयलाई बुझाउनु ? सदैव मझधारमा उभिने प्रयत्न रहिरहेको हुन्छ मेरो ।
हिंजोआज जहाँ पुग्दा पनि ‘विद्यालय बन्द हुनाले केटाकेटी बरबाद भए’ भन्ने कुरा सुनिन्छ । विद्यालय बन्द हुनुको कारण अभिभावकहरु अत्यन्तै चिन्तित छन् । ‘केटाकेटी बरबाद भए’ भन्ने पनि अभिभावकहरु नै हुन् । विद्यालय बन्द हुनुले कोही कुनै सबै भन्दा खुशी छन् भने ती विद्यार्थीहरु हुन् । म शतप्रतिशत भन्दिन, नव्वे प्रतिशतको ग्यारेण्टी लिनसकिन्छ । कक्षाको शिक्षण सिकाई क्रियाकलाप र सिकाइ उपलब्धी आफ्नो नियन्त्रणमा राख्ने दश प्रतिशत विद्यार्थीहरु मात्रै दुःखी छन् । म सरकारी स्थाइ शिक्षकहरुको खुशी र पीडाको मापन गर्न चाहन्न । लकडाउन अवधिमा उनीहरुले निर्वाह गरेको सामाजिक दायित्वबाट नै प्रष्ट हुन्छ ।  तर सबै भन्दा बढी कोही दुःखी छन भने ती निजी शैक्षिक संस्थाका शिक्षकहरु हुन् ।यो दुःख पनि विद्यार्थीहरुको सिकाइलाई लिएर होइन।

‘केटाकेटी बरबाद भए’ भन्ने कुरा नयाँ समस्या होइन । कोरानाकाल सुरु हुनु अगावै कुन विद्यालय नहोला जहाँ मोबाइल व्याण्ड गर्नलाई छलफल नचलेको होस् । कुन अभिभावक र कुन शिक्षक बोलेन हो कि ‘मोबाइलले केटाकेटी बरबाद भए’ भनेर । मलाई हिंजोआज एक कुराले खुब हाँसो छुट्छ । उनै शिक्षकहरु आजकाल विद्यार्थीहरुलाई फेसबुक खोल्न, मेसेन्जरमा सामूहिक छलफलमा सहभागि हुन र सक्दो धेरै समय अनलाइनमा रहिरहन आग्रह गरिरहेका छन् ।

यति अदुरदर्शी, अज्ञानी र कुनै पनि आविस्कारको महत्वबोध गर्न नसक्ने शिक्षकहरुले पढाउने विद्यार्थीहरु आफ्नो अन्धकार भविष्यसंग कसरी जुध्न सक्लान्?

वर्तमानलाई नै छोपेर भविष्यसंग जुध्ने ज्ञान कसरी दिन सक्लान उनीहरु? विद्यार्थी जीवन पश्चात आधा सताव्दी बढी बाँच्ने व्यक्तिले शिक्षकबाट प्राप्त सूचनाहरुको उपयोग गर्दै यति लामो अवधिमा झेल्नुपर्ने समस्याहरुसंग कसरी जुध्लान् उनीहरु?

विद्यार्थीहरु सबै भन्दा बढी खुशी कुन दिन हुन्छन् होला?

अधिकांशले उनीहरु आफ्नो पढाइमा प्रथम भएको दिन या पढाइ पुरा गरेको दिन भन्दछन् । शिक्षाविद् जोन हल्ट आफ्नो लेख ‘स्कूल इज् व्याड फः चिल्ड्रन’को सुरुआतमै यस्तो कुरा उल्लेख गर्दछन्, ‘‘अधिकांश बच्चाहरु, जो पहिलो दिन विद्यालयकालागि घरबाट आफ्ना पाइलाहरु चाल्दछन्, तिक्ष्ण, विवेकशील, असाध्यै उत्सुक, नजान्नुमा असाध्यै कम डर, निकै आत्मविश्वासी, आत्मनिर्भर, दृढ, साधनयुक्त हुन्छन् । कि त्यसपश्चात विद्यालय जीवनमै उनीहरुमा यस्ता गुणहरु नहुन सक्छन् ।’’ बिहान सबै भन्दा बढी खुशी भएर विद्यालय निस्केको बच्चा साँझमा घर फर्कदा अनुहारमा मुश्कान, आत्मविश्वास र अबोध हुनुको निर्धक्कता गुमाएर घर फर्कन्छ भने हाम्रो विद्यालयले के कुरा बाँडिरहेको छ होला?

मुश्कान, आत्मविश्वास र आत्मबोध गुमाएर घर फर्कने विद्यार्थीले तनाव र दिग्दारीको झोला बोकेर घर फर्कन्छ भने हाम्रा विद्यालयहरु बन्द भएर किन बर्बाद होलान् केटाकेटीहरु?

निश्चय नै यो कुरा सत्य हो कि विद्यार्थीहरु मात्रै बरबाद नभएर यहाँ त युवा र वयस्क अवस्थाका मान्छेहरु पनि बरबाद भइरहेका छन् । बरबाद हुनुको महत्वपूर्ण कारण त यी हुन् कि कोरोनाले सिर्जना गरेको मनोविज्ञान र जीवनका आधारभूत आवश्यकताहरुको परिपूर्तिमा अभाव । एउटा कुनै विद्यार्थी छैन जसले विद्यालय बन्द हुनुकै कारण दिग्दारीपूर्ण तरिकाले समय गुजारिरहेको होस् । त्यस्तो कोही छ भने पनि त्यसका कारणहरु भिन्न छन् । ती हुन सक्छन् ः सामूहिकता, मैत्रीभाव, घुमफिर र खेलकुदका गतिविधीहरुको अभाव ।
वर्तमान विश्व समाज समयको गतिलाई नाघेर प्रगति पथमा लम्किरहेछ । कहिलेकाँही समय आफैलाई लाग्दो हो मानव मस्तिष्कको गति किन यति द्रुत गतिमा अघि बढिरहेछ । तर सोंचनीय विषय त यो छ कि हामीहरु कुनै सुन्दर दुनिया निर्माण गर्ने गन्तव्यमा पुगिसकौला या पुग्नु अगावै दुर्घटनामा परौला? मानव मस्तिष्कले सिर्जना गरेकै कुराहरुको दास मानव जगत आफै बन्नुले नै प्रष्ट भइसकेको छ ।
आजको वर्तमान समयमा विद्यालयका कक्षाहरुमा पुस्तकका पानाहरु पल्टाइरहेका बाल मस्तिष्कहरु के भविष्यका दिनहरुमा आइपर्ने अनपेक्षित परिवर्तनहरुसंग सहजै अंकमाल गर्न सक्लान् त? वर्तमान समय यस्तो बनिसक्यो कि दाजु र दिदीहरुले बटुलेको अनुभवको औचित्य भाइ र बहिनीको पुस्तामा पुग्दा समाप्त हुन्छ । विद्यालयमा पढाइ हुने पाठ्यक्रम त एक दशकमा बदलिन्छ तर यहाँ दिनको दिन नयाँनयाँ आविष्कारहरु थपिइरहेका छन् । जो जसले ती आविष्कारहरुलाई आफ्नो नियन्त्रणमा राख्न सक्छन्, उनीहरु अफ्ठेरो–सफ्ठेरो भोगेर बाँच्न सक्लान् । तर जो जतिलाई आविष्कारहरुले आफ्नो नियन्त्रणमा राख्दछन्, उनीहरु त जीवनबाट भाग्नु बाहेक अर्को के पो विकल्प देखिइरहेको छ र?
हामीलाई थाहा छ, वर्तमान विश्व जगतमा शिक्षाले  Four Cs life Critical thinking, communication, collaboration / Creatvity मा जोड दिइरहेको छ । नेपालको सन्दर्भमा त कक्षासम्ममा नै यी कुराहरु आइपुगेका छैनन् । तर विद्धानहरु वर्तमान समयका समस्याहरु र भविष्यमा आइपर्ने अनपेक्षित समस्याहरुसंग जुध्नलाई यी कुराहरुलाई पनि छाडेर अलिक अगाडि पुग्न्ुपर्ने तर्क गरिरहेका छन् । प्राविधिक सीप सिकाइमा जोड दिइरहेको वर्तमान शिक्षाले पनि मानवीय समस्याहरु समाधान नगर्ने उनीहरुको तर्क छ । वर्तमान विद्यालय शिक्षाले अनपेक्षित परिवर्तन र परिस्थितिहरुसंग जुध्न सक्ने व्यक्तिको मानसिक सन्तुलनको संरक्षणमा ध्यान दिन जरुरी छ । आज विद्यालय प्रवेश गरिरहेको बच्चा सन् २०५० को सेरोफेरोमा उसले विश्वविद्यालयको शिक्षा पनि पुरा गर्दछ । तर सन् १०२० को अनुभव १०५० को समयमा हुबुहु उपयोगि भए जस्तै सन् २०२० को अनुभव २०५० को समयमा उपयोगी नहुने भन्दै युवल नोह हरारी यस्तो भन्छन्, ‘‘२०५० को दुनियासंग साक्षात्कार गर्नका लागि हामीहरुलाई नयाँ विचारहरु र नयाँ उत्पादनहरुको आविस्कारको विरलै आवश्यकता पर्नेछ तर हामी स्वंय आफूलाई भने बारबार आविष्कार गरिरहनुपर्नेछ ।’’
आजको दुनिया विज्ञान र प्रविधिको नियन्त्रणमा छ। हामीले सिर्जना गरेका कुराहरुले नै हामीलाई दास बनाइरहेका छन् । विज्ञान र प्रविधिले जुन गतिमा फड्को मारिरहेको छ, त्यसको दोव्वर गतिमा मान्छेका दुःखहरु बढ्दै गइरहेका छन् । भौतिक सुविधा बढ्दै जाँदा त मानवीय सुख र खुशी बढ्दै जानुपर्ने हो । तर यहाँ ठीक उल्टो भइरहेको छ । शिक्षाले मानव जीवनलाई सहज बनाउँदै लैजानु पर्नेमा झन्झन् जटिल बनाउँदै लगिरहेको छ ।

के हाम्रो शिक्षा प्रणाली सही दिशामा अगाडी बढिरहेछ त ? आजका बच्चाबच्चीलाई के कुरा सिकाउन अफ्ठेरो भइरहेछ ?

यसै सन्दर्भमा हरारी थप्छन्, ‘‘भौतिकशाष्त्रको समीकरण तथा पहिलो विश्वयुद्धका कारणहरु सिकाउनु भन्दा पनि अपरिचित कुराहरुसंग साक्षात्कार गर्न र उनीहरुको मानसिक सन्तुनलन स्थिर राख्नु असाध्यै जटिल छ ।’’
कोरोना भाइरसका कारण लगभग दुनियाका सबै देशहरु लकडाउनमा छन् । लकडाउनका कारण सबै भन्दा बढी प्रभावित क्षेत्रहरु मध्ये एक हो शैक्षिक क्षेत्र । मान्छेहरु भनिरहेछन् विद्यालय बन्द हुनुका कारण विद्यार्थीहरुको भविष्य खतरामा छ । यो भन्दा ठूलो झुट के हुन सक्छ? मानव जगतकै वर्तमान खतरामा आउनु पछाडिको कारण वितेको समयमा प्रकृतिलाई चिहान बनाएर समृद्धिको महल ठड्याउनु हो भने यसको कारक हाम्रै शिक्षा होइन त? मानसिक रोगीहरु जन्माउने कारखाना बनिरहेका विद्यालयहरु बन्द हुनुले खासै ठूलो दुर्घटना निम्तिन्छ भन्नु झुट हो । यदि यस्तो परिस्थिति नै निम्तिन्छ भने पनि यसको कारक स्वयं विद्यालय शिक्षा नै हो । ‘सिकाइको एक मात्रै स्रोत विद्यालय हो’ भन्ने चिन्तनको विकास पनि विद्यालयहरुले नै गरेका हुन् । वर्तमान समयमा कोही कसैले ज्ञानको बृद्धि भएको भन्ठान्छ भने त्यो भन्दा ठूलो भ्रम के हुन सक्छ? ज्ञान प्रसारणका माध्यमहरु बढेका हुन्, चेतना बढेको होइन । मान्छेले आज आफ्नो मस्तिष्कलाई पेनड्राइवमा बोकेर हिंडिरहेको छ । बस् ! भएको परिवर्तन यही हो । हजार र हजार वर्ष पहिले जन्मिएका बुद्ध र सुकरातको चेतना र चिन्तन भन्दा पर कहाँ पुगेको छ र यो मानव जगत ?

कोभिड १९ हाम्रो दुर्भाग्य, तर लकडाउन एक स्वर्णिम अवसर पनि !

यस बखत मात्रै विश्व जगतले गम्भिर भएर यो सोंच्न बाध्य भयो कि विद्यालय मात्रै सिकाइको अन्तिम स्रोत होइन । विद्यालय शिक्षाले प्रदान गरिरहेको सूचनाले स्वयं मान्छेलाई बाँच्न किन सकस बनाइरहेछ? यो सोंच्न पनि त यति लामो फुर्सद कहिले पो थियो र?
नेपालको सन्दर्भमा त कोरोनाको कारण लकडाउन सुरुभए पछि कोरोनाले भन्दा पनि आत्महत्याको कारण धेरै मान्छेहरुको ज्यान गइरहेछ । आत्महत्याका कारण ज्यान गुमाउनेहरु अधिकांश युवावर्ग र शिक्षित भनिएका मान्छेहरु छन् । त्यसो त तथ्यांकले यस्तो भन्छ, हत्याहिंसा र दुर्घटनाका कारण भन्दा आत्महत्याका कारण ज्यान गुमाउनेहरुको सूची लामो छ, संख्या धेरै छ । यसले के बताउँछ भने मान्छेलाई सबै भन्दा ठूलो खतरा केहीकोहीबाट छ भने स्वयं आफैबाट छ ।

व्यक्ति स्वंयले प्राप्त गरेको सूचना, सीप र महत्वकांक्षा नै उसलाई सिध्याउने सबै भन्दा खतरनाक हतियारहरु बनिरहेका छन् ।

सुकरातले हजार र हजार बर्ष अघि ‘स्वंय आफैलाई चिन’ भनेको कुरा सबै भन्दा सान्दर्भिक छ भने यही समयमा छैन त? के हाम्रो शिक्षाले यसतर्फ ध्यान दिन जरुरी छैन? अन्तर्हृदयतर्फको यात्रा गर्ने यो भन्दा ठूलो अवसर के हुन सक्छ? भौतिकवादी दुनियामा नजर डुलाउँदा डुलाउँदै आफैलाई विर्सेको मान्छेले आफूसंग आत्मालाप गर्ने यो भन्दा ठूलो अवसर कहिले पाउन सक्छ?

JOSTEIN GAARDER आफ्नो उपन्यास Sophies’s World मा एउटा चमत्कृत कुरा उल्लेख गर्दछन्,“the only thing that we require to be a good philosopher is faculty of wonder.” विद्यार्थीहरुमा हुने त्यही Faculty of Wonder लाई सिध्याएर Faculty of Threat मा रुपान्तरण गर्ने काम आजका विद्यालयहरुले गरिरहेका छन् । म को हुँ? मेरो अस्तित्व के हो? हामीहरु कहाँबाट आयौ? यो ब्रह्माण्ड के हो? मान्छे किन मर्छ? मृत्यु पश्चात पुनः जीवन छ कि छैन? हरेक विद्यार्थीले एक न एकपटक यस्ता प्रश्न गर्दछन् । देख्ने हरेक वस्तुलाई उनीहरु प्रश्न देख्छन् । उनीहरु आफैमा दार्शनिक हुन्छन् । यस्ता प्रश्नहरुको चिन्तन गर्ने यो भन्दा लामो फुर्सद आजका विद्यार्थीहरुले अरु कुन समयमा पाउँछन्? प्रश्नहरु नै त ज्ञान प्राप्त गर्ने राजमार्गहरु हुन् ।

सहरमा छ एक अर्को भर्चुुअल दुनिया, गाउँमा त छ स्वयं प्रकृति विश्वविद्यालय !

चित्र कोर्ने अभ्यास गरिरहेको बच्चालाई क्यानभाससंग संवाद गर्ने यो भन्दा ठूलो अवसर के हुन सक्छ? कविता या गीत गुनगुनाउने बच्चालाई आफ्नो स्वर तिखार्ने यो भन्दा ठूलो अवसर के हुन सक्छ? नृत्यकला सिकिरहेको बच्चालाई आफ्नो शारिरीक गति नियाल्ने यो भन्दा राम्रो फुर्सद कहिले मिल्न सक्ला? हार्मोनिअम, गितार र पियानोमा औंला नचाउँने यो भन्दा सुन्दर समय अरु कहिले होला? चराहरुको आवाज सुन्ने, रुखको छाँयामा बस्ने, नदीको गतिलाई नियाल्ने, ध्यानमग्न पहाडको गहिराइमा डुवुल्की मार्ने यो भन्दा ठूलो अवसर के हुन सक्ला? हजुरबुवा–हजुरआमाले पुरानो दराजमा सजाएका महाभारत, चारवेद, रामायण, बाइबल, बुद्धजीवन, कुरानका पुस्तकमा लागेका धुलो टकटकाउने यो भन्दा स्वर्णिम अवसर कहिले प्राप्त हुन सक्छ? जिजिविसाको निम्ति सिर्जित अघिल्लो पुस्ताको कथा सुन्ने, वर्तमानका कथाहरुसंग तुलना गर्ने र मान्छेहरुले सिर्जना गर्दै गरेका नयाँनया कथाहरुमा आफ्नो उपस्थिति खोज्ने मिठो अवसर बनेको छ यो समय ।
चारैतिर अँध्यारो देख्ने र अँध्यारो फैलाउनेहरुले नै छोपेका छन् हाम्रा आँखाहरु ।

अनेकों भ्रमहरुका हुरी चलाएर निभाउँदै छन् हामी आफैभित्रको दियो।

हरेक मान्छेभित्र छन् ः एक ब्रह्माण्ड, एक पृथ्वी, एक जून, एक सुर्य र नौलाख ताराहरु । बाहिरको दुनियाको होस् या भित्रको, देख्न त उज्यालो चाहिन्छ, उज्यालो ।
विद्यालय पुग्ने गोरेटाहरु बन्द हुँदैमा कहाँ बन्द हुन्छन् ज्ञान प्राप्तिका राजमार्गहरु !

 

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.