आमा ! दर्शन !

– माधव न्यौपाने ।  तिमीलाई कस्तो छ ? गाउँघरको खबर के छ ? आमा ! दु:ख सुख गरेर घर भित्रै बस्नु है । बाहिर कुनै हालतमा पनि ननिस्किनु है ।

उता चीनतिरबाट कोरोना भन्ने रोग संसार भरि फैलिएको छ । सारा संसार नै पिडामा पिल्सिएको छ । पचास हजार भन्दा बढी ले संसार छोडिसके अनि दस लाख बढी जनामा यो रोग देखियो भन्छन् । निकै पिर लागेको छ आमा ! तिमी त्यहाँ त्यसै त बुढी र रोगी छौ पहिले देखि त्यसमाथि नेपालमा समेत यो रोग फैलिने डर भयो।

अलिकति पैसा पठाउँछु भन्न पनि आमा अहिले मेरो काम नै छैन । तिन साता भैसक्यो काम बन्द भएको । म पनि दिन रात कोठा मै बसेको छु । पैसा पनि सकिसक्यो । धेरै थोरै पुर्याएर खाएको छु । बाहिर जान सक्ने बातावरण पनि छैन । ठुलो दोधारमा छु आमा, यो रासन सकिएपछि के खाने होला ? कति दिन तिमीले पस्किएको खाना सम्झेर भोकै रुदै दिन रात कटाउने होला ।

अष्ट्रेलिया सरकारले पनि हामी जस्ता विद्यार्थीलाई केहि गर्न नसक्ने भनिसक्यो । आफ्नो खर्च , खानबस्नको व्यवस्था आफै गर्न सक्दैनौ भने फर्केर आफ्नै देश जाउ भनिसक्यो । म के गरूँ आमा ?

यहाँको सरकारको यो समाचार सुन्दा म आफैलाई सम्हाल्न नै सकिन । घर , तिम्रो र बुढा बाको अनुहार अनि मेरो वर्तमान र भविष्य सम्झेर एक्लै कोठामा भक्कानिए , धेरै बेर घोप्टो परेर सिरानीलाई अंगालेर रोएँ । अहिले त म अष्ट्रेलिया आएर ठूलो गल्ती गरें जस्तो महसुस गरेको छु । घर न घाटको भएको जस्तो लाग्दैछ ।

तिम्रो काखमा हुँदा यताको सिन्को उता नसार्ने मैले ,यहाँ आएर जुठा भाडा र फोहोर टोइलेट पनि सफा गरेर पनि म आएको १६ लाख ऋण तिर्न सकेको छैन । बाउले दस नंग्रा खियाएर जोडेको खेतको टुक्रो पनि बैंकमा धितो राखेर , तिम्रो गलाको तिलहरी बेचेर तिमीलाई सुखमा राख्ने सपना देख्दै अष्ट्रेलिया उडेको मान्छे म, आज यदि यो बन्द कोठामा भोक भोकै मरीहाले भने पनि मेरो लास गन्हाएपछि मात्र म मरे भन्ने थाहा पाउनेछन् अर्को कोठामा बस्नेले । मेरो जिन्दगी अर्थहीन भएको छ आमा । म साँच्चै बिचल्लीमा परेको छु ।

सुनेको छु यो कोरोना भन्ने रोगले मान्छे मर्यो भने पनि लास छुन कसैले पाउदैनन रे । फेरी नेपालमा पनि त फैलिंदै छ । तिमीलाई केहि भैहाल्यो भने ? म सोंच्न पनि सक्दिन आमा ! त्यसैले आमा आफ्नो निकै ख्याल गर है । हरेक साँझ बिहान बेसार , जुवानो , अधुवा , लसुन पानीमा उमालेर तिमी पिउनु अनि बालाई नि पिलाउनु है ।

म यो परदेशमा जनतन प्राण धान्ने छु । हेरौँ आमा, भाग्यले कहाँ पुर्याउछ , अझै कति दु: ख दिन्छ । सकें भने र अलि वातावरण सुध्रियो भने ऋण तिरेर तिमीलाई सुख दिने सपना पुरा गर्न लागिपर्नेछु । कहिल्यै नरुनु , सधै तातो पानी पिउनु । आफ्नो र बा को ख्याल राख्नु ।।।

( सम्पूर्ण प्रवासी नेपाली विद्यार्थीमा समर्पित )

Sharing Now!

You might also like

Comments are closed.