प्युठान। स्वर्गद्वारी नगरपालिका–२, खालकी नौ वर्षीय अनुष्का परियार उध्रिएको स्वेटर, खाली खुट्टा र थकित अनुहारसहित मन्दिर परिसरमा ढकियाभरि काफल बोकेर बस्छिन्। आँखामा थकान छैन, छ त गहिरो पढाइको सपना।
गाउँकै विद्यालयमा कक्षा ४ मा अध्ययनरत अनुष्काले शिक्षक आन्दोलनका कारण विद्यालय बन्द भएपछि खाली समयलाई आम्दानीको अवसरमा बदलेकी छन्। बिहान जंगल पस्छिन्, दिउँसो काफल बेच्न स्वर्गद्वारी आउँछिन् र साँझ घर फर्किन्छिन्।
“काफल बेचेको पैसा आमालाई दिन्छु अनि कापीकलम किन्छु,” अनुष्काले भनिन्। उनी प्रतिदिन झन्डै १० माना काफल बेचेर ६ सय रुपैयाँभन्दा बढी आम्दानी गर्छिन्। त्यो पैसाले पोसाक र शैक्षिक सामग्री किन्ने गर्छिन्। “विदाको समय सदुपयोग गरेर काफल बेच्न आएकी हुँ,” उनले थपिन्।
स्वर्गद्वारी–२, बाइनेटाकी १० वर्षीया निशा सुनार पनि कक्षा ६ मा अध्ययन गर्दै काफल बेच्न थालेकी छन्। “मन्दिरमा पर्यटक धेरै आउँछन्, बेच्न सजिलो हुन्छ,” उनले भनिन्। बेचेको पैसाले उनी शैक्षिक सामग्री किन्न चाहन्छिन्।
जुम्रीकाँढाका तीर्थयात्री टेकराज केसीका अनुसार स्वर्गद्वारी क्षेत्रमा अहिले दैनिक १२–१४ जना महिला तथा बालबालिका काफल बेचिरहेका भेटिन्छन्। वैशाखदेखि जेठसम्म काफलको सिजन मानिन्छ। हिजोआज बिहानै डाली–ढकिया बोकेर जंगल जाने र बेलुकीसम्म स्वर्गद्वारीमा बेच्ने स्थानीयको दिनचर्या बनेको छ।
प्युठान र रोल्पाका विभिन्न गाउँबाट १५–२० जना बालबालिका र महिलाहरू दैनिक काफल बेच्न स्वर्गद्वारी आउने गरेका छन्। स्थानीय गनबहादुर विकका अनुसार काफल व्यवसायमा सहभागिता वर्षेनि बढ्दो छ। तीर्थयात्रीका लागि दर्शनसँगै स्वादिलो काफल छुट्टै आकर्षण बनेको छ।
ढकियाभरि काफल, मनभरि पढ्ने रहर
ढकियाभरि काफल, मनभरि पढ्ने रहर

Advertisement
तपाईको प्रतिक्रिया