– पुष्कर रिजाल ‘पुष्प’
सिको गरेर झिमरूकको तेज गति
बटुलेर माडीको गाम्भीर्य
भन्, ए राप्ती!
तैँले बारम्बार किन धक्कु लगाउँछस् !
नौमुरेमा बाँध बनाएर
कति, कराई बस्छस्
आँखाका डेबुल्का सुन्निने गरी
आकासको बिजुली-सपना देखाएर…..
कति मसान बन्छस्, ए नौमुरे !
झलामली ऐरावती!
झलामली दुमही
झलामली हंसपुर
झलामली झिलिबाङ
जलुके, सिद्धारा, बड्डाँडा, भालुवाङ
करमचार- कालीवन
राप्ती- भेरी- लुम्बिनी-कर्नाली….सब झलामली
तेरो धाक धक्कु !
कान पाकिसक्यो….थैट!
अब त !
नझुक्का तैंले
मलाई त
तेरो ‘झुक्का’ बनाई
…मनको लड्डुझैँ सपना
रातो किताबबाट
भालुबाङमा ल्याएर
तेरै पुलमाथिबाट
हुत्याउने मन छ…!
माझी रोयो, गयो
मझिनी रोलिन् …जालिन्
अहँ तैँले नौमुरे र बिजुली…भन्न छाड्दैनस् हगि !
यहाँका कोकले र छ्यालछ्यालेले समेत
तँलाई गिज्याउन थालिसके
चिबे र सारीले
धोबी र कौवाले …यो वनका सबै सबै चराले
तँलाई चिनिसके दुत्कार्दै थुकिसके
तँ भने
ऐरावतीको मसान झैँ ?
….तँलाई कहिले लाज लाग्ने हो !
तँ कहिले जाग्ने हो ?
भन् ए राप्ती
भन् न ए, नौमुरे!