तम्घास सिमलटारी सडकका चार स्थानमा पक्की पुल बन्दै

अनिल खत्री, गुल्मी । गुल्मी जिल्लाको क्षेत्रनम्बर–२ को तम्घास सिमलटारी, पुर्कोट हुँदै प्यूठानसम्म पुग्ने सडक खण्डमा तम्घासदेखि सिमलटारी सम्मको मदन भण्डारी राजमार्गको पश्चिमतर्फको व्यस्त सडकमा पुल नहुँदा वर्षाको समयमा आउ–जाउ गर्न समस्या हुने गरेको छ । सडक कालोपत्रे भएको तीन वर्ष बितिसक्दा पनि विभिन्न खहरे खोलामा पुल नहुँदा यात्रुले निकै सास्ती खेप्नु परेको छ ।
तम्घास सिमलटारी सडक अन्तरगत राजमार्गका गुर्वा, हुलाके, धनार्जी, पुलवारी र घमिर खहरे खोलामा पुल नबन्दा साना ठूला सवारी साधानहरु र पैदल यात्रुलाई समेत आउ–जाउ गर्न समस्या परेको हो । पुल नहुँदा वर्षातको समयमा जिल्ला सदरमुकाम तम्घास आउजाउ गर्न निकै सास्ती खेप्दै आएका हुन् ।
वर्षातको समयमा सुरक्षित र भरपर्दो राजमार्ग मानिएको मदन भण्डारी राजमार्गमा पुल नहुँदा जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता छ । गुल्मी जिल्लाका धुर्कोट, मदाने, इस्मा, मालिका र मुसिकोट नगरपालिका भित्रका नागरिहरुलाई फाइदा पुग्दै आएको छ ।
यो सडक भएर छिमेकी जिल्ला प्युठानसम्म पनि पुग्न सकिन्छ । राजमार्ग अन्तर्गत तम्घासदेखि सिमलटारी सम्म २८ किलोमिटर सडक कालोपत्र गरिसकिएको छ । तर यसबीचमा पर्ने खहरे खोलामा पुल नबन्दा यात्रुले सास्ती खेप्नुपरिरहेको हो ।
मदन भण्डारी राजमार्ग तम्घास कार्यालयका कार्यालय प्रमुख शशांक मिश्रले अहिले हुलाके, धनार्जी, पुलवारी र घमिर खहरे खोलाका चार वटा पुलको काम सुरु गरेको बताए । वर्षाका कारण हाल रोकिएको र पानी रोकिनासाथ तत्काल काम अघि बढ्ने उनको भनाई छ।
अहिले पुल नहुँदा सामान्य पानी पर्दा समेत बाटोमै रोकिनुपर्ने सर्वसाधरण र सवारी चालकको बाध्यता छ । यी खहरे खोलामा आउने भेलले कैयौं सवारी साधनहरु बगाउने गरेको स्थानीय बिद्यार्थी बसु क्षेत्रीले बताइन् ।
पानी परेपछि खोला बढ्दा समयमै स्कुल पुग्न पनि कठिनाई हुने गरेको उनले बताइन । पुल नहँुदा धेरै जोखि बढेको स्थानीय चक्रबन्धु भुसालले बताए ।
यात्रा गर्दा जोखिम मोलेरै यात्रा गर्नुपर्ने अवस्था भएको भुसालले बताए । उनले समयमै पुल निर्माण सबैले खबरदारी गर्नुपर्ने बताए ।
खहरे खोलामा पुल नहुँदा वर्षातको समयमा स्वास्थ्य सेवा लिन तम्घास जानेहरु पनि दुइ तिन दिन खहरे खोलाले थुनेर बिच बाटोमै बस्नुपर्ने बाध्यता रहेको छ । वारिपारि कालोपत्र सडक भए पनि बीचमा पर्ने खोलामा पुल नहुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको स्थानीयको भनाई छ ।
हुलाके, धनार्जी, पुलवारी र घमिर खहरे खोला खोलामा पुल निर्माणका लागि ठेकेदार कम्पनी छनोट भएका छन् । पन्त निर्माण सेवाले फुलवारी र घमिर खोलामा पुल निर्माणका लागि ठेक्का पाएको छ ।
हुलाके र धनार्जी खोलामा पनि पुल निर्माणका लागि सुनिल समीर निर्माण सेवा प्रालि तम्घास गुल्मीले ठेक्का सम्झौता गरेको मदन भण्डारी राजमार्गका इन्जिनियर दुर्गा गौतमले बताए । घमिर खोलको पुल निर्माणको लागि ३ करोड १३ लाख ८४ हजारको लागत रहेको छ ।
फुलवारी खोलाको पुल निर्माणको लागि ३ करोड ३२ लाख ६८ हजार लागत रहेको छ । यी दुई स्थानका पुल निर्माण कार्य २०८० साल भदौ महिना भित्र सम्पन्न गरिसक्नु सम्झौता भएको मदन भण्डारी राजमार्गका इन्जिनियर गौतमले बताए ।
घमिर खोलाको पुल १५ मिटर लम्बाई र ११ मिटर चौडाईको हुनेछ । फुलवारी खोलाको पुल २० मिटर लम्बाई र ११ मिटर चौडाईको हुनेछ । त्यस्तै धनार्जी खोलामा पुल निर्माणको लागि ७ करोड ४८ हजार र हुलाके खोलामा पुल निर्माणको लागि ५ करोड ७९ लाख ५३ हजार को लागतमा निर्माण हुनेछ ।
धनार्जीमा बन्ने पुल ३५ मिटर लम्बाई र ११ मिटर चौडाई को हुनेछ । यो पुल २०८० साल माघ महिना भित्र सम्पन्न गर्नुपर्ने इन्जिनियर गौतमले बताए ।
हुलाकेमा निर्माण हुने पुल २५ मिटर लम्बाई ११ मिटर चौडाईको हुनेछ । पुल निर्माण कार्य २०८० साल मंसिर महिना भित्र सम्पन्न गरिसक्नु मदन भण्डारी राजमार्ग कार्यालय गुल्मीले जनाएको छ ।
पक्की पुल बन्ने स्थानको घमिर खोलामा गुल्मी क्षेत्र नम्बर–२ का सांसद गोकर्णराज बिष्टले स्थलगत अबलोकन गरेका छन् । अबलोकनको क्रममा तम्घास सिमलटारी सडक अन्तरगत पर्ने यी सबै खोलाहरुमा पुल निर्माणका लागि निर्माण कम्पनीलाई ठेक्का दिइसकेको तर समयमा काम नगर्दा जनताले सास्ती भोग्नुपरेको बिष्टले बताए ।
ठूलो संघर्षले तम्घास सिमलटारी सडक कालोपत्रे गर्न सफल भएको उनले बताए । सडक कालोपत्रे भएपछि पक्की पुल बन्न बाँकी रहेका स्थानहरुमा तोकिएकै समयमा पुल निर्माण कार्य सम्पन्न हुनेमा आफु बिश्वस्त रहेको बिष्टले बताए ।
ठेक्का पाएको निर्माण कम्पनीले आउँदो असोज देखि निर्माणकार्य सुरुगर्ने बताएका छन् । तम्घास सिमलटारी, पुर्कोट हुँदै प्यूठानसम्म पुग्ने सडक खण्डमा सिमलटारीसम्म कालोपत्रे काम तीनवर्ष पहिले एक अर्बको लागतमा सम्पन्न भएको हो ।
सडक कालोपत्रे गर्न ०७२ साल देखि कालिका कन्ट्रक्सनले निर्माणको काम गरेको थियो । तम्घासबाट सिमलटारी सम्मको सडक ०४३ सालतिर सडकको ट्याक खोल्ने कार्य भएको थियो ।
सडकको ट्याक खोलेको ३० वर्षपछि मात्रै कालोपत्रे भएको हो । सडक कालोपत्रे भएपछि धुर्कोट, मदाने मालिका, इस्मागाउँपालिका र छिमेकी जिल्ला प्युठान सम्म पुग्ने स्थानीय प्रत्यक्ष लाभांवित छन् ।

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...