– कृष्ण विश्वकर्मा (विजय)
मंसिर महिना करिब करिब सकियो । वर्षका सबैभन्दा धेरै लगन यही महिनामा पर्छन । केटाकेटी दुवैतिरका लमी हुनेलाई तालमेल मिलाईदिन धेरै गाह्रो हुने गर्दछ । केटा वा केटीका यथार्थकुरा भनेर पनि कहिलेकाहीँ कुरा बिग्रीन सक्ने हुन्छ । कुनै कुरा लुकाईदिनु पर्नेै, कुनै कुरा अलि बढाईचढाई गरिदिनुपर्ने हुन्छ । लमी हुने काम अति नै झण्डतिलो हुने गर्छ । बिहे गराईदिए पछि केटाकेटी दुवैलाई राम्रोराम्रो हुदै गएमा मेरा भाग्यले भएको र नराम्रो नराम्रो भएमा यस्तोमा फसाए भनेर आरोप पनि लमीलाई नै लाग्ने गर्छ । हामी पितृसतात्मक समाजमै छौ । विहेको समयमा केटीले केटा माग्ने/रोज्ने चलनमा अझै आईपुगेका छैनौ केटीले केटा माग्ने चलन छिटो आओस कामना गरौ । आजभोली आपसमा मन पराएर गरिने प्रेमविवाहका कुरा अलग भए म उतिबेलाकै कुरा गर्दैछु ।
उही त हो चलेको चलन केटा पक्ष केटीको हात माग्न ( हात त भन्ने मात्र हो खासमा त ज्यानै हो माग्ने) जाने गर्दछन । आजभोली विहे गर्दा केटाकेटीका पढाई, जागिर, आनिबानी, कुलखान्दान यिनै हेर्ने गरिन्छ । अलि पहिले बेसीका खेत, पहाडका बारी, दुहुँना वस्तुभाउ प्रशस्त भएकालाई सम्पन्न मान्ने गरिन्थ्यो । कुलखान्दानको नाम चलेको, खेतबारी प्रशस्त, भकारो भरी लैना गाईभैसी, हलका हल गोरु भएका घरमा छोरीचेली दिन कन्जुस गर्दैनथे रे । तत्कालिन समयमा अलि निम्न आर्थिक सामाजिक हैसियत भएको केटो अविवाहित रहेछ । सही कुरा बताउँदा कसैले पनि छोरी दिन मानेका रहेनछन । केटाका मामालाई अलि तनाव भएको रहेछ । अलि तरिका नलगाई नहुने अवस्था आएको रहेछ । अलि हुनेखाने देखिने घरमै केटी माग्न गएछन । आवश्यक स्वागतसत्कार भयो केटा पक्षले खेतबारी, वस्तुभाउ लगायत सबै कुरा अलिअलि बढाएर नै भनेछन । केटीतिरकाले घर कस्तो छ त ? भनेछन अनि मामा चाँहीले घरको त कुरै नगरौ हजुर सुनपहेँली भित्तो, झिलीमिली तारामण्डल जस्तो छानो, बर्खामा पानी घर भित्रै भनै मिल्ने, रातमा १५ दिन सम्म बत्ती बाल्नै नपर्ने उज्यालो हुन्छ । यो कुरा सुनेर केटीपक्ष चकित भए हैन कस्तो दरवार जस्तो घरबाट माग्न आए दिनैपर्छ भन्नेमा सहमती भएर कुरा छिनियो ।
विहे भो दुलहीलाई घरमा ल्याईयो, घर आउनासाथ दुलही र लोकन्ती त घर देखेर रनभुल्ल परेछन । सानो झुप्रो,खरको छानो, छानो पनि प्वालैप्वाल परेको देखेपछि दुलही रिसाईछन । विहे त भै सक्यो यसरी किन झुक्काएको भनिन केटोले मैले झुक्काएको हैन मामाले सबै सही नै बताउनुभएको हो तिमिहरुले बुझन सकेनौ त म के गरौ । बर्खामा पानि रसाएर उम्रेका लेउ सुकेर पहेँलो हुँदा सुनपहेँली भित्तो भएको , छानो गतिलो नभएर ओछयानबाट नै आकाशका जुनतारा देखिने हुँदा तारामण्डल जस्तो छानो, बर्खामा पानि चुहेर भित्र नै भाडा थापेर भर्ने सुविधा, रातहरु उजेली र अधेरी हुन्छन । नियमित बत्ती बाल्न मट्टितेल किन्ने अवस्था नभएकोले उजेली १५ रातमा जुनको उज्यालोले नै काम चलाउनुपर्ने बाध्यता रहेछ । केटाले यी कुरा सुनाउँदा बरा नौली दुलही न रुनु न हाँस्नुको अवस्थामा पुगिन ।
यस्तै नौली बुहारीको जस्तै अवस्था लावण्य देशको कुनै पार्टीका अध्यक्षको पनि भएको छ । २०७४ भाद्रसम्म पुर्वपश्चिम पर्किएका दुई पार्टी बिच रातारात सहमती भयो । बराबर हैसियतको अध्यक्ष, अढाई वर्ष शक्तिशाली प्रधानमन्त्री, मुख्यमन्त्री/मन्त्रीमा सम्मानजनक भागबण्डा, आयोगका आयुक्त/राजदुतको नियुक्तिमा उचित बांडफाड, पाथी मिसाएर मुरीको मालिक हुने जस्ता तमाम सपनाहरु देखाएर लमीले सम्बन्ध कसिदिए तर ती सपनाहरु विपना हुन सकेनन । एकता नगर्दा त्यत्रो ओज र ताप भएका अध्यक्ष नौली दुलही सुनपहेँली भित्तो भएको घर भन्दा झुक्कीए झै झुक्कीएकै हुन । यिनले सम्बन्ध दुःख सहेर नै अघि बढाउछन की पारपाचुके गर्छन केही समय कुर्नुपर्दछ ।
सुनपहेँली भित्तोवाला घर
सुनपहेँली भित्तोवाला घर
Advertisement
तपाईको प्रतिक्रिया