जब सम्म यो लोकमा मानवजातिको अस्तित्व रहन्छ तब सम्म कृषि कर्म चलिरहन्छ । यो कर्मलाई मर्यादित रूपमा चलाइरख्न र भवितव्य पिढीलाई अहिलेकै उत्पादनशीलता हस्तान्तरण गर्नका निम्ति विशेष कृषि शैली अपनाउन जरुरी छ त्यो शैली वा प्रविधि भनेकै जैविक खेती प्रविधि हो।
कुनै पनि रासायनिक मल तथा रासायनिक कीटनाशक, बिजनाशक वस्तुको प्रयोग नगरी खेती गर्ने प्रविधि लाई जैविक खेती भनिन्छ। बढ्दो जनसङ्ख्याको खाद्य आवस्यकता परिपूर्ति गर्नका निम्ति हाल कृषि क्षेत्रमा व्यापक रासायनिक पदार्थको प्रयोग भइरहेको छ। यसले कृषि उत्पादनमा उल्लेखनीय वृद्धि त गरिरहेको छ तर यो खाद्य आवस्यकताको दीर्घकालीन उपाय भने होइन। अत्यधिक रसायनको प्रयोगले वातावरणमा नकारात्मक प्रभाव परिरहेको छ भने माटोको उर्वर शक्तिमा ह्रास ल्याइरहेको छ।
माटो र पानीको उच्चतम संरक्षण,मानव स्वास्थको विशेष ध्यान राखी उत्पादनमा बढावा दिई आउँदा पिढी समेतको भरपर्दो कृषि उत्पादनलाई सुनिश्चित गर्ने कृषि प्रणाली दिगो कृषि प्रणाली हो।
जैविक खेतीले निम्न कोणबाट दिगो कृषिलाई प्रोत्साहान गर्दछ।
किसानको नजरमा : किसानको आधुनिक खेती प्रविधिमा लाग्ने रासायनिक खर्चमा कमी आउँछ।
माटोको नजरमा : माटोको पानी समात्ने र संरक्षण गर्ने क्षमतामा वृद्धि हुन्छ जसले गर्दा भूक्षय हुन बाट जोगाउँछ। माटो प्रदूषित हुनबाट जोगिन्छ।पानीको संरक्षण हुन्छ। माटोमा बस्ने फाइदाजनक जीवहरू जस्तै: गड्यौलाको संरक्षणमा टेवा पुग्दछ।
वातावरणको नजरमा : जमीनमा पानीको उचित सतह कायम रहन्छ। प्रकृतिमा नकारात्मक असरमा कमी आउँदछ जसले जलवायु परिवर्तनका गम्भीर असरहरुलाई न्यूनीकरण गर्न समेत सघाउ पुर्याउँदछ। जैविक विविधता कायम रहन्छ।
मानव स्वास्थ्यका नजरमा : कीटनाशक र झरणाशक जस्ता रसायन जसले किट र झरहरुलाई नियन्त्रण गर्दछन् उनीहरूले मानव स्वास्थ्यमा पनि गम्भीर असर पुर्याउँदछ।जैविक उत्पादनले यी विभिन्न विष सेवन बाट टाढा राख्छ। जैविक प्राविधिक उत्पादनहरु स्वस्थबर्दक हुनेभएकाले मानव स्वास्थ्यको दीर्घायु लाभमा सहयोग पूराउँछ।
आर्थिक नजरमा: प्राङ्गारिक उत्पादनहरुले बजारमा राम्रो मूल्य ओगट्छ। रसायन खरिदको मूल्यमा कमी आउँछ।
मूलतः प्राङ्गारिक अर्थात् जैविक खेती दिगो कृषिका लागि अपरिहार्य खेती प्रविधि हो।यस प्रविधिमा ठूलो जनसंख्या आबद्ध भयो भने पक्कै पनि सबैको घर घरमा स्वस्थ खाना दिगो तवरले पुग्दछ।
आनन्द जि सी
पक्लिहवा कृषि क्याम्पस भैरहवामा अध्यनरत