~ नदी भट्टराई
इलाम
जीवनको उपल्लो उमेरलाई
रङ्गीन बनाउन
जीवनको चौतर्फी साम्यवादलाई नै अखिल सम्झेर
सुनौलो र लामो जीजिविषा पाल्दै
सपनाहरूको भुक्भुके उज्यालोमा
भोलि खोज्ने व्यक्तिहरूमध्ये
एक विश्वविख्यात व्यक्ति सायद !
कार्ल हेनरिच मार्क्स पनि पटक्कै थिएनन्
थिए त केवल
राजनैतिक साम्यवाद
दार्शनिक द्वन्दात्मक भौतिकवादका प्रणेता।
यसैलाई आफ्नो नित्य गायत्री सम्झे
र विश्वभरि वर्चश्व कायम गरे
जर्मनीको जनता र माटोको पूजा गरे
जननी जन्मभूमि ……को अर्थ सार्थक पारे।
जञ्जीरले बाँधेका जनताका सपना र भोलिलाई विश्वसामु चिनाए ।
तर आज उही शैलीका सपनाहरू
उही आस्थाका मान्छेहरू
उही आशाका किरणहरू
खै ! किन हो ,
लेनिन र कम्युनिज्मका अनुयायीहरू बन्न सकेनन्
निष्ठा र विश्वास जित्न सकेनन्
चुनाव र जनताको अगाडि सेवकको परिचय दिन सकेनन्
विलास र मोह त्याग्न सकेनन्
सिद्धान्त र व्यावहारको फरक छुट्याउन सकेनन्
साझा अधिकारको प्रत्याभूति दिलाउँने
समाजवाद र साम्यवादहरूमा म
परिवर्तनको संभावना नै नभएको र
यथास्थितिवादी पुनर्जन्म भएको देख्छु
सम्झन्छु –
सहोदर भएर पनि साहित्यको लीलालेखन र विनिर्माणवाद हिँडे झैँ
हिँडिरहन्छ
हेर्दा उस्तै तर
उद्देश्य विल्कुल फरक हुन्
एजेण्डा फरक हुन्
आवाज र आस्था फरक हुन्
माटोको माया र साँस्कृतिक चेतना फरक हुन्
ठीक यसैवेला
रोग , भोक र शोकको कथा
शीर्ष नेता र मन्त्रीको बोल्ने विषय
र पत्रकारको शीर्ष समाचार बनिरहेका छन्
र भनिरहन्छन् —
“देश छिट्टै सम्बृद्धितिर जाँदैछ …..।”
सपना जनता र भोलि भएर ।
आफैँ
गोड्छु र हेर्छु – न पदार्थ न प्रतिकृया !
राज्य वा देश हुनलाई चारवटा तत्वमध्ये
सार्वभौमसत्ता हराएको धेरै भयो
न एकता न सङ्घीयता !
न आविष्टकार न मौलिकता !
सपनाहरू जनताका भविश्य हुन्
त्यसैलाई भोलि भनिन्छ जो कहिल्यै आएन
जीवनको रङ्ग बदलिएर आउनुपर्थ्यो ,
सपनाहरू अनुभूति गर्न सक्ने र सुध्रिएर
आउनुपर्थ्यो
तर आएन —
गास ,वास र कपासको सामान्य अस्तित्व बोकेर
सुरक्षा र प्रविधिको ग्यारेण्टी बोकेर
इच्छा र चाहनाको प्रगति सिउरेर
भौतिक संरचनाको मूल बाटो भएर
कम्तिमा कृषिमा आत्मनिर्भरले दुई छाक अघाएर
करीब तीन करोड सपनाहरूको भोलि
भोलि भएर कहिल्यै आएन ।
झुप्राको चुल्हो बालिदिने शर्तमा
रोजीरोटी जुटाइदिन शर्तमा
बसुधैवकुटुम्बकमको मर्म र भावनालाई तिलाञ्जली दिएर
जातीय विखण्डनको भ्रुण र बेर्ना हुर्काएर
सुखसयलका लड्डु बाँड्नेहरू नै
राज्यका भण्डारमा कसरी साम्यवाद र समाजवादको
कथित पुराणहरूमा व्यासाचार्य हुन सक्लान् ?
ती निःकलङ्क सपना , जनता र भोलिको चेतना भएर ।
अहँ !
म सधैँ सम्झिरहन्छु-
उही सपना , जनता र भोलिको उज्यालो कल्पेर
चुनाव र मताधिकार ,
कृषि तथा व्यावसाय र राजश्व ,
मानवअधिकार र चौतर्फी माग,
कर्तब्य र जीवन रक्षा ,
विश्वास र हत्याहिँसा,
नारी अस्मिता , स्वतन्त्रता र बलत्कार,
राज्य सञ्चालनार्थ आर्थिक नियमितता र घुसखोरी
अनि राज्यका नीतिमा आचारसहिँताहरू !
यस्तै
मानवीय आस्थाका धरोहरहरू
रजश्वाला भएका दिनदेखि
पूजारीहरु दिउँसै परलोक जान थालेका छन्
बाबुले छोरीलाई छोरी र मामाले भाञ्जाभाञ्जी भन्न नसक्ने भएका छन्
पूर्वीय दर्शनले स्थान नपाउँने भएका छन्
युवाशक्तिको पसिनाले न्याय नपाउँने भएका छन्
शहीदको सपना दन्त्यकथा भएका छन्
तर देश भनेको भूगोल र सिमाना मात्रै होइन ,
त्यही भूगोलको जनताले टेकेको यादृच्छिक टेकाइमा
बसेको स्वतन्त्र पाइलाहरूको निर्भीक बचाइ पनि हुन्
सारा सपना , जनता र सम्पूर्ण भोलि ।