टेकबहादुर पुन, दाङ । राजनीति छाडेर खेतीपातीमा व्यस्त रहेका पूर्वमन्त्री लोकेन्द्र विष्ट मगरले पुष्पकमल दाहाल (प्रचण्ड) र बाबुराम भट्टराईलाई आदर्श बिहिनको संज्ञा दिएका छन् ।
उनले बिगत सम्झिदै यस्तो आरोप लगाएका हुन ।
पोखरा विमान स्थलको घटना स्मरण गर्दै सामाजिक सञ्जाल मार्फत् बिष्टले दुवै नेतामा आदर्श कायम नरहेका कारण आफूले राजनीतिबाट अवकास लिनु परेको बताएका छन् ।“एकदिन पोखरा विमानथलमामा क.प्रचण्ड र क.बाबुरामसँग थिएँ म, भीआईपी कक्षमा । मैले लगाएको पुरानो थोत्रो ज्याकेटले उहाँहरूलाई लज्जा वोध भएछ क्यारे । मुन्टो निहुराएर कुरा गर्नुभो । मैले सुनिरहे । म अलि पर थिए । सारमा ‘लगाउन, खान र चल्न नजान्ने’ भनेर मेरो चर्को आलोचना भयो । मैले नसुनेझैं गरेर सुनिरहे कान थापेर । मलाई नमीठो लाग्यो,” उनले लेखेका छन्।सो समयमा आफूसँग पैसा नभएको स्मरण गर्दै उनले आर्थिक मितव्ययीता, सादाजीवन उच्च विचार,कडा परिश्रम पार्टी आदर्शका रूपमा बुझेको बताएका छन् ।“आफूसँग पैसा पनि थिएन । भर्खर जसो शान्ति प्रक्रियामा आएको थियो पार्टी । त्यस्तै ३ वर्ष जति भएको हुँदो हो । आर्थिक मितव्ययिता, सादा जीवन उच्च विचार, कडा परिश्रम हाम्रा आदर्श थिए । पार्टीको आदर्श र नीति भन्दा बाहिर जानू मर्नु जस्तो लाग्थ्यो,” उनले भनेका छन् ।
आफ्नो आदर्श नेतृत्वले आदर्शकै खिलाफ खिसिटिउरी गरेको सुनेर–भोगेर भ न न न भएको, चक्कर आएको उनले बताएका छन् । “तर सम्हालिएर बसेँ र अडिए । यस्ता चक्कर र घनचक्कर हरू दर्जनौं भोगियो । अनि लाग्यो मेरो पार्टी र आदर्श त उहिल्यै सक्किएछ । म उल्लु रहेछु, धत् मोरा, भनेर आफैँलाई बेस्सरी सरापेर स्वेच्छिक अवकास लिइयो,” उनले राजनीति छाड्नुको कारण यसरी उल्लेख गरेका छन । मन्त्री समेत भईसकेका लोकेन्द्र बिष्ट मगरले दाङ्गको तुलसीपुर उपमहानगर पालिका वडा नम्बर १८ बिजौरीमा ड्रागन फ्रुटको खेती गर्दै आईरहेका छन ।
उनको स्टाट्स जस्ताको त्यस्तै
मेरो आदर्श स्खलित भएको दिन!
एकदिन पोखरा Airport मा क.प्रचण्ड र क.बाबुरामसङ्ग थिए म,VIP कक्षमा। मैले लगाएको पुरानो थोत्रो जकेटले उहाँहरुलाई लज्जा वोध भएछ क्यारे! मुन्टो निहुराएर कुरा गर्नुभो! मैले सुनिरहे! म अलि पर थिए। सारमा “लगाउन,खान र चल्न नजान्ने” भनेर मेरो चर्को आलोचना भयो। मैले नसुने झैं गरेर सुनिरहे कान थापेर। मलाई नमीठो लाग्यो! आफूसङ्ग पैसा पनि थिएन। भर्खर जसो शान्ति प्रक्रियामा आएको थियो पार्टी। त्यस्तै तीन वर्ष जति भएको हुँदो हो। “आर्थिक मितव्ययिता, सादाजीवन उच्च विचार, कडा परिश्रम …” हाम्रा आदर्श थिए। पार्टीको आदर्श र नीति भन्दा बाहिर जानु मर्नु जस्तो लाग्थ्यो। आफ्नो आदर्श नेतृत्वले आदर्शकै खिलाफ खिसिटिउरी गरेको सुनेर-भोगेर भन न न न….चक्कर आयो! तर,समालिएर बसे र अडीए! यस्ता चक्कर र घनचक्करहरु दर्जनौं भोगियो! अनि लाग्यो मेरो पार्टी र आदर्श त उहिल्यै सक्किएछ! म उल्लु रहेछु,धत् मोरा भनेर आफैलाई बेस्सरी सरापेर स्वेच्छिक अवकास लिइयो!