घायल
रक्ताम्य लडिरहेछ सत्य
चोटै चोट सहिरहेछ ।
दानबताको निर्लज्ज नाँच देखी
इश्वर काँपीरहेछ ।
म चुपचाप बसुँ कसरी ,
निस्फिक्री निदाउँ कसरी ,
हाँसौं कसरी , नाचुँ- गाउँ कसरी ,
कस्तो भाव हो यो मनको
म कसलाई भनौं कसरी ।
चिच्च्याउँछ मन , आवाज भित्रै भासिन्छ
जोडले हिर्काइएका मेरा प्रयासरत पँख ,
हिँड्न खोज्दा बाँधिएका मेरा गोडा
अपाँग म , दुर्बलताको ज्वाला असह्य जलाउँछ ।
शरीर बास बस्छ यहाँ
सबथोक छ तर लाग्दैन आफ्नो ।
मन बसेको छ उतै
सबै रित्तो छ , त्यहि नि लाग्छ आफ्नो ।
फर्क छोरी घर भन्ने मेरी आमा
हत्केलाले आँशु लुकाउँदै
भन्छिन आउन पर्दैन , तिमी उतै बस
आफ्नो ममता छातीभित्रै जबर्जस्ती थुन्दै
ढोका ढप्काउँछिन , अन्धा – बहिराको राजमा ।
सक्छु गर्न के म ?
पुजा सतको , कामना न्यायको ।
आशाको दियो एउटा , कमजोर जोगाउने हात
तुफान ब्याप्त , बिसाउँ कहाँ छटपटी मनको ।
मनको एउटा आवाज शान्त
धैर्यता सुझाउँदै छ ।
इश्वर शक्ति सन्चय गर्दैछ
दानबको आयु घट्दैछ ।
© माया पन्थी