महोदय!
नमस्कार गरें।
हुनत हजुर अलिकति आशा बोकेर
ह्यङ्गरमा झुन्डिएको नयाँ बलम्पुरे कोट,
अलिकती जुत्तामा पोलिस, महँगो घडी बाँधेर
हात माग्न आउनुभएको होला !
तर मलाई हजुरको नाम समेत थाहा छैन,
आज म हजुरलाई मेरो यथार्थ भन्दै छु!
जब कोपिला फूललाई डालिमै छोडेर आमा जानुभो
त्यो दिन देखि बाबा आफ्नो जवानी
पसिनासँग खर्चंदै हुनुहुन्थ्यो
ता कि म फक्रेर फूल्न सकुँ ,
म त भाग्यमानी छोरी हुँ,
बाबाले हरेक दिन आफ्नो भाग्यलाई
नाम्लोले थिचिरहनु भो ताकि
मेरो भाग्य सुगन्ध झैँ फैलियोस !
त्यसैले आज म बाबाको थिचिएको निधारमा
ढाका टोपी लगाईदिने सौभाग्य पाएकी छु!
बाबाको हात सिमेन्टले जलेपछि मात्र
जल्ने गर्थ्यो चुलोमा आगो पनि।
बाबा ले हरेक दिन कोदालो समाउनुहुन्थ्यो
र मैले हरेक दिन कलम समाउन पाए!
त्यसैले आज म शिक्षित भाकी छु,
मेरा बाबाका ओठ ले बोल्ने ध्वनि ,
आँखाले देख्ने सपना
हत्केलामा ठेलाहरुको अक्षर
सब बुझ्ने छोरी भाकी छु,
महोदय!
हजुको जीवन मा म आए भने यदि
हजुरको जीवनमा मुस्कान छर्न सकुँला……
हरदिन आँखा चिम्लेर प्रेम गरुँला जिन्दगिभरी
ताकी अरु कोहि नदेखियोस हजुर बाहेक !
कान थुनेर प्रेम गरुँला ताकी कोहि नसुनियोस
हजुर बाहेक।
हजुर पाइला चाल्नु म बाटो पछ्याउँला
एउटा छुट्टै संसार बनाउँला,
सम्झिनुहोस् न!
एउटा शिक्षित नारी भयो भने के फाइदा हुन्छ घरमा?
र म आफ्नो बचाएर राखेको जवानी पनि सुम्पिदिउला,
तर हजुर !
मेरो बाबाको लागि म छोरी मात्र नभएर
औसधि हो मेरो अनुहार!
जहाँ आमाको पिरले बढेको बाबाको रक्तचाप
घटेर जान्छ मलाई हेरेपछी!
घरको चुहिने छानो टालिदिने सपना मै हुँ!
जहाँ हरदिन बाछिटोले भिजाईदिने बाबाको मन
ओतिदिन्छ मेरै अनुहारले!
र मेरो बाबाको अन्तिम सम्पती मै हुँ,
सुन ,चाँदीको पर्यावाची मै हुँ,
यो भन्दा ठूलो सम्पती अरु केहि दिन सक्नुहुन्न,
तर हजुर यो भन्दा धेरै
आश गर्नु भाको हो भने
ठिकै छ!
आईहाल्नु भो
चिया पिएर जानुहोला।
नाम – देश बन्धु आचार्य
बुटवल रुपन्देही