शारदा बिश्वकर्मा। समृद्धि भनेको विकास वा उन्नति हो । सर्वसाधारण सबैले आफ्नो दैनिक जीवनमा अनुभव गर्न सक्ने सकारात्मक परिवर्तन नै विकास हो । जनताका आधारभूत आवश्यकता परिपूर्ति गर्नु, जनताको जीवनस्तर उठाउनु र उच्चस्तरको आर्थिक समृद्धि हासिल गर्नु हो । आवश्यक पूर्वाधारको विकास विना आर्थिक समृद्धिको छलाङ मार्न सकिदैन ।कुनै पनि देशको समृद्धिको सूचकको रुपमा त्यस देशका जनताको आत्मनिर्भरता, त्यहाँ रहेको समानताको स्तर र त्यस देशका जनताले महसुस गरेको आत्मसम्मानको स्तरलाई लिनुपर्दछ । समृद्धिका धेरै परिसूचकहरूमा नेपालको स्थिति लाजमर्दाे छ । न्यून आम्दानी, गरिबी र बेरोजगारीले गर्दा जीवनस्तर खस्किने क्रममै छ । गरिब देशको समृद्धिका लाग प्रमुख समस्या पुजिको अभाव होइन । दिगो रुपको समृद्धिका लागि सोचको अभाव हो ।आधा आकाश ओगटेका महिलाहरुकोअवस्था यतिबेला दयनीय रहेको छ।महिलाई उद्यमशिलता बिकास तर्फ लाग्ने बाताबरण नहुदा सम्म देशमा आर्थिक समृद्धिको गफ गर्नु भनेको दिवा सपना मात्र हुनेछ।हामिले हरेक सफल पुरुषका पछाडि एउटा असल नारीले भूमिका खेलेका कारण नै पुरुषार्थ कायम भएको तथ्यलाई बिर्सन मिल्दैन । महिला सफल हुन र अगाडि बढ्नका लागि पनि पुरुषको समसाथ त्यत्तिकै आवश्यक पर्छ जति महिलाले पुरुषलाई सहयोग गरेका हुन्छन् महिला सशक्तिकरणको अर्को बाटो पनि हो उद्यमशिलता हो।हुनत सफलता भनेको बेलुका सुतेर बिहान उठ्दा हातमा पर्ने जिनिस होइन । सफलताका लागि निरन्तरको लगाव र प्रयास आवश्यक पर्छ । एउटी कामकाजी महिलाले घरधन्दा सकेर सामाजिक र व्यवसायिक जीवनमा खरो र चर्को उत्रनका लागि अनगिन्ति चुनौतीहरू छन् यद्यपि महान् सम्भावनाका ढोकाहरू पनि खुल्नका लागि तयार छन् भन्ने कुरा स्मरण गर्नुपर्छ ।उद्यमी व्यवसायी महिलाका समस्याहरू चाङका चाङ छन् । हातमा कुचो लिएर सरकारलाई गाली गरेर मात्रै पनि समस्याको समाधान निस्कने होइन् । उद्यमी व्यवसायीका साझा समस्यालाई पार लगाउन एक्लै कराएर मात्र पनि सम्भव छैन् । सरकार ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा दिइरहेको छ । त्यही समृद्धिको सपनालाई साकार बनाउन सरकारले महिलाहरूलाई केवल गृहणीमा मात्र सीमित नराखी उद्यमशिलतामा अभिप्रेरित गर्नुपर्छ । दैनिक १८ घण्टा घरायसी काममा खट्ने महिलाको ६ घण्टा समय मात्रै राज्यले सदुपयोग गर्ने हो भने निर्यात बढ्ने र व्यापार घाटा घट्ने छ ।नेपालको परिपेक्षमा हेर्दा महिला उद्यमशिलता एकदमै न्युन छ । यसलाई अघि बढाउनका लागि संस्थागत रुपमा जानु पर्छ व्यक्तिगत तरिकाबाट गएर सम्भव हुँदैन । व्यक्तिगत रुपमा बुझ्नु भन्दा संस्थागत रुपमा जानकारी लिँदा धेरै फाइदा हुन्छ । संस्थागत रुपमा जाँदा सीप विकास, लगानीका लागि स्रोत जुटाउन सहजता हुन्छ भने अवसर पनि त्यतिकै पाइन्छ ।
महिलाहरूलाई साँचोको झुप्पोको मालिक्नी र रिमोर्ट कन्ट्रोलको हाकिम्नीमा मात्रै सीमित राख्ने पुरुषवादी चिन्तनको च्यादर च्यात्नै पर्छ । महिलालाई चुलोचौका र चारपर्खालबाट बाहिर ल्याएर कसरी उद्यमशिल बनाउन सकिएला र उदमशिलतामा होमिएका महिलाका समस्या र चुनौतीलाई कसरी सहजीकरण गर्न सकिएला भन्ने प्रश्नको उत्तरका लागि कार्य योजना बनाउनुपर्छ । काम सानो र ठूलो हुँदैन । सानासाना कामहरू असल र सफल भए भने मानकता निर्माण हुन्छ । जस्तै पयर्टन प्रबर्द्धनका लागि आसपासका ठाउँहरूमा स्थानीय स्तरको उद्यमशिलता सञ्चालन गरी पर्यटन उद्योगलाई चाहिने कच्चा सामाग्री उपलब्ध गराउनका लागि आमा दिदी बहिनीहरूलाई कृषि उत्पादनमा निर्धक्क र निर्भिकताका साथ लाग्न प्रेरित गर्न सकिन्छ ।घरमै बसेर हस्तकलाका सामाग्री उत्पादन गरेर कोशेलीका रूपमा तिनै पर्यटकलाई पठाउन सकिन्छ । होमस्टेलाई व्यवस्थापन गर्ने जिम्मा महिलालाई दिने हो भने आन्तरिक आय जरुर बढ्नेछ । एकपटक पर्यटकको मन जित्न सक्यौं भने उसैले उसको देशमा गएर गन्तव्यको बचन विज्ञापन गर्नेछ ।महिलालाई आत्म निरर्भर बनाउन पनि उद्यमशिलता आवश्यक छ । आत्मनिर्भर महिलाहरू निर्भिक हुन्छन् भन्ने कुरा त प्रमाणित भइसकेको छ । लघु उद्यमको विकास भयो भने समृद्धि आकाशको फल होइन दैलो अगाडि फलेको मेवा हो …। महिला सशक्तिकरणको अर्को बाटो पनि हो उद्यमशिलता महिलाका लागि सिपमुलक तालिम, गोष्ठी, सेमिनार साथै अध्ययन अवलोकन भ्रमणले पनि उद्यमशिलताको चेतना जवरजस्त स्थापित गर्छ । सबल र सक्षम नारी बनाउनका लागि यसले सहयोग गर्छ ।स्रोत र साधनबाट महिलालाई टाढा राखेर समृद्धिको बाटो फराकिलो बन्दैन् । त्यसैले राम्रो उद्धेश्य र लक्ष्य लिएर आउने महिला उद्यमीलाई बैंक तथा वित्तीय संस्थाले प्रोत्साहन स्वरुप सहज र सस्तो व्याजदरमा कर्जा दिनुपर्छ । करको दर भन्दा पनि करको दायरा बढाएर प्रगतिशिल कर घोषणा गरी आय अनुसारको कर तिर्न इच्छुक र रुचिकर बनाउनु पर्छ । राम्रो कर तिर्ने करदाताको सामाजिक सुरक्षाको दायित्व पनि सरकारले लिनुपर्छ । राज्यबाट विमाको व्यवस्था गरी उद्यमी महिलाका बालबच्चाको शिक्षा, स्वास्थ्य र सञ्चारमा पहुँच पुर्याउन सकिन्छ ।हातहरू केवल थपडी बजाउनका लागि मात्रै होइनन्, सिपमूलक तालिम दिएर, बिऊँ पूँजी र अनुदान दिएर उद्यम सञ्चालनका लागि न्युनतम व्याजदरमा ऋण लगानी गर्ने हो भने नतिजा हातैमा पर्नेछ ।खाली रहेका जमिनमा उद्यमशिलताका पाठशाला र प्रतिष्ठान स्थापना गरेर एकै पटक हजारौं महिलालाई प्रशिक्षित र सीपमूलक बनाउन सकिन्छ । जसले महिलालाई क्षमता अभिवृद्धि र आत्मनिर्भर बनाउने छ । खाली रहेका जग्गा जमिनमा सामूहिक उत्पादन गरेर पनि आम्दानी गर्ने बाटो देखाउन सकिन्छ । यस्तो खालको स्थानीय उत्पादनले अन्तर्राष्ट्रिय चर्चा परिचर्चा पनि पाउन सक्छ । महिलालाई उद्यमी बन्न सरकारले गर्ने प्रोत्साहनले नै समृद्धिको बाटो फराकिलो हुने हो ।व्यवसाय र उद्यमशिलतालका लागि पुँजी निर्माणसँगै घरधनीसँग घरभाडाका कहाली लाग्दा समस्या छन् । उद्यमशिलताको सपनालाई घरभाडा समस्याले डसिरहेको छ । पेश्की स्वरुप दिनुपर्ने अग्रिम भुक्तानी, घरबहाल कर, समय संझौता र करारले उद्यमशिल बन्न चाहनेले पनि बाटो परिवर्तन गरिरहेका छन् । यो कोणबाट हेर्दा मसिनो र सानो लाग्ने समस्यालाई संस्थागत नीति र सरोकारवाला निकायसँगको सहकार्य अपरिहार्य मानिएको छ ।शिक्षा, चेतना र प्रविधिले फड्को मारिसक्दा पनि सिप जाँगर कला भएका महिला साँचोको झुप्पोको मात्रै मालिक्नी भएर बस्नु मानव पुँजीको नाश हो । यिनै सिर्जनशील हातहरूबाट बनाइएका हस्तकला र कोशेली विश्वबजारमा पुर्याउन आवश्यक छ । स्थानीय भूगोलमा पाइने कच्चा पदार्थबाट उत्पादित सामानहरू गुणस्तरीय र बजारको मागअनुसार उत्पादन गरी बजारीकरण गर्नका लागि सरकारले सहजीकरण गरिदिनुपर्छ ।हामीले समृद्धिको बाटो पहिल्याउन नसक्नुमा उद्यम र इलमको अभाव हो । कुनैबेला, आजका विकसित र समृद्ध मानिने मुलुक पनि कुनै याम औद्योगिक क्रान्तिको राप र तापले आलोकित थिए भन्ने तथ्यलाई नकार्न मिल्दैन् ।एकै पटक करोड हातमा लिएर कोही पनि उद्यमशिल भएका छैनन् । उद्देश्य र योजना ठीक गरेर, आफूसँग भएको र जुटाएको पूँजी एवम् सीपको आधारमा सानो व्यवसायबाट नै लामो यात्रा तय गर्न सकिन्छ ।महिला उद्यमीहरूलाई व्यवसायमूलक तालिम दिएर उद्योग सञ्चालन गर्न घरपरिवार र सरकार दुवैले प्रेरित र प्रोत्साहन गर्नुपर्छ । हातहरू केवल थपडी बजाउनका लागि मात्रै होइनन्, सिपमूलक तालिम दिएर, बिऊँ पूँजी र अनुदान दिएर उद्यम सञ्चालनका लागि न्युनतम व्याजदरमा ऋण लगानी गर्ने हो भने नतिजा हातैमा पर्नेछ । कानुनी जटिलतालाई सरलीकृत बनाइ, प्रविधि मैत्री वातावरण बनाइ, बजार सर्वेक्षण गरी माग बमोजिमका बस्तु र सेवा महिला उद्यमीले पस्कन सक्छन् । सरकारले यसका लागि निश्चित समयसम्म सकारात्मक विभेदको व्यवस्था गर्न आवश्यक हुन्छ ।बैंक तथा वित्तीय संस्थाले महिला उद्यमीलाई हेर्न दृष्टिकोणमा परिमार्जन गर्न नितान्छ आवश्यक भइसकेको छ । महिलालाई दोस्रो दर्जाका रूपमा नहेरी नागरिकका रूपमा हेर्नुपर्छ । महिला उद्यमीको आफ्नै नाउँमा अचल सम्पत्तिको स्वामित्व नहुँदा कठिनाइ त भइ नै हाल्छ । वित्तीय साक्षरता तथा उद्यमशिलताको ज्ञान हाँसिल गर्दै जोखिम उठाउने साहसमा वृद्धि ल्याइ, डर, सङ्कोच र हिचकिचावटबाट माथि उठेर उद्यम विकासमा लाग्नुपर्छ । एक्लै ठोस निर्णय गर्ने क्षमता एवम् पारिवारिक र घरायसी समय व्यवस्थापनमा पनि महिला उद्यमीले ध्यान दिनै पर्छ ।व्यवसाय गर्नु तुरुन्त नाफा कमाउनु तथा जोखिम उठाउनु हो । त्यसैले सफल उद्यमी बन्नका लागि जोखिम उठाउने साहस अपरिहार्य छ । एकै पटक करोड हातमा लिएर कोही पनि उद्यमशिल भएका छैनन् । उद्देश्य र योजना ठीक गरेर, आफूसँग भएको र जुटाएको पूँजी एवम् सिपको आधारमा सानो व्यवसायबाट नै लामो यात्रा तय गर्न सकिन्छ ।आफूले सञ्चालन गर्दै गरेको उद्यमलाई विधि र व्यवस्थापनमा रूपान्तरण गर्न पुरुष उद्यमीसँग अन्तरक्रिया गर्न पछाडि हट्नु पर्दैन । आफ्नो ज्ञान सिप र कलालाई अभिवृद्धि गर्न तालिम, अध्ययन र भ्रमणलाई पनि थोरै समय दिनुपर्छ । आफूले सुरु गर्ने उद्यम व्यवसाय प्रति इमान्दार, लगनशील र कार्यान्वयन परिणाममुखी बनाउन दत्तचित्तले लाग्नैपर्छ । आफ्नो उद्यम किन, कसलाई र कसरी भन्ने प्रश्नको जवाफ आफैसँग सुरक्षित राख्नुपर्छ । उपभोक्ताको चाहना र भावना अनुरुप आफ्ना उत्पादित वस्तु र सेवाले मन जित्नै पर्छ । आखिर आधा आकाश आगेट्ने महिला उद्यमीका निम्ति जित्नका लागि सारा संसार खालि छ।
समृद्धिको आधारशिला नै महिला उद्यमशिलता
समृद्धिको आधारशिला नै महिला उद्यमशिलता

Advertisement
तपाईको प्रतिक्रिया