-प्रज्वल अधिकारी
क्रान्तिका नीला डामहरूमाथि फुलेको मुस्कान
आगो बलिरहने बाङहरूमा उम्रन लागेको दुबो
त्रास र भयको सुस्केरा सुस्काईरहने सल्लाका बोटहरू
बलिदानको रगत होकि, माटो हो बोकेर
निरन्तरताको प्रमाण दिईरहेको माडी खोलो
युवतीको गालाको डिम्पलजस्तो सुन्दर लिवाङ
क्रान्तिले न्वारन गरेको जलजला
सप्पै सप्पै खिचेर नयनले
तिम्रो सपनाको सहर राजधानी आइपुगेको छु
मलाई माफ गर रोल्पा
मैले तिमीलाई केही दिन सकिनँ !
जिन्दगी जस्तै घुमाउरा बाटोहरू कट्दै जाँदा
मैले त भुसुक्कै बिर्सेछु
तिम्रो काखमा सुतेर एक रुन्को लोक गीत गाउन
बस्तीहरूमा आँखाहरू बिछ्याउँदै गर्दा
तिम्रो काखमा पाईला उचाल्दै गर्दा
म एक पर्यटक जस्तो मात्र भएछु र
तिम्रा दु:खका कथा सुन्न लालायित बनेछु
मलाई माफ गर रोल्पा!
म तिमीलाई खुब मिस गरिरहेछु ….
जाँदै गर्दा तिम्रो नजिक
ममा घमण्ड बढेको थियो
ममा अहम् को ज्वालामुखी फुटेको थियो
सोचेको थिए –
आधुनिकताको गन्ध थोरै छोड्नेछु
सहरिया रवाफ हल्का देखाईदिनेछु
बोलचालीमा अंग्रेजीको ठाँट भर्नेछु
तर रोल्पा
मलाई त लाज लागेको छ
कस्तो सुहाएको तिमीलाई-
संस्कार सँगैको आधुनिकता
कस्तो मग्मगाएको-
सहरले छोएपनि गाउँको बास्ना
मैले त लिएर पो आएछु रोल्पा
तिम्रा सम्पुर्ण गुणहरू
मलाई माफ गर रोल्पा !
मैले तिमीलाई केही दिन सकिनँ !
पुग्दै गर्दा लाग्यो
तिमीलाई टाढाको सोच्ने मेरो सोच बिकट रहेछ
तिम्रो सामिप्यतालाई नबुझ्ने
मेरो बुझाई दुर्गम रहेछ
तिमी त भेटेर भेट्न नसकिने आकास रहिछ्यौ
तिमी त बुझेर बुझ्न नसकिने प्रेम रहिछ्यौ
साच्चै भनुँ रोल्पा
तिमी त देशको निधार सुहाउँदो टीका रहिछ्यौ
मैले केही दिन सकिनँ रोल्पा
क्रान्तिमा हात गुमाएका का लागि
हात बन्न सकिनँ म
गोडा नभएकालाई
आफ्ना गोडाको सहाराले हिँडाउन सकिनँ
छोरो गुमाएका बाआमाको काखमा शीर राखेर
“मनै तपाइँको सन्तान हुँ !” भन्न सकिनँ
सकिनँ –
आँखा नहुनेहरूकोलागि दृश्य बनिदिन
कान नहुनेहरूकोलागि आवाज भईदिन
माफ गर रोल्पा!
मैले केही दिन सकिनँ
म तिम्रो प्रेम पुजारी
म तिम्रो एकतर्फी प्रेममा फँसेको देवदास
तिमीसँग जनम जनम नटुट्ने प्रेम गर्न चाहन्छु
भुलेर मेरा सम्पुर्ण गल्तीहरू
के सक्छ्यौ तिमी मेरो प्रेम प्रस्ताव स्विकार गर्न ?