राम बहादुर विश्वकर्मा,प्युठान / सामाजिक बिकास मन्त्री सुदर्शन बरालले खेलकुदको विकासबिना मुलुकको आर्थिक विकास र समृद्धि सम्भव नभएको बताएका छन् । प्युठान नगरपालिकाले बिजुवारको खेलमैदानमा आयोजना गरेको कार्यक्रममा मन्त्री वरालले मुलुकको आर्थिक विकास र समृद्धिका लागि खेलकुदको विकास पूर्वसर्त रहेको बताएका हुन ।मन्त्री वरालले खेल क्षेत्रमा स्वदेशी निजी लगानीसँगै वैदेशिक लगानी भित्र्याउन पनि सरकारले भूमिका निर्वाह गरिरहेको बताए । सरकारले बजेटमा पनि खेलकुदलाई प्राथमिकतामा राखेको बताउँदै समयानुकल ऐन परिमार्जन गर्दै यस क्षेत्रलाई मजवुद बनाउदै लैजाने उल्लेख गरे ।खेलको विकासले मात्र सिंगो देशले समृद्धि हासिल गर्न सक्छ’, वरालले भने, ‘खेलकुदका संरचना बनाएर खेल पर्यटनको माध्यमबाट आर्थिक विकास समृद्धि हासिल गर्न सक्छौँ।’ मन्त्री वरालले प्रदेश सरकारले पनि खेलकुदलाई प्राथमिकतामा राखेको बताउँदै केन्द्र, प्रदेश र स्थानीय तहहरूमा आवश्यकताअनुसार खेलमैदानहरू निर्माण गर्ने सरकारको लक्ष्य रहेको बताए। खेलकुद क्षेत्रमा नेपालको स्थान माथि उठाउन यस्ता प्रतियोगिता फलदायी हुने विश्वास उनले व्यक्त गरे।
खेलकुदको माध्यमबाट युवाहरुलाई स्वरोजगारी बनाउने मुख्य उद्देश्यका साथ प्रथम मेयर कप प्रतियोगितामा पालिकाका १० वटै वडाले सहभागिता जनाएका छन् । शनिबार सुरु भएको खेल प्रतियोगितामा पालिकाका सबै वडा तहका खेलाडीहरु भिड्नेछन् ।
प्युठान नगरपालिका का मेयरको सम्मानार्थ प्रथम मेयर कप प्रतियोगिता आयोजना गरिरहदा सर्वसाधारणहरुले ‘अध्यक्ष कप’ वा ‘मेयर कप’ प्रतियोगिता आयोजना गर्नु जनप्रतिनिधिका महत्वाकांक्षी कार्य भएको टिप्पणी गरेका छन् । यसैबिच प्युठान नगरपालिकाका पुर्ब विभिन्न बिधाका खेलाडिलाई दोसल्ला ओडाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।
भलिबल फुटबल, क्रिकेटलगायत एथ्लेटिक्स खेलहरु प्रतियोगितामा समावेश गरिएका छन् । प्रतियोगिताका प्रथम,द्वितीय र तृतीयलाई आकर्षक पुरस्कार प्रदान गरिने छ ।