बुटवल। लुम्बिनी प्रदेशमा अनियमितता भएको आशंकामा प्रदेशसभाको सार्वजनिक लेखा समितिले छानविनका लागि गठन गरेका उपसमितिहरुले प्रतिवदेन बुझाउन आलटाल गरेका छन् । प्रदेश लेखा समितिले साउन र असार महिनामा सरकार र प्रदेशसभामा भएको बेथितिहरुको विषयमा छानविन गर्न छुट्टाछुट्टै उपसमिति गठन गरेको थियो । ती उपसमितिले ६ महिना बित्दासमेत मूल समितिमा प्रतिवदेन बुझाएका छैनन् ।
उपसमितिहरुले लामो समयसम्म पनि प्रतिवदेन नबुझाउँदा लुम्बिनी प्रदेशमा थुप्रिएका बेथितिहरु केलाउन कठिन भएको छ । प्रदेश सरकारले दाङ जिल्लामा आयोजना गरेको प्रदेश एक्स्पो र लुम्बिनी भ्रमण वर्ष आयोजनाका सन्दर्भमा अनियमितता भएको चर्चा चलेको थियो । यस्तै, प्रदेशसभा सचिवालयमा गाडी मर्मतको नाममा अनियमितता भएको चर्चासमेत बाहिर आएपछि छुट्टाछुट्टै उपसमिति गठन गरि छानविन प्रक्रिया अघि बढाइएको थियो ।
प्रदेशको सार्वजनिक लेखा समितिले प्रदेशसभा सचिवालयका गाडी मर्मतका नामका भएको अनियमिता छानविन गर्न लेखा समितिका सदस्य बैजनाथ कलवार संयोजक रहेको तीन सदस्यीय समिति गठन गरेको थियो ।
लुम्बिनी प्रदेश सरकारले दाङ जिल्लामा आयोजना गरेको प्रदेश एक्स्पो र लुम्बिनी भम्रण वर्षमा अनियमितता भएको आशंकामा वसी उदिन खाँन संयोजक रहेको समिति असार २२ गते गठन गरिएको थियो । तर उक्त उपसमितिले छानविनको प्रतिवेदन अहिलेसम्म बुझाइएको छैन ।
यस्तै, प्रदेशसभाका गाडी मर्मतमा अनियमितता भएको बिषयमा छानविन गर्न साउन २९ गते लेखा समिति सदस्य बैजनाथ कलवार संयोजक रहेको उपसमिति गठन भएको थियो । सोही दिन वसी उदिन खाँन संयोजक रहेको समितिले कृषि मन्त्रालयद्वारा रुपन्देहीमा निर्माण गरिएको कोल्ड स्टोर र खेलकुद मैदान निर्माणका क्रममा भएको अनियमितता छानविन गर्ने जिम्मा पाएको थियो । तर हालसम्म कुनै पनि उपसमितिले प्रतिवेदन बुझाएका छैनन् । समयमै प्रतिवदेन नआउँदा लेखा समितिको छानविन प्रक्रिया ओझेलमा परेको छ ।