मुगु । ठूला सहरमा रैथाने तथा अर्गानिक खाद्यान्नको माग बढेपछि कर्णालीका हिमाली जिल्लाबाट रैथाने अन्नबालीको निर्यात बढेको छ। सरकारी ढुवानी अनुदानका कारण कृषकले राम्रो मूल्य पाउन थालेका छन् भने लोपोन्मुख बाली खेतीतर्फ आकर्षण बढेको छ।
कर्णाली प्रदेश सरकारले चिनो, कागुनो, उवा, लट्टे (मार्से), फापर, जुम्ली मार्सी, कोदो, जौ र स्थानीय सिमीलाई रैथाने बालीका रूपमा सूचीकृत गरी संरक्षण तथा प्रवर्द्धन गर्दै आएको छ। तर व्यावसायिक ज्ञान र प्रविधि अझै प्रभावकारी रूपमा नपुगेको कृषकको गुनासो छ।
सोरु गाउँपालिका–१ का कृषक डिल्ली मल्लका अनुसार अधिकांश कृषक अहिले पनि परम्परागत तरिकाबाटै खेती गर्न बाध्य छन्। यद्यपि सडक सञ्जाल विस्तारपछि व्यापारी घर–घरमै अन्नबाली किन्न आउन थालेकाले आम्दानी सहज भएको कृषक दत्तरूपा मल्ल बताउँछिन्।
रैथाने अन्नबाली व्यापार गर्दै आएकी व्यापारी बिस्नु रेखी उपाध्यायका अनुसार मुगुमा करिब १५ व्यापारी सक्रिय छन्, जसले वार्षिक ४० देखि ६५ लाख रुपैयाँसम्म कारोबार गर्छन्।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ, मुगुका अनुसार चालु आर्थिक वर्षमा २७ मेट्रिक टन सिमी र चिनो, कागुनो, फापर, कोदो, भटमाससहित ६३ मेट्रिक टनभन्दा बढी रैथाने अन्नबाली निर्यात भएको छ। यसबाट करिब १ करोड २० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको अभिलेख छ।
सबै रैथाने बालीको तथ्यांक समेट्दा दुई करोड रुपैयाँभन्दा बढीको कारोबार हुन सक्ने कार्यालय प्रमुख तेजबिक्रम मल्लले जानकारी दिए।
कर्णालीका रैथाने अन्नबालीको निर्यात बढ्दै
कर्णालीका रैथाने अन्नबालीको निर्यात बढ्दै
Advertisement
तपाईको प्रतिक्रिया