मलाई चुनाव जित्नबाट अब कसैले राेक्न सक्दैन : ज्ञानेन्द्र शाही

साविककाे नराटाेक गाविस वडा नम्बर सात र अहिलेकाे सिंजा गाउँपालिका-३ पिगी गाउँका हुन्, ज्ञानेन्द्र शाही। सामान्य खेतीकिसानी गर्ने परिवारमा जन्मिएका उनी जम्मा ३० वर्षका भए। व्यापार सिंजालीकाे नशामै छ। सिंजाकै कैलाश मावि फुंग्रबाट एसएलसी पास गरेका उनी भारतमा सिए पढ्न गएका थिए। त्यहाँ घटेकाे एउटा सानाे घटनाले उनलाई चर्चित अभियानता बनायाे। भ्रष्टाचार र अव्यवस्थाकाे खराे विराेध गर्ने उनले ठाउँ-ठाँउमा मरणासन्न हुने गरी कुटाइसमेत खाए। अविचलित उनले आफ्नाे अभियानलाई कुनै पनि हातलमा राेकेनन्। बरु बढाउँदै गए। संसद भवन छिर्नेबेला ‘भ्रष्टाचार गरेर खानु आमाकाे रगत खानु सरह हाे’ भन्ने राजेन्द्र लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टीकाे अध्यक्ष भएपछि उनी अहिले राप्रपाबाट राजनीति गरिरहेका छन्। पार्टी प्रवक्ताकाे जिम्मेवारी सम्हालेका उनले यतिबेला जुम्लाबाट उम्मेदवारी घाेषणा गरेका छन्। उम्मेदवारी घाेषणासँगै चुनाव प्रचार अभियान थालेका उनले आठवटै पालिकामा चुनावी सभा समेत सकाइसकेका छन्। यसै पेरिफेरीमा रहेर  महेश नेपालीले शाहीसंग गरेकाे कुराकानी प्रस्तुत छ।

अभियानतादेखि राप्रपासँगकाे राजनीतिक यात्राकाे संयाेग के हाे?

भारतमा सिए पड्दा एउटा घटनाले मलाई अभियानता बनायाे। त्यतिबेला म एउटा फर्ममा अडिट गर्न गइरहन्थे। त्यहाँका मालिक सधैँ मलाई लिन गेटसम्म आउँथे। खाना एउटै टेबलमा बसेर खान्थ्याैं। एक दिन उनले मलाई ‘तपाईं पहाडी जस्ताे लाग्नुहुन्छ दार्जिलिङकाे हाे कि, हिमाञ्चलकाे हाे’ भनी साेधे। मैले नेपाली हाे भने। उनले मलाई ‘नेपाली भि सिए हाेते है!’ भने। त्यसकाे भाेलीपल्टबाट उनी मलाई लिन गेटसम्म पनि आएनन् र मसँगै खाना पनि खाएनन्। याे घटनाले मलाई बहुत आत्मग्लानी भयाे। धेरै दिनसम्म टर्चर दियाे। मैले निष्कर्ष निकाले, यदि मेराे देशमा चरम भ्रष्टाचार हुँदैनथ्यो भने हाम्राे आत्मसम्मानमा यति ठुलाे ठेस लाग्दैन थियाे। हाम्रो याेग्यता हुँदाहुँदै पनि विदेशमा छुवाछुत भाेग्नुपर्छ। त्यसपछि म नेपाल आएर भ्रष्टाचार विराेधी गतिविधिमा सक्रिय रहे। हाम्राे टिम बन्याे। हामीले एनसेलले ६० अर्ब कर छलि गरेकाे विरुद्धमा मुद्दा लडेर जित्याैं। ह्वाइटबडी प्रकरण बाहिर ल्यायाैं। यसरी म एउटा अभियानता बने। हामी एउटा यस्ताे नेतृत्वकाे खाेजी गरिरहेका थियौं, जाे जनताप्रति इमान्दार हाेस र भ्रष्टाचार विराेधि समेत हाेस्। हामीलाई कुनै राजनीतिक पार्टीको सिद्धान्तसँग भन्दा त्यसकाे व्यवहारिकताकाे मतलब थियाे। राजेन्द्र लिङ्देनकाे उदयपछि हामीमा आशा पलायाे। देश र जनताकाे नाम भजाएर गद्दारी गर्ने नेता र लिङ्देनकाे तुलना गर्दा उहाँ धेरै माथि पुग्नुभयाे। त्यसपछि हामी राप्रपा भयाैं। यसरी राप्रपाबाट मेराे राजनीति अध्यायकाे सुरुवात भयाे।

तपाईं राप्रपा प्रवेश गरेसँगै पार्टी फष्टाएकाे हाे, के लाग्छ?

मुल कुरा हाम्राे नेतृत्व जनताप्रति इमान्दार छ। यसकाे प्रभाव देशभर फैलँदैछ। त्यसमा हाम्राे बल थपिएको हाे। अघिल्लो स्थानीय तहकाे निर्वाचनमा गठबन्धन नहुँदा पनि राम्राे राप्रपाकाे राम्रो उपस्थिति थिएन। यतिबेला गठबन्धन हुँदा समेत हामीले धेरै ठाउँमा जित्न सक्यौं। काठमाडौं उपत्यकाका दुईवटा नगरपालिकामा हामी विजयी भयाैं। कर्णालीमा पनि धेरै लामाे समयपछि केही स्थानीय तहमा हाम्राे उपस्थिति भयाे।

उम्मेदवारी जुम्लाबाटै दिनुपर्छ भन्नेमा कसरी पुग्नुभयाे? जुम्लामा राप्रपाकाे न संगठनिक उपस्थिति नै बलियाे छ, न त तपाईं आफैँ पनि जनतासँग घुलमिल हुनुहुन्छ।

पहिलाे कुरा जुम्ला मेराे जन्मभूमि हाे। आज म नेपालकाे जुनसुकै कुनामा भएपनि जुम्ली हुँ। बाहिरबाट कम उमेरकाे एकजना एनजीओकाे कारिन्दा मात्रै आए पनि जुम्लीले शिर निउराएर दुई हात जाेडेर ढाेग्नुपर्छ। देशभर हिङ, सिलाजित र गलैंचा बेच्ने जुम्ली चाहिँ दाेस्राे दर्जाको नागरिक मानिन्छ। हाम्राे आत्मसम्मानका लागि पनि मैले जुम्ला नै राेजे। म अन्तबाट चुनाव जितेर मन्त्री भए भने पनि यता मेराे माटाे राेइरहेकाे हुनेछ। मेराे जन्मभूमिकाे आत्मसम्मान झन्झन् घट्दै जानेछ। यसका लागि पनि मैले जुम्ला नै राेजे। अहिलेकाे समयमा चुनाव जित्नलाई संगठन नै चाहिन्छ भन्ने मलाई लाग्दैन। जुम्ली जनतासँग घुलमिल हुन र निकटता बढाउनकै लागि यहाँबाट उम्मेदवारी घाेषणा गरेकाे हुँ।

अब देशको नेतृत्व जुम्लाले गर्छ भन्नुहुन्छ। यसकाे अन्तर्य के हाे? संसदीय व्यवस्थामा देशकाे नेतृत्व गर्न बहुमत चाहिन्छ। तत्काललाई राप्रपाकाे सम्भावना देखिँदैन नि?

तपाईंले स्वाभाविक प्रश्न गर्नुभएकाे छ। तर, तपाईंको प्रश्नसँग मेराे पूर्ण सहमति छैन। संसदीय व्यवस्थामा देशकाे नेतृत्व गर्न बहुमत चाहिन्छ। यसमा दुविधा छैन। तर एक सिट मात्रै जितेकाे पार्टीले पनि संसदमा बहुमत जुटाएर नेतृत्व गर्ने सकिने व्यवस्था पनि संसदीय नै हाे। अब आउँदाे चुनावमा राप्रपाकाे आकार कस्ताे हाेला? भन्ने प्रश्नकाे उत्तर पाउन धेरै कुर्नुपर्ने छैन। मंसिर चारपछि देखिहालिन्छ। म त्याे पार्टीको प्रवक्ता हुँ। पदाधिकारी र कार्यसम्पादन समितिकाे सदस्य समेत हुँ र विभागीय प्रमुख पनि हुँ। संसद्मा एक सिट मात्रै भएका जीबनबहादुर शाही कर्णालीकाे मुख्यमन्त्री हुनुहुन्छ। एक सिट मात्रै भएका हृदयेश त्रिपाठी, प्रेम सिंह र चित्रबहादुर केसी जस्ता मान्छेहरु मन्त्री, उपप्रधानमन्त्री बन्नुभयाे भने आउने चुनावमा राप्रपा शक्ति कम हुन्छ साेच्नु भ्रम हुनेछ।शक्तिशाली राप्रपा सकारमा जाँदा त्यसकाे नेतृत्व पार्टी अध्यक्षले नभइ हामीले गर्नेछौं। याे कुरा निश्चित भइसकेको छ। हाम्रा महत्त्वपूर्ण बैठकमा अध्यक्षले त्याे जिम्मेवारी हामीलाई नै दिने घाेषणा गर्नुभएको छ। अब जुम्ली जनताले जिताएपछि देशकाे नेतृत्व जुम्लाले गरेन त? यसरी म देशकाे नेतृत्व अब जुम्लाले गर्छ भनेर दाबाका साथ भनिरहेकाे छु। दमकमा, काठमाडौंमा जित्न सक्ने पार्टीले जुम्ला पनि जित्छ नै। प्रवक्ताकाे हिसाबले म नेतृत्वमा छु। मेराे जितले पञ्चायत पछि पहिलो पटक जुम्लाले नेतृत्व गर्छ।

जुम्लाले नेतृत्व गर्न सक्छ भन्ने आधार ज्ञानेन्द्र शाहीलाई जिताउनु मात्रै हाे?

मैले मबाहेक अरु काेही पनि नेता हुन सक्दैनन् भनेकाे छैन। राप्रपा बाहेक अर्काे शक्तिकाे अस्तित्व हुँदैन पनि भनेकाे छैन। संसदीय व्यवस्थामा पार्टी र उसकाे बहुमत भने पनि त्याे असलमा लागू भएकाे देख्न पाइदैन। त्यसैले व्यक्ति महत्त्वपूर्ण मानिन्छ। चेन अफ कमान्ड मान्ने माओवादीमा जनार्दन शर्मा र हाम्रै गजेन्द्र महतकाे तुलना गराैं न। यहाँनेर गजेन्द्र महत त्याे ठाउँमा किन पुग्न सक्नुहुन्न त? त्यसकाे गुदी कुरा भनेकाे व्यक्ति प्रमुख हाे। पार्टी गाैंण हाे। ठिक यसरी म आफ्नै कुरा गर्न चाहन्छु। म अहिले राप्रपाकाे प्रवक्ता हुँ। मभन्दा माथि औँलामा गन्ने नेता मात्रै हुनुहुन्छ। राम्राे मन्त्रालय सम्हालेका अग्रज नेताहरुकाे भन्दा मेराे मर्यादाक्रम माथी छ। मैले याे पदीय हैसियत राप्रपामा प्राप्त गरेकाे छु। तर हाम्रै जिल्लामा काँग्रेस, एमाले, माओवादी, मजदुर, समाजवादी पार्टीबाट काेही पनि याे पदमा पुग्नुभएकाे छैन। अब पनि याे सम्भावना निकै कम देखिन्छ। त्यसैले म निर्धक्क भन्छु मैले जित्दा जुम्लाले याे देशकाे नेतृत्व गर्छ।

तपाईं पनि क्याल्कुलेटर बाेकेरै हिँड्नुभयाे। ३१ हजार आठ सय ६८ आउँछ भनेर ठाेकेवा नै गर्नुभयाे। यसलाई हचुवा तर्क भन्न नमिल्ला र?

याे हामीले प्रारम्भिक रुपमा सर्वेक्षण गरेकाे मत हाे। तर म अहिले जिल्लाका आठवटै पालिकामा घुमेर आउँदा उत्साह बढेकाे छ। भाेट अझ बढ्ने देखिन्छ। माओवादी हुँ भन्नेले भाेट ज्ञानेन्द्र शाहीलाई दिन्छु भन्छ। काँग्रेस, एमाले हुँ भन्नेले एक भाेट तपाईंलाई भन्छन्। यसकाे भिडियोसम्म हामीले प्रशारण गरेका छाैं। र त्याे बाेली व्यवाहारमा पनि लागू भएकाे देख्नुहुनेछ। त्यसैले याे तथ्यगत तर्क हाे।

जुनसुकै पार्टीको उम्मेदवार भएपनि जुम्लीहरुले आफ्नाे घर आउनेलाई टीका र अबिर लगाइदिने गरेका छन्। तर, भाेट आ-आफ्नाे पार्टीलाई नै दिन्छन्। कतै तपाईंलाई पनि यस्तै हुने त हाेइन? भ्रममा पर्नु भएको त छैन नि?

तपाईंले भन्नुभएजस्तै हाम्राे इतिहास नै सांस्कृतिक समन्वय गर्न जान्नु हाे। त्याे संस्कार सिकेकाे जुम्लीले आफ्नाे घर आउने उम्मेदवारलाई फुल माला, अबिर लगाइदिनु स्वभाविक छ। तर, भाेट हाल्ने बेला तपाईंले भन्नुभएको जस्ताे अवस्था आउँदैन। तपाईं आफैँ भन्नुस् त जुम्लाको इतिहासमा नेमकिपाबाहेक अर्काे पार्टीले संसदीय निर्वाचनमा दाेहाेरिएर जितेकाे छ? अर्काे कुरा जुम्लाले कुनैपनि उम्मेदवारलाई दाेहाेर्‍याएकाे इतिहास छैन। डिल्ली महत जस्ताे सशक्त नेतृत्वले हारेकाे हामीले देखेका छाैं। भर्खरै जुम्लाले स्वतन्त्र मेयर जिताएर अर्काे इतिहास रचेकाे छ। जुम्ला सुन्दा दुरदराज हाे। सुन्दा मात्रै जुम्ली फाेहाेरी हाे। तर एक पटक यहाँ आएर देख्नेका लागि जुम्ला काठमाडौं बराबर हाे, अझ बढी हाे, कम हाेइन। जुम्ली जनता अशिक्षित छैनन्। जुम्ली जनता अब सचेत भइसकेका छन्। त्याे मंसिर चार गतेपछि ब्यालेट बक्समा देख्दा थप प्रमाणित हुनेछ। जुम्ला अब आफ्नाे मत निर्धक्क रुपमा राख्न सक्ने भइसकेको छ। जुम्ला परिवर्तनकाे पक्षमा सधैँब छ।

असाेज २३ सम्म तपाईं एक्लाे उम्मेदवार हाे। त्यही भएर पाे तपाईंको पक्षमा जनलहर देखिएकाे पाे हाे कि? असाेज २३ पछि अरु उम्मेदवार पनि मैदानमा आउनेछन्। लाखापाखा लागेकाे आफ्नै कार्यकर्तालाई पनि कस्ने र किन्ने चलन छ नि?

तपाईंले उठाएकाे प्रश्न जायज छ। तर, जनतालाई राम्राेसँग थाहा छ नी ज्ञानेन्द्र शाही मात्रै एक्लाे उम्मेदवार हुँदैन भनेर। अर्काे कुरा कति कर्याकर्तालाई कस्न र किन्न सम्भव हाेला? अब लहर सुरु भइसकेकाे छ। बगेकाे पानीलाई जति काेसिस गरेपनि राेक्न सकिदैन। त्यसैगरी क्रान्ति सुरु भइसकेकाे छ। जनता मेराे पक्षमा हुनेमा ढुक्क छु।

तपाईंले आफ्नाे नजिक आएका र आमसभामा आएका जति सबैलाई आफ्ना भाेटर सम्झिनु भएकाे त छैन नि?

यस पटक हामीले ज्ञानेन्द्र शाहीलाई जिताएनाैं भने अब पचास वर्ष जुम्ला पछाडि नै रहनेछ भनेर जनता आफैँ प्रचारप्रसार गरिरहेकाे छन्। मेराे प्रचारमा युवादेखि दाँत झरेका बुबाआमासम्म हुनुहुन्छ। यी सबैलाई आफ्ना त सम्झिनै पर्‍यो नि हाेइन र ?

भनेपछि जनताले व्यक्ति हेर्नेछन्?

हाे यसबेला जनताले मेराे मुख हेर्ने हाे। मैले उहाँहरुलाई मेराे पार्टीमा आउनुस् भनेकै छैन। जुम्ला जिताउनलाई एक जनाले दिने तीन/चार वटा भाेटमा एउट भाेट मात्रै मलाई भनेकाे हुँ।

ज्ञानेन्द्र शाही जित्याे भने जुम्ला जित्ने अनि अरुले जिते जुम्ला हार्ने हुन्छ र?

अवश्य हुन्छ। यसकाे कारण छ। अरुले जिते देउवा, ओली, प्रचण्ड, माधव नेपाल वा अरु काेहीलाई राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सभामुख बनाउनलाई मत हाल्न र ताली बजाउनकाे लागि जानु हाे। जुम्लाकाे साथीले त जनार्दनलाई भाेट हाल्न जानू हाे, भन्छु म। यस्ताे बेला जुम्लाले हाेइन रुकुमले जित्छ। डडेलधुरा र चितवन, राैतहट वा झापाले जित्छ। तर म जित्नु शक्तिशाली मन्त्रालयकाे जिम्मेवारी सम्हाल्नु हाे। यस्ताेबेला जुम्ला जित्छ।

२०४८ पछि जुम्लामा डिल्ली महत हाइहाई हुनुहुन्थ्यो, ०६२/०६३ काे आन्दोलनपछि नरेश भण्डारी उसैगरी उदाउनुभयाे। अहिले चर्चामा रहेका ज्ञानेन्द्र शाही उहाँहरुभन्दा के कति कारणले फरक मान्ने?

धेरै कुरामा फरक भेटाउनु हुनेछ। यहाँ एउटा कुरा मात्रै राख्दा पनि प्रष्ट हुन सकिन्छ। डिल्ली महत एमालेकाे केन्द्रीय सदस्य मात्रै हुनुभयो। नरेश भण्डारीलाई पाेलिटव्यराे पाउन हम्मेहम्मे छ। गजेन्द्र महतकाे हालत पनि उहीँ हाे। उहाँहरु भन्दा सिनियर दुई तीन सय जना हुनुहुन्छ। म पार्टीको प्रवक्ता हुँ। मभन्दा माथि थाेरै मान्छे मात्रै हुनुहुन्छ। अहिले देशभरिका मान्छे मलाई भेट्नुपर्‍यो भने समय माग्छन्। तर उहाँहरुले नेता भेट्न आफैँ समय माग्नुहुन्छ। फरक यति हाे। निर्णय प्रक्रियामा मेराे प्रत्येक्ष सहभागिता रहन्छ। मेराे सहभागिता रहनु जुम्ला जित्नु हाे। त्यसैले म जित्नुपर्छ।

अब ज्ञानेन्द्र शाहीलाई जिताए भने जनताले के कति आश गर्न सक्छन्?

अहिले धेरै ठूला कुरा गर्नु छैन। जुम्ला जित्नु भनेकाे नै विकासका सम्पूर्ण पूर्वाधार खडा हुनु हाे। भाैतिक विकास हाम्राे अधिकार हाे। त्याे हामी गर्छाैं नै। जनताकाे भाेट तान्ने हावादारी याेजना मसँग छैनन्। तर, जुम्लाका कुनै पनि किसानले उत्पादन गरेकाे जुनसुकै फसल खेर जाँदैन।

सरकारले उचित मूल्यमा किन्ने र बजारको व्यवस्था आफैँ गरिदिने व्यवस्था मिलाउनेछु। याे कुराकाे म ग्यारेन्टी दिन्छु। अर्काे कुरा, जुम्लीलाई अब कसैले हेयभावमा हेर्न पाउने छैन। जुम्लाको हरेक नागरिकले जुम्ली हुनुमा गर्व गर्नेछ। र, जुम्लाकाे भ्रष्टाचार शून्यमा झार्नेछु। अब कसैले पनि भ्रष्टाचार गर्ने, कुनै पनि आयाेजना अलपत्र पार्ने कल्पनासम्म गर्न सक्दैन। काेही कसैले त्याे साेच्छ भने दिवास्वप्न मात्रै हाे। त्यसैले म जित्नुपर्छ। मेराे लडाइँ अन्य पार्टीका उम्मेदवारसँग हाेइन, काठमाडौंमा बसेर डाडु पन्युँ चलाउनेका हातबाट खाेसेर हामी आफैँले चलाउनका लागि हाे।

भनेपछि तपाईंको अर्थतन्त्रकाे माेडेल समाजवादी हाे? किसानकाे फसल सरकारले नै किनिदिनलाई वा सरकारी संयन्त्र सक्रिय हुनलाई?

अर्थतन्त्रको माेडेल जे सुकै भएपनि एउटा सांसदले आफ्नाे निर्वाचन क्षेत्रमा चाहेकाे खण्डमा यति गर्न सक्छ। म गर्छु। किसानकाे उत्पादनलाई खेर जान दिने छैन। सरकारले नै किनेकाे जुम्लाकाे जुनसुकै उत्पादन निजी क्षेत्रले विश्व बजारमा पुगाउने संयन्त्रको विकास गर्छु। यहाँ स्याउ उत्पादन हुन्छ। ओखरका जंगल छन्। आरुकाे तेल, ढँटेलाे, ओखरकाे तेलले बजार पाउने व्यवस्था हामीले मिलाउने हाे। जडीबुटीकाे नाम लिइनसक्नु छ। याे सबैकाे बजार बनाउने जिम्मेवारी हाम्राे हुनेछ।

तपाईं आफ्नाे बाेली र व्यवहार फरक हुँदैन भन्नुहुन्छ। यदि भयाे भने वा तपाईंले जुम्लाका लागि केही गर्न सक्नुभएन भने के गर्नुहुन्छ?

पहिलो कुरा म गर्न सक्छु-सक्छु, निर्धक्क सक्छु। मसँग गर्न नसकिने कुनै याेजना छैनन्। सामन्य काम मात्रै गरे पनि जनताकाे जीवनस्तर उठ्न सक्छ भने ठूलाठूला सपना किन देखाउनु? कथमकदाचित जनताकाे पक्षमा काम गर्न सकिनँ भने अहिले जाे मेराे निकटतम प्रतिद्वन्दी हुन्छ, अर्काे पाली उसैकाे चुनाव प्रचारमा लाग्छु।

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...