काठमाडौँ – पुसको मध्यतिर लाग्दैगर्दा काठमाडौँ उपत्यकालगायत देशभर चिसो बढेको छ । चिसो मौसममा स्वास्थ्यसम्बन्धी विभिन्न समस्याले सताउने गर्छ । रुघाखोकी र ज्वरोले जाडो मौसममा जोकोहीलाई दुःख दिन्छ । हातगोडा, अनुहारलगायतका छाला फुस्रो हुने र फुट्ने समस्या त साामान्य भइहाले । अधिक चिसोका कारण श्वासप्रश्वास र घाँटीको समस्याले सताउने र स्ट्रोक हुने भएकाले विशेष ध्यान दिनुपर्छ । चिकित्सकका अनुसार चिसो मौसममा बूढाबूढी र बालबालिकाको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ । कम र बढी उमेरका व्यक्तिको शरीरको रोगप्रतिरोधात्मक क्षमता कम हुने भएकाले उनीहरूलाई चिसोले बढी असर गर्छ । उनीहरू बढी जोखिममा रहन्छन् ।
विज्ञका अनुसार चिसोले मुटुमा समेत गम्भीर असर पुर्याउँछ । यसकारण मुटुसम्बन्धी समस्या भएकाले यो समयमा विशेष सावधानी अपनाउनुपर्छ । चिसोका कारण रक्तनली साघुँरिएर रगत प्रवाहमा असर पार्छ र यसले हृदयाघातको सम्भावना बढाउँछ ।
जाडो मौसममा रोग फैलाउने भाइरसबाट जोगिन अनावश्यक रूपमा मुखमा हात राख्नुहुँदैन । नाक, आँखा आदि अङ्ग अनावश्यक रूपमा चलाइरहनु पनि हुँदैन । पटकपटक साबुनपानीले हात धोइरहनुपर्छ । न्यानो लुगा लगाउने, धुलो धुवाँ हुने स्थानमा ननिस्कने र तातो झोलयुक्त पदार्थको सेवन गर्ने गर्नाले चिसोबाट निम्तिने समस्याबाट धेरै हदसम्म बच्न सकिन्छ ।