राम बहादुर बिश्वकर्मा, प्युठान। । तिहार अघिनै पुराना मादल मर्मत गराउन वा नयाँ खरिद गर्न आउने मानिसहरूको चहलपहलले प्युठान नगरपालिका १० हाडिगैरा मरन्ठानाका नम बहादुर बि कलाई भ्याइनभ्याई हुनेगर्दथ्यो । मादल बिक्री र मर्मतबाट तिहार खर्च राम्रै उठाउँथे उनी ।
तर,यसवर्ष कोरोना महामारीले गर्दा न उनको मादल बिक्यो न त पुराना मादल मर्मत गर्ने नै आए। अहिले उनको यो पेसा नै संकटमा परेको छ ।
‘यो समयमा धेरै मादल बिक्री हुन्थे’, नम बहादुरले भने, ‘बनाएका मादल थन्किएका छन् ।” ‘यसपालि त मर्मतका लागि आएनन् । गाउँकै मादल पनि ल्याएनन् ।
गत बर्षभन्दा मादलको ब्यापारमा कमि आएको उनी बताउछन। अघिल्लो वर्ष तिहारमा ७० वटा मादल विक्री तथा मर्मत गरेको बि क को भनाई छ।
“गाउँमा कसैले मादल बनाउँदैनन्,पुरानो पेशा जोगाउन भनेर मादल पसल खोलेको छु,’ उनले भने,’तर यसको संरक्षणमा कसैले अहिले सम्म सहयोग गरेका छैनन्”
घरमै मादल बनाएर बेच्दै आएका बि क ले यसै पेसाबाट परिवारको खर्च चलाउने गरेका छन् । एउटा मादल तयार गर्न २/३ दिन लाग्ने गर्दछ । एउटा मादलको दुई देखि ५ हजार ५ सय सम्म मूल्य पर्छ ।

काठ, बाख्रा, भैंसी र गाई र गोरुको छाला, किट, खरी लगायतका सामग्री मिसाएर मादल तयार पार्ने गरिन्छ । मादलको ढुंग्रो बनाउने काठ राम्रो हुनुपर्ने भएकाले गाउँमा काठ खोज्न समय लाग्ने गरेको मादल बनाउनेहरुको भनाई छ ।
खिर्रो,आँप ,खमारी लगायतका काठको ढुंग्रो बनाउन सकिने भए पनि खमारी र आपको काठमा स्वर राम्रो सुनिने मादल बनाउनेहरुको अनुभव छ । मादलबाट कमाइ राम्रै हुने भए पनि छाला काढ्न र सुकाउन झन्झट हुने भएकाले पछिल्लो पुस्ताले यस पेसाप्रति ध्यान दिने गरेका छैनन् ।
पछिल्लोसमय नेपाली संस्कृतिमा मादलको साटो अन्य बाजा प्रयोग हुँदै आएका छन् तर पनि नेपाली संस्कृतिमा मादलको पहिचान र महत्व छुट्टै भएकाले मादलको संरक्षणमा जोड दिनुपर्ने प्युठान नगरपालिका – १० का वडाअध्यक्ष पदम गिरी जोड दिन्छन। “मादल हाम्रो पहिचानसँग जोडिएको छ”, गिरी भन्छन, ‘नेपाली संस्कृतिसँग मादलको सम्बन्ध गाँसिएको छ । यसको संरक्षण आवश्यक छ ।’
मादल बनाउने पेशा संरक्षण गर्न आवश्यक सामग्री सहयोगका लागि अहिले सम्म वडा कार्यालयमा माग नआएको अध्यक्ष पदम गिरी बताउछ्न।वडा कार्यालय आवश्यक सहयोगका लागि तयार रहेको गिरिको भनाई छ।