बाँके । बाँकेमा मंगलवार ४२ जना कोरोनामुक्त भई घर फर्किएका छन् । नेपाल प्रहरी, विभिन्न बैंकका कर्मचारी गरी ४२ जना डिस्चार्ज भएका हुन् ।जसमध्ये १८ महिला र २४ जना पुरुष रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
कार्यालयका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार डिस्चार्ज हुनेहरुमा भेरी अस्पतालका एक डाक्टर, एक पत्रकार, जिल्ला प्रहरी कार्यालय बाँकेका ९ प्रहरी, भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारी तथा एनआइसी एसिया बैंक, नबिल र माछापुच्छ्रे बैंकका कर्मचारी लगायत ४२ जना रहेका छन् ।
योसँगै बाँकेमा कोरोना संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या १ हजार ७८ पुगेको छ । बाँकेको आइसोलेशन केन्द्रमा अन्य जिल्लाका ३ जना गरी ३ सय ८६ जना संक्रमित उपचाररत छन् । जिल्लामा भेटिएका जम्मा संक्रमितको संख्या १ हजार ४ सय ६९ रहेको छ भने ४ पुरुष र ४ महिला गरी ८ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।