कामना डेली, काठमाडौं। नेपालमा शनिबार थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देवदह र गोरखाका एक/एक जनाको संक्रमणका कारण मृत्यु भएको हो। देवदह नगरपालिका रुपन्देहीका ७५ वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा असार १७ गते मृत्यु भएको हो। उनलाई क्षयरोगको उपचारका लागि १४ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।उपचारका क्रममा मृत्यु भएपछि उनको असार १८ गते पिसिआर परीक्षण गरिएको थियो।
उनको पिसिआर परीक्षणमा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। त्यसै गरि गोरखाको पालुङटार नगरपालिका–७ का ४४ वर्षीय पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको छ। कोरोना संक्रमित ती पुरुषको उपचारको क्रममा आज बिहान ५ बजे गोरखा अस्पतालमा मृत्यु भएको हो। उनी मधुमेहका बिरामी थिए । यही १७ गते कतारबाट नेपाल फर्किएका ती पुरुषमा हिजो कोरोना पोजिटिभ देखिएको थियो ।
यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ। नेपालमा संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको छ। डिस्चार्ज हुनेको संख्या ६४१५ पुगेको छ।