– बिजय बिश्वकर्मा । अन्तको कुरा किन लेख्नु । अन्तको कुरा अरुलेनै लेखिहाल्छन । आफ्नै गाउठाउकै कुरा त हो लेख्ने । शिर्षकमा लेखिएका रेसुङ्गा र अर्जुन दुई पहाडको नाम हुन । हामी बोलीचालीमा डाडा भन्छौ । यी दुई डाडाको बिचमा सदरमुकाम तम्घास बसेको छ । भन्न त गुल्मिकै गहना भनिन्छ तर यी दुई पहाड हामी तम्घासबासिका लागि भने मुटुकलेजो सरि हुन । यी पहाडले नै हामिलाइ बचाएका छन । हामिले मात्र हैन छिमेकी जिल्ला अर्घाखाँची, करिब ३० किमि टाढा बलेटक्सार सम्म रेसुङ्गाको पानी पुगेको छ । सुन्दर दृश्यावलोकन, हजारौं जडिबुटी, सयौ जंगली जिवजन्तु र चराचुरुङ्गी यी डाडामा उपलब्ध छन । प्र र्यटकिय र धार्मिक स्थल यिनै डाडामा छन भलै उचित सदुपयोग भएको छैन । आगामी दिनमा यी डाडाको उच्चतम सदुपयोग मात्र हैन संरक्षण पनि हुने आशा राखौ ।हामी केटाकेटी उमेरमा भैलो खेल्दा ‘ रेसुङ्गामा आगो लायो अर्जुनलाइ राप आ आ है मालिक्नी ज्युले पैसा दिन थाल्नुभयो जाली रुमाल थाप, के फुल फुल्यो खोलि तिरैमा टपक्कै टिपेर लाउला शिरैमा’ भन्दै गाउथ्यो । यो त एक गित न थियो ।
रेसुङ्गामा आगो लागेर अर्जुनलाई राप कसैगरी हुदैनथ्यो । न त अर्जुनमा आगो लागेर रेसुङ्गातिर राप आउथ्यो । फुल त फुल्थे खोला, खोल्सिमा तर ती फुल टिपेर शिरमा लगाउन सकिएन पाइएन । फुर्सदमा जेठ ३ को सरकारी नीति कार्यक्रम पढेपछी भैलोकै गित सम्झिए ।कोरोनाले हायलकायल पारेको बर्तमान अबस्थामा सुलुलु रेल , उलुलु पानीजहाज, सुरुङ्गमार्गका कुरा छन छाक रोकिन लागेका गरिब मजदुरका कुरा खासै देखिएन । कृषिमा आत्मनिर्भर भनिन्छ तर अनुदान पहुँचवाला बाहेक अरुले पाउनेगरी नितिगत सुधार गर्ने कुरा आउदैन । खर्ब बढिका सुरुङ्ग मार्गलाई जोड दिइन्छ तर हेटौंडा काठमाडौ रोप वे लाई बेवास्ता गरिन्छ । समाजबाद ल्याउने भनिन्छ तर शिक्षा र स्वास्थ पुरै सरकार मातहात गर्ने सवालमा आँखा चिम्म गरिन्छ । रोजगार गुमाएर फर्किने दाजुभाइ दिदीबहिनीको लागि खासै बोल्दैन ।खासमा गरिब मजदुरको लागि, साना कर्मचारीका लागि, साना उधोगी व्यापारीका लागि यो निति कार्यक्रम पुसमाघको जाडोमा रेसुङ्गामा आगो बालेर अर्जुनतिर ताप खोजेसरह नै हो ।
तम्घास,गुल्मी ।