ओमप्रकाश गुप्ता, सिसहनियाँ।भारतको कलकत्ताका एक युवकको हराएको ९ महिनापछि परिवारसंग पुनर्मिलन भएको छ । विनायक साहु नाम बताउने युवक ९ महिना अघि भारतमा रेलबाटै हराए । घर परिवारले सवै ठाउँ सोधीखोजी गरे । तर, कहीँ भेटिएनन् । प्रहरी कहाँ ‘एफआईआर’ दर्ता समेत गरे । अहँ भेटिएनन् ।
परिवारले बिनायक अब भेटिन्न भनेर पूरै आशा मारिसकेका थिए । तर, एकदिन उनै विनायक साहुलाई आँखा अगाडि पाउँदा दाइ गणेश, साढु भाइ दिलेश्वर र भतिजी संगीताले आँशु थाम्न सकेनन् । भक्कानिएर रुन थाले । खुशीले ओठ डगडगायो । शरीर काप्यो । विनायक पनि आफ्नो दाइ, भाइ र भतिजीलाई भेट्दा खुशीले रुन थाले । एक अर्कामा अंकमाल गरे । सुम्सुमाएँ । अनी परिवारसँग छुट्टिएका विनायक साहुको पुनर्मिलन भयो ।विनायक साहु भारतको कलकत्ताको जुट मिलमा काम गर्थे । उनको घर उडीसा, गुलनथरा, ब्रहमपुर हो । ९ महिनाअघि उनी कलकत्ताबाट ससुराली उडीसा जान रेल चढ्नुपर्ने थियो ।
स्टेशनमा मानिसहरुको निकै भिड थियो । भिड छिचोल्दै उनी रेल त चढे । तर, त्यो रेल उडीसाको लागी नभई, विहारको लागि थियो । पहिलो भूल त्यही भयो । रेलमा उनी लुटीए । न पैसा भयो, न उनको कुनै परिचय खुल्ने कागज । महिनौँ दिनसम्म उनी सडकमै खाए, सडकमै सुते । कहाँ छु भन्ने सम्म थाहा थिएन । बोल्न खोज्थे तर, बोली फुट्दैन्थ्यो ।कसरी कसरी उनी लमही आइपुगे । माग्दै खान थाले । ‘सबैले बौला आयो बौला आयो’ भनेको सुन्थे, बुझ्दैनथे। तर, पछि बुझे‘बौला भनेको पागल हो’ । तर, उनी पागल थिएनन् ।एक महिना अघि दाङ देउखुरीमा एउटा अभियान शुरु भयो,‘सडक मानव मुक्त बनाउने’ । त्यो अभियानमा उनै विनायकलाई उद्धार गरेर राप्ती गाउँपालिका वडा नं. ८ पिपरीमा रहेको निलसागर आश्रममा लगियो । कपालमा जुम्रा परेको । कपडाभरी फोहर । नुहाई दिएर, दारी, कपाल फालिदिए । नयाँ कपडा लगाउन दिए । आश्रममा ल्याएका सबै बोल्न सक्ने थिए । तर, उनी बोल्न सक्दैन थिए । न केही परिचय थियो । आश्रममा उनको नाम बोल्न; निलसागर भनेर राखे।माघेसंक्रान्तिको दिन आश्रममा नयाँ मानिसहरुको चहपलपहल बढ्दै थियो।आश्रमलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने बारेमा कुराकानी भैरहेको थियो । विनायक पनि त्यही थिए । उनले सबैलाई नमस्कार गर्थे । हात र मुखको ईसारा मात्रै थियो।आश्रममा आएकी शिक्षक रेमाकुमारी राना बुढालाई विनायकले पच्छ्याए ।‘हात जोड्दै यता र उता गरेको देखियो । बोल्न नसक्ने रहेछन् भन्ने लाग्यो’बुढाले भनिन्–‘तर, एक्कासी आप मेरी मा जस्सै हैं’ भन्ने पहिलो बाक्य फुट्यो ।
सबै आश्चर्यमा परे।न बोल्ने व्यक्तिको बोली एक्कासी फुट्यो।त्यसपछि उनको बारेमा सोधीखोजी चल्यो।उनको नाम विनायक साहु । घर भारत उडीसा । हरियाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवध्वज मल्ल पल्टनमा रहँदा उडीसाको बारेमा उनलाई थाहा थियो । खोजी सुरु गरे। गुगलको प्रयोग गरे।प्रहरी मार्फत खोज तलास गर्दा घरको पत्ता लाग्यो । साहुको बोली फुटेको दुई दिन भित्र उनको घरका आफन्तसँग सम्पर्क जुटिसकेको थियो।तर, कसरी नेपाल ल्याउने ।
होइन, अर्को योजना पनि थियो । साहुलाई घरै पुर्याउने । दुई विकल्प थिए । साहु भेटिएको खबर घर पुगेपछि ८० वर्षीया आमाको आँखाबाट हर्षका आँशु बगे।४ वर्षीया छोरी अरजीता, श्रीमती रस्मीता मात्रै होइन, उनको घर परिवार सबैमा खुशी छायो। निल सागरका अभियान्ता दिपेन्द्र न्याैपानेले साहुका घर परिवासँग फोनमा कुराकानी गरे, हाट्सअपबाट भिडियोमा कुरा गरे । विनायकको तस्बिर, भिडियो पठाए । त्यसपछी ९ महिनाअघि हराएका विनायक साहु नेपालमा भेटिएको घर परिवारले विश्वास माने। ‘सुरुमा विश्वास नै गर्न सकेनन्। त्यसपछि फोटो, भिडियो र कुराकानी गराएपछि पक्कै भेटिएको भन्ने भएपछि भने उनीहरुमा खुशीको सीमा रहेन’, न्यौपानेले भने–‘साहुलाई लिन साढु भाइ, दाइ र भतिजी आउन तयार भए। दुई दिनको रेलको यात्रापछि २ हजार किलोमिटर दूरी पार गरेर साहु र उनका आफन्त बिच शुक्रबार राती करिव ९ बजे निल सागर मानव सेवा अाश्रममा पुनर्मिलन भयो । यसै बिच अाश्रमले शुक्रबार राती नै पत्रकार सम्मेलन गरी हराएका विनायकलाई परिवार जिम्मा समेत लगाएको छ।अहिले अाश्रममा उद्धार गरिएका ३० जनालाई राखिएको छ ।
बिनायक भेटिएपछि परिवारमा छायो खुसी
बिनायक भेटिएपछि परिवारमा छायो खुसी
Advertisement
तपाईको प्रतिक्रिया