पुजा लम्साल, सुनवल। पश्चिम नवलपरासीको सुनवलमा संचालित एक हप्ते निशुल्क स्वास्थ्य शिबिर बिहिवार सम्पन्न भएको छ । सुनवल नगरपालिकाले ७० बर्ष उमेर पुगेका सामाजिक सुरक्षा भत्ता बुझ्ने जेष्ठ नागरिकका लागि शिबिर संचालन गरेको हो।
शिबिरबाट नगर भित्रका १३ वडाका ३ सय ५० महिला र ३ सय १९ पुरुष गरि जम्मा ६ सय ७१ जना जेष्ठ नागरिक लाभान्वित भएका छन् । प्रत्येक चौमासिकमा नगरपालिकाको नियमित स्वास्थ्य कार्यक्रम अन्र्तगत नगरका सवै वडामा यस किसिमका शिबिरको आयोजना गर्दै आएको नगरपालिकाका सिनियर अहेव अधिकृत चुरामणि नेपालले जानकारी दिनुभयो । उक्त स्वास्थ्य परिक्षण शिबिरबाट अधिकांश दम ,बाथ, ग्याष्ट्राईटिस, उच्च रक्तचाप, महुमेहका बिरामी भेटिएका छन् । साथै चिसो मौसम सुरु भएकाले रुघाखोकिका बिरामी पनि भेटिएको नेपालले जानकारी दिनुभयो ।नगरपालिकाको स्वास्थ्य शाखाले उनिहरुलाई निसुल्क रुपमा औषधि समेत बितरण गरेको जनाएको छ । नियमित शारिरिक व्यायाम गर्न र खानपानमा सचेत हुन चिकित्सकले सुझाव दिएका छन् । शिबिरमा मेरिटेड अस्पताल बुटवलका डा.रोशन पौडेल र देवदह मेडिकल कलेल भलुहिका डा.आयुष पौडेल लगायत सुनवल नगरपालिका भित्र रहेका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मिहरुले स्वास्थ्य परिक्षण गरेका थिए ।