१. गजल
भोलिको भविष्य देखेर म भयभीत छु ।
खै ? कुन्नी के हुने हो बहुत चिन्तित छु ।
डिग्री पासका सर्टिफिकेट खरानी पारेर,
मुग्लान पसौकी ? खाडी अचम्मित छु ।
सरकार मेरो न रोजगार छ न घरबार छ,
म जिन्दगी चलाउने चिन्ताले ग्रसित छु ।
शान्तिको देशमा `नरेश´ भएर बाँचेपनि,
हिजो युद्धबाट आज बुद्धबाट पीडित छु ।
२. -गजल
न व्यापार छ न सरकारी जागिर छ ।
अब के गर्ने होला ? मन अस्थिर छ ।
पढ्न लेख्नमै मेरो आधा जोवन गुम्यो,
घरमा बाआमाको अवस्था गम्भीर छ ।
डिग्री पासका सर्टिफिकेट खरानी पारौंकि?
सरकार जिन्दगीमा यतिसम्मको पीर छ ।
कहिलेकाही लाग्छ विषै पिएर मरिदिन्छु,
तर आँखै अगाडि जून जस्ती प्रियाको तस्विर छ ।
३. गजल
शिर पैतलामा राखेर पैतला शिरमा राखेर ।
के-के गर्छ्यौ भन? जिन्दगी पीरमा राखेर ।
किन हो कुन्नी ? तिमी रिसाएरै हिड्यौ रे !
आगोका झिल्काहरु मेरो तस्वीरमा राखेर ।
हाम्रो प्रेमको फैसला भाग्यले गर्छ भन्छ्यौं,
उसलाई दिलमा मलाई तक्दिरमा राखेर ।
हेर प्रिया ! नरेश पनि पीरमा बाँचेको छ,
छातीलाई जञ्जिरमा मुटु झीरमा राखेर ।
४. गजल
जब चाडपर्व अनि तीज नजिक नजिक आउन थाल्छ ।
आफूलाई भने साहुको ॠणपनि अधिक लाउन थाल्छ ।
यतिबेला आफ्नो न सरकारी जागीर छ न त व्यापार,
श्रीमतीको मन भने गहना पसल पसल धाउन थाल्छ ।
संगीले लगाएको रातो साडी छड्के तिलहरी देखेपछि,
उनको ओठले रोदन र आँखाले आँसु बगाउन थाल्छ ।
मलाई लाग्छ, यी चाडवाड मेलापर्व किन आउँदा हुन्,
साहुले एकाविहानै आएर ढोका ढकढक्याउन थाल्छ ।
५. गजल
हिजो अस्ति जे-जे लेखियो तिम्रो पक्षमा लेखियो ।
जसरी पृथ्वी घुमिरहन्छ त्यसको कक्षमा लेखियो ।
पत्थरमा लेखेथे आधा कोतरिएछ आधा पुछिएछ,
त्यसैले प्रियाको नाम समुन्द्रको मत्स्येमा लेखियो ।
जब तिम्रो नामको प्रेमपत्र रगतले लेख्न सुरु गरे,
तब कागजमा मन लागेन मुटुको मध्येमा लेखियो ।
जसरी हाम्रो प्यार देखेर चखेवाले माया गर्न सिके,
त्यसरी नै इतिहास प्रेम प्रणयको विषयमा लेखियो ।
६. गजल
तिम्रो शहर सामु घरटहराहरु मस्तले निदाउँछन् ।
टन्न अन्नबाली फल्ने गराहरु मस्तले निदाउँछन् ।
शहरका मानिसले यो कुरा किन सिक्दैन्न होला ?
शहरमा पनि रातपर्छ चराहरु मस्तले निदाउँछन् ।
जब मान्छेहरुको भिडमा मान्छे नै बेचिन थाल्छ,
तब तिम्रो शहरका नखराहरु मस्तले निदाउँछन् ।
सोकेसमा रबरका गुलाफ फुलाउँछ तिम्रो बजार,
त्यसैले मधिरा पिएर भमराहरु मस्तले निदाउँछन् ।
यहाँ जवान,यौवन बेचिन्छ,बेचिन्छ जिन्दगी पनि,
र त निर्लज्ज भएर अप्सराहरु मस्तले निदाउँछन् ।
७. गजल
हामी सशंकित छौँ पुलिस प्रशासनको नजिकबाट ।
कसरी सुरक्षित महशुस गरौं आफ्नै नशिवबाट ।
सरकारले चोकमा सहीदको शालिक उठाउनु थियो,
उठ्न नदिने षड्यन्त्र बुनियो ढुङ्गा माटो र ईटबाट ।
वर्षौं वर्षं पहिलेदेखि कर्णाली ज्वरोले थलिदा पनि,
उपचार कदापि पाउन सकेन डाक्टरको भीडबाट ।
नागरिक्ता राहदानी र देश बोकेर खाडी पुगेकालाई,
किन मन बुझ्ला ? सगरमाथा र बुद्धको तस्वीरबाट ।
हिजो आज आएर मलाई यस्तो भान भईरहेको छ,
मेरो त माया हरायो गुलाब र मुटुको समीपबाट ।
नरेश राना, राजनीति शास्त्र विभाग त्रि.वि. काठमाडौ ।