नेपाल भुटानमा जारी साफ यू-१८ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
Advertisement
सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा २-१ ले हराएर नेपाल उपाधि नजिक पुगेको हो ।
थिम्पुकाे चाङलिमिथाङ मैदानमा निर्धारित ९० मिनेट र थपिएको अतिरिक्त समय १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । जसमा नेपालका लागि अन्जना रानामगर र रेखा पौडेलले गोल गरेका थिए, भने भारतकी टुडु जवामानीले मात्र पेनाल्टीमा गोल गर्न सकेकी थिइन् ।
यसअघि रश्मी कुमारी घिसिङको गोलबाट नेपालले सुरुवाती अग्रता बनाएको थियो । घिसिङले खेलको १६ औं मिनेटमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन् । तर, भारतकी समिक्षाले ६३ औं मिनेटमा हेडबाट गोल गर्दै खेल बराबरी गरेको थियो ।
नेपालले फाइनलमा बंगलादेश र भुटानबीचको विजेतासंग खेल्नेछ ।