योजनामा लापर्वाही : सिंचाई कार्यालय उदासिन, किसानलाई सास्ती

प्यार अलि खाँन,प्युठान।

प्युठानको बाङगेसाल लिफ्ट सिंचाई योजनामा चरम लापर्वाही हुंदा पनि सिचाई कार्यालय उदासिन बनेको छ।
डेढ वर्षमै सम्पन्न हुनुपर्ने सिंचाई योजना ५ वर्ष बितिसक्दा पनि अलपत्र छ। जस्का कारण किसानहरुको सिंचाई गर्ने सपना वर्षौंदेखि अधुरै छ। तर,सिंचाई योजनाको प्रभावकारी कार्यान्वयनमा सिंचाई कार्यालय नै उदासिन बन्ने गरेको स्थानीयहरुले गुनासो गरेका हुन।

योजनाको इस्टीमेटमा राप्ती नदि किनारमा ५ वटा सम्पवयल (पानी कुवा) बनाउने भएता पनि ठेकेदारले ४ वटा सम्पवयल मात्र निर्माण गरेको छ। खेतियोग्य जग्गामा बिच्छाईएका पाईपलाइनको काम समेत गुणस्तर नभएको स्थानीय उपभोक्ताहरुले बताएका छन्। ‘पानी संचालन हुने बित्तिकै पाईप फुस्कन्छ।’ स्थानीय रामकृष्ण रावलले भने, ‘मोटरहरूमा पनि खराबी आइरहन्छ।’
सिंचाई योजनाको समग्र पक्षबारे उपभोक्ता समितिमाझ सिंचाई कार्यालयले सार्वजनिक सुनुवाई नै नगराई हतारमा ठेकेदारलाई उन्मुक्ति दिएको उपभोक्ता समितिका सचिव शिवबहादुर धामीले जानकारी दिए। ‘यहाँका स्थानीयलाई योजनाबारे मसिनेरी कुनै जानकारी नै छैन्।’ धामीले भने, ‘समितिको काम हेरालुको मात्र भएको छ।’
राप्ती नदीको पानी लिफ्ट गरि साविक बाङगेसालको वडा नं ४ र ५ का खेतियोग्य भुभागमा सिंचाई गर्ने योजना रहेको उपभोक्ता समितिका अध्यक्ष जिबराईल मियाँले बताए। सिंचाई योजनामा परेका समस्याहरुबारे बारम्बार ध्यानाकर्षण गराउँदा पनि कार्यालयले सुनुवाई नगर्ने गरेको मियाँले दुःखेसो पोखे। ‘योजनामा आर्थिक अनियमितता समेत भएको हुन सक्छ।’ मियाँले भने, ‘सिंचाई कार्यालय र ठेकेदारबिच कार्यसम्पादन सम्झौता भएकाले उपभोक्ता समितिलाई कामको गुणस्तरीयताबारे कुनै जानकारी नै छैन्।’ सिंचाई विभागले अनुगमन गरिदिनुपर्ने यहाँका उपभोक्ताहरुको माग रहेको अध्यक्ष मियाँले बताए।
साविक मध्यपश्चिमाञ्चल सिंचाई विकास डिभिजन कार्यालय विजुवार प्यूठानको १ करोड ५९ लाख ३० हजार ८ सय ४० रुपैयाँ लागत स्टीमेट रहेको योजनामा स्थानीय उपभोक्ता समितिले ५ लाख रुपैयाँ बराबरको जनश्रमदान समेत गरिसकेको छ।
सिंचाई डिभिजनमा चार जना कार्यालय प्रमुख फेरिँदा समेत योजना पूर्णरुपमा संचालनमा आउन सकेको छैन्।
सिंचित क्षेत्रको बिस्तार गरि कृषि उत्पादनमा बृद्धि ल्याउन सिंचाई योजनाको प्रभावकारी कार्यान्वयनमा संवन्धित कार्यालय बढि जिम्मेवार हुनुपर्ने स्थानीय उपभोक्ता एवं जनप्रतिनिधि जितमान मियाँले बताए। गाउँपालिकाले समेत योजनाका विषयमा चासो दिन उनले आग्रह गरे। करोडौंको योजनामा आर्थिक अपारदर्शिता समेत भएको आशंका उनले गरेका छन्।
योजनाको दिगो भविष्य, प्राविधिक पाटो र सिंचाईको प्रयोगबारे सिंचाई कार्यालयले किसानहरुलाई अभिमुखीकरण नगरेको समेत मियाँले गुनासो गरे।
मुस्लिम तथा आदीवासी धामी जातीको बाहुल्यता रहेको यस क्षेत्रमा सिंचाईको प्रभाबकारी सुविधा भए गहुँ, तोरी, मकै र वेमौशमी तरकारी खेतीको प्रचुर सम्भावना रहेको छ।

Sharing Now!

You might also like

Comments are closed.