धेरै अभिभावकहरुको अझै पनि विद्यालय खुलेपछि मात्र बच्चाहरुलाई विद्यालयमा पठाएर शैक्षिक क्रियाकलापहरुमा सहभागी गराउने भन्ने मनस्थिति देखिन्छ । अर्को तर्फ कोरोनाको वृद्धिदर हेर्दा भौतिकरुपमा विद्यालय खुल्ने सम्भावना क्षीण हुदै गएको छ। हुन् त सरकारले भाद्र १ गते देखि भर्ना अभिलेख शुरु गर्ने र सामान्य अवस्था रह्यो भने भाद्र १५ देखि विद्यालय संचालन गर्ने भन्ने योजना बनाएको छ। यदि सरकारले विद्यालय खुलाई नै हालेछ भने पनि विद्यार्थीको उपस्थिति हुने सम्भावना न्यून छ। ढुक्क नहुन्जेल अभिभाभाकहरुले नपढेर केही बिग्रेको छैन बरु स्वास्थ्य ठूलो कुरा हो भन्ने नै सोच्ने छन्।
त्यसैले सम्भव भएसम्म यस्तो अवस्थामा अनलाईन कक्षाहरु र दूर शिक्षाका विधिहरुलाई प्रभावकारी बनाउनुको विकल्प छैन ।
बर्तमान समयमा शिक्षामा सरोकार राख्नेहरु, हिजोको पुस्ता जो अहिले अभिभावक भएका छन् र शिक्षाका नीति निर्माता, ब्यबस्थापकहरु मुलत प्रबिधिमय शिक्षाको सुविधाबाट बन्चित थिए । उनीहरु परम्परागत प्रणालीमै हुर्किए। परिणामत: उनीहरुलाई अनलाईन शिक्षामा विश्वास जाग्न नै नसकेको अवस्था छ। यो पुस्ता न अनलाईन सिकाईलाई स्विकार्न तयार छ न यसका लागि शुल्क आवश्यक ठान्छ। अझ उदेक लाग्दो त के छ भने एक्काइसौ सताब्दिका विद्यार्थीको राजनीति गर्नेहरु समेतले अनलाइन सिकाई स्विकार्न सकिरहेका छैनन्। आकस्मिक रुपमा यसरी अनलाइन कक्षाहरुमा भर पर्नु पर्छ भन्ने कुरा न त नीति निर्माताहरुले कल्पनागरेका थिए न त गुणस्तरीय शिक्षा दिन्छौं भनेर दाबि गर्ने महङ्गा स्कुलहरुले नै। जब कोभीडले शिक्षालयहरुलाई बन्द गराइदियो अकस्मात अनलाइन कक्षाहरुमा जान विद्यार्थी, शिक्षकहरु,अभिभावकहरु, स्कुल व्यबस्थापकहरु मानसिक रुपमा तयार भएको पाइएन केहि अपबाद बाहेक । सबै कोभिड शान्त हुन्छ र पुरानै तरिकाबाट विद्यालयमै उपस्थित भएर सैक्षिक क्रियाकलापहरु संचालन गर्ने मनस्थितिमा दिन पर्खेर बसेको अवस्था छ। तर कोरोनाको अवस्था हेर्दा हाम्रा सोचाईहरुमा परिवर्तन ल्याउन ढिला भईसक्यो।
प्रथमत: अनलाईन कक्षाहरु औपचारिक नै होइनन, विद्यार्थीलाई सामान्यरुपमा भुलाउन, निजि विद्यालयहरुले शुल्क उठाउन गरेको प्रयास मात्र हो भन्ने सोचाई बाट मुक्त्त हुन् जरुरी छ। विद्यार्थी घरमा बस्न थालेको करीव ५ महिना पुग्दै छ। उनीहरुले सिकेका कुराहरु विर्सिदै जानु स्वाभाविक प्रक्रिया पनि हुने नै भयो।
अझै पनि उनीहरुलाई ठिकै छ भन्ने सोचाई राखियो भने बच्चाको सिकाई प्रक्रिया नराम्रोसंग खस्किन सक्छ।
त्यसलाई पहिलेको अवस्थामा आउने लामो समय लाग्न सक्छ। त्यसैले पनि अनलाईन शिक्षा पद्दतिमा जसरी भए पनि आफ्ना बच्चालाई जोडिन लगाउन अत्यावश्यक छ।विद्यार्थी विद्यालय जाँदा उसले विद्यालयमा पाठ्यक्रममा भएका सिक्ने कुरा सिकेको मात्र हुदैन बरु उक्त्त समयमा गलत क्रियाकलाप गर्न बाट बन्चित पनि भएको हुन्छ। अर्थात स्कुल जाँदा समय नपाएर गलत कुरा सिक्न पाउदैन । तर अहिले घरमा जतिखेरपनि खालि समय बिताउदा उनीहरुले नकारात्मक क्रियाकलापहरु पनि सिक्न सक्छन। यस तर्फ अभिभावकको ध्यान जान झन् आवश्यक छ। त्यसको विकल्प भनेको अनलाईन शिक्षामा सहभागी गराउनु नै हो। अभिभावकहरुका प्रतिक्रिया सुन्दा अनलाईन कक्षाहरु झन् प्रभावकारी भएको, बच्चाले राम्रो प्रगति गरेको, शिक्षक र अभिभावक तथा विद्यार्थीको बिचमा झन् राम्रो सम्बन्ध भएको,विद्यालयमा पढाउने शिक्षकहरुको योग्यता र क्षेमताको बारेमा अभिभावकहरुले थाहा पाउन सक्ने भएको हुदा यो सिकाई पारदर्शी भएको अनुभव छ।
अनलाईन कक्षाका अबरोधहरु:
पक्कै पनि अनलाईन शिक्षाका आफ्नै सिमाहरु छन्। प्रत्यक्षरुपमा उपस्थित भएर पढ्ने र पढाउने बानी परेकाहरुलाई यस पद्दतिमा विश्वास जगाउन नै धेरै समय लागिरहेको छ ।
प्राय: विद्यार्थीले भिडियो बन्द गर्ने र आफूलाई म्युट राख्ने हुँदा उसले के कति सिक्यो? शिक्षकले भनेका कुराहरु सुनिराखेको छ कि छैन ?
कपिमा गरेका क्रियाकलापहरुलाई शिक्षकलाई कसरी देखाउने ? विद्यार्थीहरुको उपस्थिति अति न्यून हुनु, जसले गर्दा कोर्स अगाडि बढाउने कि नबढाउने भन्ने शिक्षकहरुको अबस्था, विद्यार्थीहरुका लागि कति स्क्रिन टाइम उपर्युक्त्त हो ? प्रबिधि नयाँ भए पनि पढाउने तरिका पहिले कै हुनु जस्ता मुलभुत समस्या एकातिर छन् भने इन्टरनेटको समस्या, ल्यापटप तथा स्मार्ट मोबाइलको उपलब्धता नहुँदा शैक्षिक क्रियाकलापहरु अवरुद्ध भएका छन्।
अनलाईन कक्षालाई प्रभावकारी बनाउन अभिभावकको भूमिका :
बर्तमान परिपेक्षमा अनलाईन कक्षाहरु वैकल्पिक अध्ययन प्रणाली हो, यसको अर्को विकल्प छैन भन्ने कुरा सबै अभिभावकहरुले बुझ्नु जरुरी छ। अनलाईन कक्षा कसरी भई रहेका छन्, आफ्नो बच्चाले कसरी सहभागी भएको छ भन्ने कुरामा अभिभावक निरन्तर जानकार रहन सक्नु भयो भने बच्चाको उपलब्धि अवश्य राम्रो हुने छ। पहिला जस्तो फि तिरेपछि शिक्षकको जिम्मामा छोडिदिएर अनलाईन कक्षाहरु उपलब्धिमूलक भएनन् भन्ने अवस्था अहिले छैन। सकेसम्म र सम्भव भएसम्म वातावरण मिलाइदिएर नजिकमा रहेर बच्चाहरुको शैक्षिक क्रियाकलापहरु अभिभावकहरुले नियाल्न आवश्यक छ । पक्कै पनि अभिभावकहरुका आफ्नै आर्थिक समस्या छन् तर तपाइको सन्तानलाई शैक्षिक क्रियाकलापहरुमा सहभागी गराउन लाग्नु भएन भने यसले ल्याउने परिणाम उक्त आर्थिक समस्या भन्दा विकराल भएर आउने छ। त्यसैले इन्टरनेटका विविध योजना, सस्तो डाटा प्याकहरु लिएर भए पनि अनलाईन कक्षामा सहभागी हुने व्यबस्था गर्न आवश्यक छ। मोबाइलमा भन्दा ल्यापटपमा लगानी गर्न सक्नु भयो भने त्यो दीर्घकालीन रुपमा फाईदाजनक सिकाई प्रक्रियाका लागि यद्दपि विद्यार्थीले मोबाइल नै किन्न खोजेका हुन्छन ।
यदि अभिभावकहरुलाई आफू बस्ने ठाउँबाट अनलाईन कक्षाहरु कुनैपनि हालतमा सम्भब छैन भन्ने लाग्छ भने पनि नेपाल सरकार र प्याब्सन लगायतले चलाएका टिभी कक्षाहरु र रेडियो कक्षाहरुमा आफ्ना विद्यार्थीहरुलाई सहभागी गराउन अब ढिला गर्नु हुदैन।
सरकारले पनि अनलाईन शिक्षालाई कसरी औपचारिकता दिने,मूल्यांकन पद्दति के-कसरी गर्ने तथा शुल्क कसरी लिने भन्ने सम्बन्धमा सरोकारारावालाहरुसंग छलफल गरी निर्णय लिन धेरै ढिला भईसक्यो। महामारीको समयमा सधै अन्यौलतामा अलमलाईरहन कसैलाई छुट छैन।
(लेखक काठमाडौं विश्वविद्यालयबाट एजुकेसनल लिडरसिपमा एमफिल तहको रिसर्च गर्दै छन् )