– बिजय बिश्वकर्मा । जति धेरै प्रबिधी आए हामी उति धेरै एकलकाठे हुन पुगियो । घर घर टिभी आए, हात हात मोबाइल आए । हातहातका मोबाइलमा फेसबुक टिकटक आए । बुढाबुढी एकै कोठामा हुन्छन तर फेसबुकमा पानका पातको चिन्ह सहित मिस यु र लभ यु लेख्छन । बुढी आमैलाइ चिसोले खुट्टा सुन्निएको मतलब छैन फेसबुकमा छोराछोरीले आमाको तस्बिर मुख अरुलाइ देखाउन हतार छ । कोरोनाले सबैलाई त्राहिमाम पारेछ । लकडाउन भएको पनि डेढ महिना हुन लागिसक्यो । सबैले सामाजिक दुरि राख्नु पर्ने छ । यदि टिभी मोबाइल नहुदो हो त अहिले कति गाह्रो हुदो हो । पहिलेपहिले जस्तो रेडियो सुन्ने, ठाउँ ठाउँमा हुने मेलारमाइलो हेर्ने आनन्द लिने समय बिस्तारै हराउदै छ ।
धेरै घुमिएको छैन आफ्नै सेरोफेरोमा भएकै कुरा लेख्ने भन्ने त हो । हाम्रो गुल्मी अर्घाखाँची भेगमा साउने सन्क्रान्ती देखि तिजको राम सुरु हुन्छ । प्रायः साझमा अथवा आफ्ना कामब्यबहार सकेपछि जम्मा भएर नाचगान गरि रमाइलो गर्नेलाइ हाम्रोतिर राम भनिन्छ । आजभोलि यो चलनलाई मोबाइलले खायो । प्राविधिले सजिलो मात्र गराएन हाम्रा सस्कारहरु पनि मेटाउदै छ । खाइसकेपछी अनुकुल स्थानमा जम्मा भएर मनका पिर, खुशी प्रकट गरेर नाचगान गर्दा आत्मीयता मनता त बढथ्यो नै स्वास्थलाई पनि फाइदा गर्थ्यो । तर आजभोली टन्न खायो सोफा खाटमा ढल्क्यो मोबाइल टिभिमा रमायो मोटोपन र अरु रोग बढाउने काम हुन्छ । रेमिट्यान्सको पैसाले जिब्रोको स्वाद फेर्ने ज्यानले सुख खोज्दा झन रोगी बनिएको छ । कुरा तिजकै राम तिर लगौ । अल्लारे उमेरमा राम हेर्न धेरै हिडियो । तिजका राम आफ्ना गाउमा हेरिएन अरुकै गाउमा पुगिन्थ्यो । यसरी अरुकै गाउमा पुग्नुका फाइदा धेरै छन । एकै उमेरका ४/५ जना मिल्यो हिडयो । आफ्नो गाउका नोक्सान गर्न भएन चोर्न भएन अरुका गाउँमा यसरी हिडदा वारि र मलखादमा फलेका काक्रा चोरियो, भर्खर भर्खर गुलियो हुन लागेका उखु चोरियो, कलिला बोडि काचै चपाइयो । उखु काक्रामात्र चोरिएनन अलिक आइडियावाला र टाठोबाठोले त पल्लागाउका नानिको दिल पनि चोर्ने गर्थे । म त सोझो दिल चोर्नेमा परिन । उतिबेलाका सम्झना मनभरी आउछन । कति गित सुनियो कस्ता कस्ता गित सुनियो । दुखका गित सुनियो । खुशिका गित सुनियो । भन्छन नि बारुले काम्मर हो त्यही कम्मर भाचेको नाच कति हेरियो । सबै अहिले सम्झन कहाँ सकिन्छ तर यो ‘ ठोक ठोक मादलु खरी खसे खस्ला’ भन्ने गित म अहिले पनि सम्झिन्छु । गितमा मादलको तालको भुमिका धेरै हुन्छ । जब मादलको ताल आउँछ तब बजाउनेले झन झन रन्काउछ । मादल बजाउनेलाइ अझ हौस्याउन ठोक ठोक मादलु खरी खसे खस्ला भन्ने गित गाइदिन्छन ।
यो त भो तिजमा मादल बजाउने कुरा, यसो सोच्छु हाम्रो देशलाई पनि सबैले आफू अनुकुल मादल सरि ठोकिरहेका छन । कहिले राजाबादी हरुले पन्चायती ब्यबस्थामा बजाए । आफ्नो स्वार्थमा बहुदलकालमा काङ्ग्रेस एमाले राप्रपाले बजाए । २०६३ पछि माओवादी,फोरम, काङ्ग्रेस, एमाले हरुले कहिले यता कहिले उता तालमेल गरेर बजाए । कर्मचारिहरुले पनि रास्ट्रसेवकको नाममा ठोकिरहेकै छन । महिनाको ५० हजार घरभाडा बुझ्ने अनि सरकारले दिने मासिक २/३ हजार बृदभत्ता नछाड्ने हामी जनताले पनि देशलाइ ठोकिरहेका छौ । बजाइरहेका छौ । अरुका पार्टी, नेताले गरे गलत आफ्नाले गरे सहि भनेर ताली बजाउने कार्यकर्ताले पनि देशलाइ बजाइरहेका छौ ।
उद्योगि ब्यापारिले कर कम तिर्न परोस बढी सेवा पाइयोस भनेर ठोकिरहेकै छन । कोहि भन्दा कोहि कम भएका छैनन । मादल को खरी खसे त फेरि लगाएर सहिसलामत गराइएला तर भ्वाङ्ग नै पर्यो भने त अलि गाह्रो पो पर्छ कि ? भ्वाङ्ग परेको मादलबाट कर्णपि्रय ध्वनी निस्कदैन ।