काठमाडाैँ । आफूभन्दा जुनियर व्यक्तिलाई नेतृत्व दिएको भन्दै रुपन्देहीमा सत्तारुढ नेकपाका सचिवले राजीनामा दिएका छन् । जिल्ला सचिव पदमा मनोनित दधिराम न्यौपानेले पार्टी एकता प्रकृयामा असन्तुष्टि जनाउँदै मंगलबार पदबाट राजीनामा दिएका हुन् ।
उनी प्रदेश सभा सदस्य एवं नेकपा केन्द्रीय सदस्य समेत हुन् । रुपन्देहीमा बुटवल उपमहानगरपालिकाका मेयर एवं पार्टी प्रदेश सदस्य शिवराज सुवेदी अध्यक्षमा मनोनित भएका थिए ।
न्यौपानेले पार्टी केन्द्रले गरेको कार्य विभाजनप्रति असन्तुष्टि जनाउँदै मंगलबार पार्टी केन्द्रीय कार्यालयलाई इमेलमार्फत र प्रदेश इन्चार्ज एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई भेटेरै राजीनामा बुझाएका छन् ।
न्यौपानेले आफू प्रदेश सभाअन्तर्गतको उद्योग तथा वातावरण समितिको सभापति र पार्टी केन्द्रीय सदस्यसमेत रहेकाले जिल्ला सचिव पदमा नरहने जानकारी गराएका छन् ।