कामना डेली,अर्घाखाँची।
अर्घाखाँचीको छत्रदेव गाँउपालिकामा मंगलवार संचालन गरिएको एकीकृत घुम्ती शिवीरबाट सयौँले सेवा लिएका छन् । शिविरमा आउन जान गाउँपालिकाले घरघरमा बस र जीपको व्यवस्था गरेपछि सेवाग्राहीको भीँड लागेको हो। शिविरमा छत्रदेव गाउँपालिकाभित्र रहेका ८ वटै वडालाइ लक्षित गरी शिवीर आयोजना गरिएको हो। छत्रगंज ५ को सार्वजनिक मावि छत्रगञ्जमा राखिएको उक्त शिविरमा जिल्ला सदरमुकामबाट मात्र प्रदान हुने सेवा आफ्नै गाँउबाट पाएपछि यहाँका स्थानीय बासिन्दाहरु खुसी भएका छन् । विनाझञ्झट, छोटै समयमा सबै सेवा पाँउदा उनीहरु हर्षित भएका हुन् । जिल्ला प्रशासनको आयोजना र छत्रदेव गाँउपालिकाको संयोजनमा शिविर सञ्चालन भएको हो । विना झण्झट आफ्नै गाउँबाट जिल्ला सदरमुकाम बाट प्रदान गरिने सेवा प्रदान दिन शिविर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनुभयाे ।
नागरिकता बनाउनकै लागि दुई हजारसम्म खर्चेर सदरमुकाम सन्धिखर्क नै पुग्नु पर्ने यहाका स्थानियको बाध्यता थियो।
जिल्ला प्रशासनबाट प्रदान हुने नागरिकता, जिल्ला कृषि ज्ञान केन्द्रबाट माटो परीक्षण, जिल्ला स्वास्थ्य कार्यलयबाट निशुल्क स्वास्थ्य जाँच र आँखा अस्पातालको निशुल्क आङ्खाग जाच, निशुल्क औषधी वितरणजस्ता जिल्लास्तरका सबै कार्यालयबाट प्रदान हुने सेवा प्रवाह शिविरमा गरिएको थियो ।
सिंहदरबारको अधिकार घरघरमा भन्ने संघीयताको नारालाइ सफल बनाउन शिविर सञ्चालन गरिएको छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले बताए ।
गाउँपालिकाले टोलैपिच्छे गाडीको सुविधा गरिदिएपछि सेवाग्राही धेरै आएका हुन् । शिविरमा नागरिकता २ सय ८१ थान वितरण गरिएको छ भने ३०४ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरेका छन् । आयुर्वेद, स्वास्थ्य र आँखा जाँच मात्र ७ सयभन्दा बढीले गरेका छन् । उनीहरुले औषधी पनि निशुल्क पाएका छन् ।