पाल्पा। सुन्न, बोल्न नसक्ने पाल्पा रामपुरका याम खाम्चा बलियो इच्छाशक्तिका कारण अहिले अरुको प्रेरणास्रोत बनेका छन् ।
यिनी याम खाम्चा । न हात चल्छ, न बोल्न÷सुन्न नै सक्छन् । तर, जोश जो कोहीको भन्दा फरक छ । कुपोषणका कारणले शरीर राम्ररी नचल्ने भएपनि याम आफै आधा घण्टाको दूरीमा रहेको विद्यालय पुग्छन् । साधारण विद्यार्थीसँगै एउटै कक्षाकोठामा पढ्ने यिनको बौद्धिक क्षमता भने असाधारण छ । पढाएको नसुन्ने याम कक्षामा भने सधैं अग्रस्थान हासिल गर्छन । वाह्य पुस्तक, र पत्रपत्रिका संधै यिनको साथमा हुन्छ ।
विद्यालयमा प्रविधि र अपांगमैत्री विशेष कक्षा नभएकाले सहजताको लागि याम भूँइमै चगटी ओछ्याएर बस्छन् । बौद्धिक क्षमताकै कारण विद्यालयले यिनलाई निरन्तर छात्रबृत्ति दिइरहेको छ ।
खुट्टाको सहायताले याम एसएमएसमार्फत मोबाईलमा कुरा गर्छन् । अधिकांश समय पढाईमा विताउने यिनी फुर्सदमा ‘फेसबुक’ पनि चलाउँछन् । शारीरिक चुनौतीलाई जितेर अघि बढ्न पक्कै पनि सानो साहसले पुग्दैन । यमको साहशले आफ्नो जीवनलाई मात्र अघि बढाएको छैन अन्य विद्यार्थीलाई पढाई र जीवनप्रति प्रेरणा पनि थपेको छ ।