बर्दिया। बर्दिया राष्ट्रिय निकुञ्जभित्र आइतवार बेलुका गैँडा गणनामा खटिएका हात्तीका माहुतेलाई मार्ने पाटेबाघलाई निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ।
राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले निकुञ्जभित्र पर्ने गैँडा मचान क्षेत्रबाट पाटेबाघ नियन्त्रणमा लिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो। योसँगै बर्दियाबाट पाँच वटा पाटेबाघ नियन्त्रणमा लिइएको छ । भुरिगाउँ क्षेत्रबाट नियन्त्रणमा लिइएको बुढो पाटेबाघ उपचारका क्रममा मरेको थियो । यस्तै नियन्त्रणमा लिइएको बाघहरुलाई बर्दिया निकुञ्ज मुख्यालय ठाकुरद्धारा र निकुञ्जको रम्मापुर क्षेत्रमा राखिएको छ । बाँके राष्ट्रिय निकुञ्जमा राखिएको पाटेबाघ भने खोरको सरिया बङ्ग्याएर भागेको थियो । अहिले नियन्त्रणमा लिइएको बाघलाई जावलाखेल चिडियाखाना लैजाने तयारी गरिएको छ ।
गैँडा गणना गर्न गएको टोली रहेको हात्तीका माहुते पुलिसराम चौधरीको आइतवार बेलुका निकुञ्ज भित्र गैँडा मचान क्षेत्रमा पाटेबाघको आक्रमणबाट मृत्यु भएको थियो । यसअघि चैत ३ गते पनि यसै क्षेत्र आसपासमा पाटेबाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको थियो । निकुञ्जको प्राविधिक टोलीले क्यामरा ट्रयापिङ गर्दा महिलालाई आक्रमण गर्ने र माहुतेलाई आक्रमण गर्ने पाटेबाघ एउटै भएको अनुमान लगाएको छ ।