कविता : हेडसरको झापड

घनश्याम अस्तित्व

जब सम्झन खोज्छु म हेडसरलाई
म सम्झन्छु पहिल्यै – हेडसरको झापड ।

जिन्दगीको मान नपढाएर
साइन, कस र ट्यानको मान घोकाउने
म सम्झन्छु,
जिन्दगी नजानेका – गणीत पढाउने सर

बिकसित र अविकसित देशहरूका
अनि तेस्रो विश्वमा पर्ने
देशहरूका नामहरू घोकाउने
र, एडम स्मिथ, मार्सल
र रविन्सका परिभाषा घोकाउने
म सम्झन्छु
अभाव नदेखेका – अर्थशास्त्र पढाउने सर

मेरो अस्तित्व मेटेर
मलाई अंग्रेजीकरण गर्नलाई
सि ओ डब्लु – काउ
र डि ओ जि – डग घोकाउने
म सम्झन्छु
देश नचिनेका – अंग्रजी पढाउने सर

चारैतिर पर्खाल बाँधेर
भेंडा र बाख्राहरूलाई झैं
हावा पनि छिर्न मुश्किल कोठामा थुनेर
वातावरणिय तत्व र योगिकहरु घोकाउने
म सम्झन्छु,
प्रकृति नपढेका – बिज्ञान पढाउने सर

सधै – सधै
जङ्गबहादुर, विरशमसेर र चन्द्रशमसेरको
जन्म र मृत्यु मिती घोकाउने
म सम्झन्छु,
समाज नपढेका – सामाजिक सर

मलाई सिकाएको हो
जिन्दगीका चित्रहरूलाई कवितामा कोर्न
भुपिशेरचनको ‘मेरो देश’ कविताले
त्यसैले म बारम्बार
सम्झिरहन्छु – नेपाली पढाउने सर

र, यसरी सरहरूलाई सम्झिरहँदा
किन – किन आज पनि
मलाई एकैनाश लागिरहन्छ
कालोपाटीका ति बिधुवा अक्षरहरू
र मेरा सपनाहरूको आयु

जब सम्झन खोज्छु म हेडसरलाई
म सम्झन्छु पहिल्यै
मेरा प्रश्नहरूको जवाफ – हेडसरको झापड ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.