गुल्मी । तीन वर्षअघि आर्थिक संकटकाल घोषणा गर्न बाध्य भएको गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसले उल्लेखनीय प्रगति गर्दै पुनः स्थायीतर्फ कदम चालेको छ । विगतमा बन्द हुने अवस्थामा पुगेको यो क्याम्पसले पछिल्लो तीन आर्थिक वर्षमा उल्लेख्य सुधार गरेको छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीप्रसाद भलामीले पत्रकार सम्मेलनमार्फत क्याम्पसको प्रगतिको जानकारी दिँदै विद्यार्थी संख्या र आर्थिक व्यवस्थापन दुबैमा सुधार आएको बताउनुभयो । उहाँका अनुसार अघिल्ला वर्षहरूमा क्याम्पसको आम्दानी भन्दा दोब्बर तलब खर्च हुँदै आएको थियो ।
जसका कारण प्रत्येक वर्ष झन्डै डेढ करोड रुपैयाँभन्दा बढी ऋण थपिन थालेको थियो । शिक्षक र कर्मचारी कटौती तथा खर्च नियन्त्रणका उपायमार्फत सुधारको बाटो लिइएको अध्यक्ष भलामीले जानकारी दिनुभयो।
यसो हुनुमा क्याम्पसका विभिन्न खर्चहरू उच्च थिए । जसलाई नियन्त्रण गर्ने प्रयास क्याम्पसले तीव्र्र रुपमा सुरु गरेको थियो ।
प्रारम्भिक सुधार प्रक्रियामा ७ जना प्राध्यापक र २ जना कर्मचारीलाई अनिवार्य अवकाश दिइएको थियो । विश्वविद्यालयको नियम अनुसार १० जना भन्दा कम विद्यार्थी भएका कक्षा सञ्चालन गर्न नपाइने भएकाले यस्तो निर्णय लिइएको थियो ।
यसैसँगै, क्याम्पसले आफ्ना प्रशासनिक र अन्य खर्चहरूमा कटौती गर्न सुरु गर्यो । यस निर्णयपछि, क्याम्पसले आफ्नो वित्तीय स्थिति सुधार्न थालेको सञ्चालक समिति अध्यक्ष भलामीको भनाइ छ। क्याम्पसले खर्च कटौतीका साथसाथै आम्दानी बढाउने उपायहरू पनि अपनाइरहेको क्याम्पस प्रमुख सूर्यप्रसाद उपाध्यायले बताउनुभयो। यस प्रयासले क्याम्पसलाई आर्थिक रुपले सुदृढ बनाउने दिशामा अघि बढाएको छ । अहिले क्याम्पसले प्रशासनिक खर्च कटाएर आम्दानी गर्न समेत थालेको बताइएको छ । शैक्षिक सत्र २०७९/०८० मा क्याम्पसमा ७४९ जना विद्यार्थी अध्ययनरत थिए भने २०८०/०८१ मा ७१९ र २०८१/०८२ मा संख्या पुनः बढेर ७३१ पुगेको छ ।
स्नातक तथा स्नातकोत्तर तहका कक्षा सञ्चालन भइरहेको यस क्याम्पसमा हाल विद्यार्थीको आकर्षण पुनः बढ्न थालेको क्याम्पस प्रमुख उपाध्यायले बताउनुभयो । क्याम्पसमा विद्यार्थीहरूको संख्या बढ्नु र क्याम्पसको आर्थिक अवस्था सुधारिनुले क्याम्पसका सञ्चालकहरूमा उत्साहको लहर पैदा गरेको छ । वि.सं. २०३९ सालमा स्थापना भएको रेसुङ्गा बहुमुखी क्याम्पस ४३ वर्षदेखि उच्च शिक्षाको सेवा दिँदै आएको छ । ७ वटा सुविधा सम्पन्न भवन र ६५ रोपनी क्षेत्रफलमा फैलिएको क्याम्पसले आर्थिक रूपमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्य लिएको छ ।
जसले क्याम्पसलाई शैक्षिक र भौतिक दृष्टिले अझ बलियो बनाएको छ । क्याम्पसले आफ्नो समृद्ध भविष्य र शैक्षिक प्रगतिको यात्रा जारी राख्ने सञ्चालक समिति अध्यक्ष भलामीले बताउनुभयो ।
ग्रामीण क्षेत्रका क्याम्पसहरूमा विद्यार्थी घट्दै गएकै बेला रेसुङ्गा क्याम्पसको पुनरुत्थानले शिक्षा क्षेत्रको लागि सकारात्मक संकेत पैदा गरको छ । हाल क्याम्पसमा १५ जना पूर्णकालीन, १० जना आंशिक प्राध्यापक गरी २५ जना प्राध्यापकहरु र ७ जना कर्मचारीहरु कार्यरत छन् ।
रेसुङ्गा क्याम्पसले पार ग¥यो आर्थिक संकट, विद्यार्थी संख्या बढ्दै
रेसुङ्गा क्याम्पसले पार ग¥यो आर्थिक संकट, विद्यार्थी संख्या बढ्दै

Advertisement
तपाईको प्रतिक्रिया