प्यूठान– नेकपा मसाल र मोहनविक्रम सिंहलाई कतिपयले एकअर्काका पर्यायका रूपमा हेर्ने गरेका छन्। हुन पनि ३८ वर्षअघि सिंहकै नेतृत्वमा गठन भएको नेकपा मसालमा अहिले पनि महामन्त्री उनै छन्।
कम्युनिस्ट पार्टीका संस्थापक नेता सिंहको गृहजिल्लासमेत रहेको प्यूठानमा कुनै बेला मसालको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चाको आधारक्षेत्र थियो। लामो समय आफ्नो दलको र २०१० सालमा प्यूठानमा कम्युनिष्ट पार्टीको नेतृत्व गरेका सिंहले आफ्नो गृह जिल्लालाई मसालको ‘गढ’ बनाएका थिए।
यही सांगठनिक आधारको जगमा ३० वर्ष रजगज गरेको जनमोर्चा प्यूठानमा पछिल्लो समय कमजोर बन्दै गएको छ। पार्टीभित्रको टुटफुटपछि नेता–कार्यकर्ताहरुले पार्टी छाडेर गएपछि जिल्लामा पार्टीको साख जोगाउन मसाललाई सकस छ।
स्थानीय तहको निर्वाचनमा दलले प्राप्त गरेको मतको आधारमा प्यूठानमा अहिले यो पार्टी चौथो स्थानमा खुम्चिएको छ। अघिल्लो निर्वाचनमा यहाँबाट १८ हजार मत पाएको जनमोर्चाले हालै सम्पन्न निर्वाचनमा समानुपातिकतर्फ १० हजार मत पनि कटाउन सकेन।
परम्परागत रूपमा नै मसालको उल्लेख्य राजनीतिक प्रभाव रहेको प्यूठानमा पछिल्ला निर्वाचनहरूमा उक्त दलले भोग्दै गएको नराम्रो पराजयलाई कतिपयले त्यहाँ मसालको किल्ला भत्किएको र सिंहको राजनीतिक विरासत समाप्त भएको टिप्पणी गर्न थालेका छन्।
मसालले आफ्नो आधार इलाका मान्ने प्यूठानमा उसको संगठन कमजोर हुने स्थिति किन आयो?
प्यूठानका वामपन्थी नेता ईमानसिंह भारतीको दृष्टिमा पार्टीको नीतिमा समय सापेक्ष परिवर्तन ल्याउन नसक्दा कमजोर बन्दै गएको हो। ‘०४८ को चुनाव बहिस्कार र ०४९ मा उपयोगको रणनीति मसालका लागि घातक सावित भयो,’ उनले भने, ‘त्यसबेला आमचुनाव बहिस्कार नगरेको भए मसालको हैसियत अहिलेका मूलधारको पार्टीको भन्दा कमजोर हुने थिएन।’
मसालले कहिले संसदीय निर्वाचन बहिष्कार गर्छ, कहिले परिस्थितिअनुसार भन्दै सहभागी हुन्छ। मूल पार्टी अर्धभूमिगत छ। तर, जनमोर्चाका नाममा नेताहरू चुनावमा सहभागी हुने कुरालाई विश्लेषकहरू विरोधाभास भन्छन्।
प्यूठानमा जनमोर्चाको पराजयका पछाडि यतिबेला अनेक विश्लेषण भइरहेका छन्। धेरैले पार्टी विभाजन र परिवारवाद ‘फ्याक्टर’लाई मुख्य कारण मानेका छन्। नेता भारती मसालले नयाँ नेतृत्व विकास गर्न नसक्दा पार्टिमा असन्तुष्टि पैदा भएको बताउँछन्।
‘मोहनविक्रमपछि पार्टीको नेतृत्वमा को भन्ने नै छैन, अर्को पार्टीमा तेस्रो पुस्ता नेतृत्वमा आइसक्दा सिंहको पार्टीमा पहिलो पुस्ता नै हावी छ,’ उनले भने, ‘सिंहले अब पनि नयाँ किसिमले सोच्नुभएन भने पार्टीको अस्तित्व जोगाउनै गाह्रो देख्छु।’
२०४८ को निर्वाचन बहिष्कार गरेको मसालले ०५१ र ५६ मा एमालेसँगको तालमेलमा चुनाव जितेको थियो। त्यस्तै, ०४९ र ५४ का स्थानीय निकाय निर्वाचनमा समेत गाविसदेखि जिविसमा चुनावी तालमेल गरेर जनमोर्चाले नेतृत्व जित्दै आएको थियो।
२०६४ को चुनाव माओवादीले जितेको प्यूठानमा २०७० को संविधानसभा चुनावमा एमालेले विजयको झण्डा फहरायो। ०७४ मा समेत वामगठबन्धनको सहयोगमा महामन्त्री सिंहकी पत्नी दुर्गा पौडेलले चुनाव जितिन्।
एमालेसँगको तालमेलमा जनमोर्चाका तर्फबाट ०५१ र ५६ मा निर्वाचित नवराज सुवेदी, स्थानीय निर्वाचन ०४९ मा जितेका जिविस सभापति कर्णध्वज केसी, उपसभापति रमेशप्रसाद राजभण्डारीले पनि पार्टी छोडे। पहिलो स्थानीय निर्वाचनमा २२ गाविसमा जनमोर्चा र १० गाविसमा एमालेले जितेका थिए।
५४ को स्थानीय निकायमा भने जनमोर्चा १९ गाविसमा खस्कियो भयो भने एमालेले १७ गाविस जित्यो। पहिले जनमोर्चाको जनमत अधिक रहेका ढुंगेगढी, बांगेसाल, खैरा, रम्दी, दाखाक्वाडी, दाङवाङ, माझकोट, बिजुवार, बाँदीकोट, मरन्ठाना गाविसमा अहिले कमजोर भएको स्वयं नेताहरु स्वीकार्छन्।
त्यतिमात्र होइन भर्खर सम्पन्न निर्वाचनमा जिल्लाका ६४ वडामध्ये आधाआधी वडामा त उस्ले एक सय मतसमेत कटाउन सकेन। नेकपा मसालका जिल्ला प्रवक्ता ज्ञामुराम न्यौपाने पहिलेको तुलनामा जनमत घटेको स्वीकार्छन्। ‘जनमतको आधारमा मात्रै पार्टीलाई हेर्ने र सकियो भन्ने धारणा सही होइन,’ उनी भन्छन्, ‘क्रान्तिकारी आन्दोलनको जगेर्ना र परिवर्तनको लागि जनमोर्चाको विकल्प छैन।’
अहिलेको पार्टीको पुरानो आधार जोगाउन मसालका महामन्त्री सिंहले कहिले को–सँग कहिले को–सँग गठबन्धन गरेर यहाँ उम्मेदवार बनाइरहेका छन्। ०७४ सालमा नेकपा एमाले, माओवादीसँग गठबन्धन गरेर देशभरमा एक सिट जितेर पार्टीको बीउ जोगाएका उनी अहिले कांग्रेस, माओवादी, नेकपा एस, लोसपासँग गठबन्धन गरेर पुरानो क्षेत्रलाई जोगाउन प्रयासरत रहे तर सफल हुन सकेनन्। नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य सूर्य थापाले यसपाली सिंहकी पत्नी दुर्गा पौडेललाई पराजित गरेर मसालको हेडक्वार्टरमै धक्का पुर्याएका छन्।