कालिकोट- जिल्लाको शुभकालिका गाउँपालिका ४ कासिँहबहादुर शाही २०५९ सालमा नेपाली सेनामा भर्ना भए। उनी करिव ५ वर्ष नेपाली सेनामा कार्यरत रहे। द्धन्दको क्रममा ठाउँ—ठाउँमा भिडन्तमा परे।
सेनामै कार्यरत भईरहेको अवस्थामा धाधिङको चरौंदीमा तत्कालीन माओवादीसंग भिडन्तमा परे। दोहोरो भिडन्तका क्रममा माओवादीले उनलाई कव्जामा लिए।
हतियार सहित माओवादीको कव्जामा परेपछि उनले ज्यान जोगाउन आत्मसमर्पण गरे। धादिङको तारा दल गणमा कार्यरत उनी माओवादीको नियन्त्रणमा गएपछि छ महिनासम्म सम्पर्क विहिन बने।
उनी सँग भएको हतियार माओवादीले नै लगे। तत्कालीन माओवादीले उनलाई कारबाही स्वरुपमा ६ महिनासम्म श्रम सिविरमा राख्यो। छ महिनासम्मको लामो पीडा पछि उनी माओवादीको श्रम सिविरबाट रातारात भागेर भारतको काला पहाड पसे। भारत गएको दुई बर्ष पछि स्वदेश फर्किए।
द्धन्द्धको वेला भारत गएका उनी नेपालमा युद्ध विरामको समयमा घर आएका थिए। द्धन्द्धको समयमा हतियार सहित भागेको भन्दै नेपाली सेनाले उनलाई मुद्दा चलायो।
मुद्दा चलाएको १५ वर्षपछि उनलाई सैनिक अदालतले सर्वस्व सहित जन्म कैदको फैसला गरेको छ। प्रहरीले पक्राउ गरेर उनलाई नेपाली सेनाको हेडक्वाटर पुर्याएसँगै उनी केन्द्रीय कारागार सुन्धारामा छन्।
छोरा छोरी र श्रीमतीको विजोग
उनको घरमा श्रीमती र ६ वटा छोराछोरी छन्। ४ छोरा र २ छोरी पालेर वसेकी उनकी श्रीमती सुस्मीता शाहीको अवस्था विजोग छ।
जेठो छोरा १२ वर्षको पुग्दा पनि स्कुलमा पढ्न पाएका छैनन्। घरायसी समस्या र गरिबिले थला परेकी सुस्मीतालाई एक छाक टार्न हम्मे—हम्मे हुन्छ।
बुधबार पत्रकार सम्मेलन गरेर उनका आफन्तले द्धन्द्धकालीन मुद्दालाई लिएर नेपाली सेनाको अदालतले गरिवलाई पीडा दिएको सुनाए।
तत्कालीन समयका नेताहरू हाल देशको उच्च तहमा छन् तर गरिवका सन्तान जेल जानु परेको भन्दै उनका दाजु नन्दबहादुर शाहीले दुखेसो पोखे।
श्रीमानको जेल चलानले घरपरिवार विक्षिप्त बनेका छन्। द्धन्द्धमा १७ हजार नेपालीको ज्यान गयो कयौं घाइते बनेका भए पनि गरिबलाई मात्र कानुन लागेको पीडितको गुनासो छ। नागरिक न्युजबाट