५५० विघा जग्गा सखाप
Advertisement
प्यार अलि खाँन, प्यूठान÷ स्वर्गद्धारी आश्रमको नाममा हजारौ बिघा जमिन छ । आश्रम परिसर र आसपासका बनजंगल क्षेत्र सहित करिब २८ हजार रोपनीकोे मालिक समेत हो स्वर्गद्धारी । करिब ९ हजार रोपनी जग्गाको दर्ता तथा श्रेस्ता कायमै छ, र वाँकी बनजंगल पनि आश्रमकै नाममा नापीको फिल्ड बुकमा कायम रहेको छ ।विसं ०२८ मा मोहीलाई केही जग्गा नामसारी गरिएबाहेक कागजमा स्वर्गद्वारीको जग्गा जत्तिको त्यत्ति छ । तर, व्यवहारमा भने जग्गा पूरै अतिक्रमणकारी, ठेकेदार र मोहीको कब्जामा परेको छ । आफ्नै नामको जग्गाबाट आश्रमले आम्दानी पाउन छाडेको धेरै भइसकेको छ । ०५०/५१ देखि जग्गामा धेरैले आँखा गाडेको समेत बताईन्छ। पवित्र पर्यटकिय तथा धार्मिक तिर्थस्थल स्वर्गद्धारीको करिब ५ सय ५० विघा मूल्यवान खेतीयोग्य जमिन अतिक्रमणको चपेटामा परेपछी हिजोआज आश्रम भेटीको भरमा चल्दै आएको छ। दाङको लमही, घोराही र तुल्सिपुर उप–महानगरपालिकाका महत्वपूर्ण ठाँउमा रहेका खेतीयोग्य जग्गामा धमाधम गैरकानुनी तरिकाबाट भौतिक संरचनाहरु खडा गरिएको आश्रमले बताएको हो । आश्रमका प्रमुख प्रशासकिय अधिकृत हरि अधिकारीले लमहीको अर्नवा र दाङ्गको रामपुरमा रहेको जग्गा अतिक्रमणमा परेको बताए । ‘१ हजार ५० विघा जमिन आश्रमको नाममा छ ।’ उनले भने, ‘ जग्गाको मालपोत समेत नेपाल सरकारलाई तिर्दै आएका छौँ ।’ करिब ५ सय विघा जग्गामा भने मोही लागेको उनी बताउँछन । मोहीबाट पनि आश्रमले पाउनुपर्ने आयस्था नपाएको उनले गुनासो गरे । जग्गा आश्रमको भएपनी भोगचलन गर्नेले आयस्था नपठाउंदा समस्या भएको उनले सुनाए ।आश्रमका जग्गा तपस्वी गौतमले भक्तजनको दान–दक्षिणा संकलन गरेर किनेका हुन् ।
अखण्ड यज्ञ चलाउन सहयोग पुगोस भन्दै महाप्रभुले १९८० देखि १९८३ को बिचमा दान तथा झोलीको पैसाले जग्गा किनेको प्रमुख प्रशासकिय अधिकृत अधिकारीको भनाई छ । ‘यज्ञ चलाउन आवस्यक पर्ने अछेता, जहुँ र घिउको प्रभावकारी रुपमा जोहो गर्न अफट्यारो परिरहेको छ ।’ अधिकारीले भने, ‘गाईलाई दाना खुवाउनु त परेको कुरा पराल समेत खुवाउन दान माग्नुपर्ने स्थिति आयो ।’ दाङ्ग तथा स्वर्गद्धारीमा गरि करिब ६ सय ५० गाईहरु आश्रमको रेखदेखमा छन् ।
आश्रम तथा दाङ्ग तुल्सिपुरमा गरि १ सय ७० जना कर्मचारी न्यूनतम पारिश्रमिकमा सेवकका रुपमा कार्यरत रहेको र करिब १ सय विद्यार्थीहरु आश्रममा रहेको अधिकारीले बताए । ‘वार्षिक झण्डै ३ करोड खर्च छ ।’ अधिकारीले भने, ‘हजारौँ विघाको मालिम आश्रम भेटीको भरमा चल्नुपरेको छ ।’ समस्याबारे तल देखि माथिसम्म गुनासो गरेतापनि सुनुवाई हुन नसकेको अधिकारीकोे भनाई छ ।
राज्यको उदासिनताका कारण धार्मिक रुपमा विशिष्ट महिमा बोकेको स्वर्गद्धारीले अपेक्षित उपलब्धी हासिल गर्न सकिरहेको छैन । आश्रमले आफ्नै जग्गा भोगचलन गर्न पाए दान दक्षिणा तथा भेटीबाट संकलन हुने रकमले आश्रम परिसरमा भौतिक पूर्वाधारका विकासमा खर्च गर्न सक्ने वातावरण हुने अधिकारीको कथन छ । ‘स्वर्गद्धारी आउने पाहुनालाई कम्तीमा ३ दिन राख्न सक्ने हामीसंग साधनस्रोत हुनुपर्दछ ।’ अधिकारी भन्छन्, ‘१ सय ५० जना तिर्थालुलाई मात्र पुग्ने धर्मशाला छ । यहाँ आउने धेरै जसो भारतिय तीर्थालु हुन ।सिजनमा एकै दिनमा २÷३ हजार नै पुग्छन् ।’
२०६२ सालमा सर्वोच्च अदालतले विशिष्ट प्रकृतिको निजी गुठी भनि स्वर्गद्धारी आश्रमको जग्गा खण्डीकरण गर्न नपाउने फैसला गरेको छ। तर, उक्त फैसाला आदेश कार्यान्वयनमा सबै सरोकारवाला पक्ष उदासिन देखिएको आश्रमले जनाएको छ । ‘स्वर्गद्धारीलाई सम्पक्ति होईन राज्यको संरक्षणको आवस्यक्ता छ ।’ अधिकारीले भने । आश्रमको जग्गा फिर्ता गर्न बेला–बेला स्थानीयले आवाज उठाउने गरेका छन् ।प्रयास पनि भए तर सुनुवाई कहिकतैबाट भएको छैन।