कामना डेली, प्यूठान । नेपाल रेडक्रस सोसाइटी प्यूठान शाखाको ३५ औं बार्षिक साधारण सभा सोमबार बाग्दुलामा सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सांसद हरि प्रसाद रिजालले रेडक्रस निश्वार्थ स्वयंसेवी संस्था भएको बताउनुभयो। कोभिड महामारीको समयमा रेडक्रसकर्मीेहरुले गरेको योगदानको प्रशसा गर्नुहुदै रेडक्रसको लागि सहयोग गर्ने प्रतिवद्धता गर्नुभयो ।
कार्यक्रममा शाखाको बार्षिक प्रगति प्रतिवेदन तथा प्रस्तावित कार्यक्रम शाखाका मन्त्री दामोदर शर्मा र आर्थिक प्रगति प्रतिवेदन तथा प्रस्तावित वजेट कोषाध्यक्ष घनश्याम न्यौपानेले प्रस्तुत गर्नुभएको थियो । साधारण सभाले ७ बुंदे धर्मावती घोषणा पत्र समेत तयार गरेको छ ।
साधारण सभामा वर्षभरी विभिन्न गतिविधिमा उल्लेखनीय योगदान गर्ने व्यक्ति र संस्थालाई सम्मान गरिएको थियो ।
शाखाका सभापति गुमानराज पुलामीले स्थापना गर्नुभएको तुलक स्मृति पुरस्कार कोषबाट यस बर्ष पनि उत्कृष्ट स्वयंसेवकको रुपमा मल्लरानी – ४ खलंगाका वसन्तलाल शाक्य सम्मानित हुनुभयो। उहालाई नगद रु. ५ हजार र दोसल्ला सहित सम्मान गरिएको छ । उपशाखा तर्फ विजयनगर उपशाखा र प्यूठान नगरपालिका वडा नंं.३ सम्मानित भए। त्यस्तै, रक्तदाताहरुमा मनोज सुवेदी र डिल बहादुर धामीलाई सम्मान गरिएको नेरेसो प्यूठान शाखाले जनाएको छ।
क्रियाशील संघसंस्थाहरुमा ः नागरिक सरोकार समाज, क्रियाशील स्वास्थ्यकर्मीहरुमा : पुष्कल प्रसाद श्रेष्ठ, ध्रुव कुमार पोख्रेल सम्मानित हुनुभयो। त्यसैगरी प्यूठान नगरपालिका, स्वर्गद्धारी नगरपालिका, मल्लरानी, झिमरुक, सरुमारानी र माण्डवी गाउँपालिका पनि सम्मानित भए। उक्त साधारण सभामा शाखाका पूर्व कर्मचारी श्रीधर शर्मालाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, इन्द्रध्वज गणका गणपति अर्जुन विक्रम थापा, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्ल लगाएत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु उपस्थित हुनुहुन्थ्यो । नेरेसो प्यूठान शाखाका सभापति गुमानराज पुलामीको अध्यक्षतामा भएको कार्यक्रममा ने.रे.सो. धर्मावती उपशाखाका सभापति भिमकान्त सुवेदीले स्वागत मन्तव्य राख्नुभयो । कार्यक्रमको सञ्चालन शाखाका मन्त्री दामोदर शर्माले गर्नुभएको हो। कार्यक्रमको अवसरमा रेडक्रस गीत, नृत्य लगाएतका सांस्कृतिक कार्यक्रम पनि रहेका थिए ।