कपिलवस्तु । शिवराज नगरपालिकाले कोभिड १९ को संभावित संक्रमणको कारण उत्पन्न प्रतिकूल अवस्थाबाट प्रभावित नगरभित्रका १६सय श्रमिक तथा असहायलाई राहत वितरण गर्ने तयारी गरेको छ ।नेपाल सरकार मन्त्रीपरिषद्बाट तयार गरिएको असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई उपलब्ध गराइने राहत सम्बन्धी मापदण्ड, २०७६ बमोजिम शिवराजले पहिलो चरणमा १६सय घरधुरीलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो । नगर कार्यपालिकाको बैठकले राहत वितरणका लागि मापदण्ड बनाएको छ ।पहिलो चरणमा प्रति परिवार २५ किलो चामल, ३ किलो दाल, २ किलो नून, १ लिटर तेल र एउटा लाइफब्वाय साबुन उपलब्ध गराउने बैठकले निर्णय गरेको छ । सोही अनुसार राहत सामग्री खरीत तथा वितरण समितिलाई सामग्री खरीदका लागि जिम्मेवारी समेत दिइसकिएको बताइएको छ ।साथै नगरको मापदण्ड बमोजिम ५सयदेखि एक हजार घरधुरीसम्म हुने वडाका एक सय विपन्न घरले राहत पाउनेछन् । एक हजारदेखि १५सय घरधुरी हुने वडाका एक सय घरले र १५सयभन्दा माथि घरधुरी हुने वडाका २सय विपन्न घरले राहत पाउनेछन् । सोही मापदण्ड अनुसार शिवराजमा कूल १६सय विपन्न श्रमिक तथा असहायले राहत पाउने देखिन्छ ।शिवराज नगरपालिकाले सम्बन्धित व्यापारी व्यवसायीसँग राहत सामग्रीको उचित दररेट सहितको मूल्यसूची माग गरेको छ ।राहत सामग्री खरीद तथा वितरण समिति संयोजक शिवकुमारी चौधरीको संयोजकत्वमा बसेको बैठकले लकडाउनका कारण प्रभावित विपन्न श्रमिक वर्ग तथा असहाय परिवारका लागि खरीद गरी वितरण गर्न मूल्यसूची आह्वान गरेको हो ।समितिको बैठकले मध्यम खालको चामल, मसुरोको दाल, सनफ्लावर तेल, आयोडिन युक्त नून र ७५ ग्रामको लाइफब्वाय साबुन खरीद गरी वितरण गर्ने प्रयोजनका लागि मूल्यसूची माग गरिएको समिति संयोजक शिवकुमारी थारुले जानकारी दिएकी छन् ।सो सम्बन्धी कारोबार गर्ने व्यापारी व्यवसायीले चैत २२ गते दिउँसो १ बजेभित्र नगरपालिकाको कार्यालयमा मूल्यसूची पेश गर्नुपर्नेछ । चामल र दालको हकमा नमूनासहित पेश गर्नुपर्ने नगरपालिकाको पत्रमा उल्लेख छ । जिम्मा पाउने व्यवसायीले चामल २५ केजी र अन्य सामग्री एकैसाथ प्याकिङ्ग गरी उपलब्ध गराउनुपर्ने पत्रमा जनाइएको छ ।
शिवराज नगरभित्रका १६ सय विपन्न नागरिकलाई राहत बाँड्ने तयारी
शिवराज नगरभित्रका १६ सय विपन्न नागरिकलाई राहत बाँड्ने तयारी

Advertisement
तपाईको प्रतिक्रिया