तानसेन। जनपत्रकार सङ्गठन नेपाल पाल्पाको अध्यक्षमा मोहन निवाङ चयन भएका छन। जिल्ला सदरमुकाम तानसेनमा सोमबार सकिएको संगठनको प्रथम सम्मेलनले निवाङको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिमा मनीषा आले उपाध्यक्ष, सौरभ रेग्मी सचिव, गमनसिंह टोमटा सहसचिव र अस्मिता लम्साल कोषाध्यक्षमा चयन भएका छन् । त्यसैगरी जिल्ला सदस्यहरूमा कल्पना न्यौपाने, महेश काम्मु, निर्मला बस्नेत, पुष्पा गैरे, पूजा सुनार, रम्बा राना, पुष्पा रासकोटी, विजय सारू, रोशनी राना, लक्ष्मी पाण्डे, सविता गहतराजलगायत चुनिएका छन् ।
नवनिर्वाचित कार्यसमिति सदस्यहरूलाई बधाई तथा कार्य सफलताको शुभकामना दिँदै सम्मेलनका विशिष्ट अतिथि अशोक सुवेदीले दलाल पुँजीवादी व्यवस्था अन्त्य गरेर वैज्ञानिक समाजवाद स्थापना गर्न जनपत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको बताए । जनपक्षीय पत्रकारिता आवाजविहीनहरूको आवाज भएकाले युवा जनपत्रकारहरूले समाजमा दलाल सत्ताले आवाज बन्द गराएका श्रमिक, उत्पीडित समुदायको आवाज घन्काउनुपर्ने, समाजमा विद्यमान भ्रष्टाचार, शोषण, व्यभिचारको भण्डाफोर गर्नुपर्ने र वैज्ञानिक समाजवादका पक्षमा जनमत निर्माण गर्नुपर्ने दायित्व रहेको उनको भनाइ थियो ।
सङ्गठनका लुम्बिनी प्रदेश अध्यक्ष दीपेश बिष्टले जनपत्रकारहरूले एकीकृत जनक्रान्तिका पक्षमा प्रचारप्रसार गर्नुपर्ने र क्रान्तिकारी शक्ति निर्माण गर्नुपर्ने बताए । जनपत्रकारिताको इतिहासको चर्चा गर्दै उनले हरेक आन्दोलनहरूमा जनपत्रकारहरूले ऐतिहासिक भूमिका निर्वाह गरेको पनि प्रस्ट पारे । मिसन पत्रकारितामा जनपत्रकार सङ्गठनले निर्वाह गरेको भूमिका उल्लेख्य रहेको भन्दै उनले उदीयमान पुस्ताको उल्लेख्य सहभागिताले आन्दोलनमा ऊर्जा थपिएको धारणा राखे ।
जनपत्रकार सङ्गठनका केन्द्रीय सदस्य आलोक लिम्बूले नवनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई बधाई दिँदै भने, ‘तपाईंहरूले देश, जनता र क्रान्तिका पक्षमा निर्वाह गरेको भूमिका नै तपाईंहरूको जिम्मेवारी र दायित्वबोधको कसी हो । एकीकृत जाक्रान्तिलाई केन्द्रमा राखेर पत्रकारिता गर्नुहोला ।’ जनपत्रकारहरू एकीकृत जनक्रान्तिको सञ्चारसेना रहेको भन्दै लिम्बूले जनक्रान्तिका विरुद्ध षड्यन्त्र गर्ने र क्रान्तिमाथि घात गर्नेहरूका विरुद्ध जस्तोसुकै स्वरुपको संघर्षमा पनि भाग लिनुपर्ने बताए ।