प्युठान । अक्सिजन उत्पादन गर्ने विद्युत् क्षमता नपुग्दा प्युठानमा अक्सिजन प्लान्ट जोडिए पनि उत्पादन भने हुन सकेको छैन ।
प्युठान नगरपालिका-४, बिजुवारस्थित जिल्ला अस्पताल परिसरमा जडान गरिएको प्लान्ट सञ्चालन हुन नसकेको हो । अस्पतालमा विद्युत् प्राधिकरणको ३३ केभीए लाइन जोडिएको छ तर आवश्यकता अनुसार विद्युत् वितरण भएको छैन ।
अस्पतालका सूचना अधिकारी खिम पार्देका अनुसार ३३ केभीए प्रसारण लाइनको विद्युत् क्षमताले अक्सिजन उत्पादन गर्न पुग्दैन । प्लान्टमा थ्री फेज विद्युत् लाइन आपूर्ति हुन नसक्दा अक्सिजन उत्पादन प्रभावित भएको सूचना अधिकारी पार्देले बताउनुभयो।
अस्पतालमा प्युठान नगरपालिकाको सहयोगमा प्राप्त भएको ६२ दशमलव ५ केभीएको जेनेरेटर छ । सोही जेनेरेटरबाट आवश्यक अक्सिजन आपूर्ति गरिँदै आएको छ । अस्पतालको एक्स-रे मेसिनसमेत जेनेरेटरबाट नै सञ्चालन गर्नुपर्ने बाध्यता छ । पार्देले भन्नुभयो, जेनरेटर चलाउँदा अस्पतालले खर्चको भार थेग्न सक्दैन, बिजुलीबिना अक्सिजन प्लान्ट चलाउन गाह्रो छ । केन्द्र सरकारको एक करोडको लागतमा स्थापना भएको उद्योगबाट दैनिक ७०/७५ सिलिन्डर अक्सिजन उत्पादन गर्ने क्षमता छ ।