काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय पार्टी कार्यालय उद्घाटन गरेको छ। नेकपा एमालेबाट विभाजन भई बनेको उक्त पार्टीले केन्द्रीय कार्यालय काठमाडौंको नयाँ बानेश्वरस्थित आलोकनगरमा बनाएको छ। पार्टी कार्यालयको आज अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्नुभयो ।
पार्टी कार्यालय उद्घाटन गर्दै अध्यक्ष नेपालले जनतालाई दशथरी कुरा गरेर आफ्नो पार्टीले नअल्मल्याउने बताउनुभयो। उहाँले राष्ट्र र जनता नै पार्टीका गतिविधिको केन्द्रमा रहने बताउनुभयो । ‘कुनै पद प्राप्तिका लागि यो पार्टी गठन भएको होइन। देश र जनताप्रति समर्पित हुने हो। यही भावनाअनुसार अगाडि बढ्ने हो,’ अध्यक्ष नेपालले भन्नुभयो ।उहाँले सबै सकरात्मक शक्तिसँग पार्टीले हातेमालो गर्ने र पाँच दलीय गठबन्धनलाई चुनावसम्म नै लैजाने पनि बताउनुभयो ।
यसैबीच अध्यक्ष नेपालले एक हप्ताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने समेत दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामी सरकारमा जान आजै भने आजै, भोलि भने भोलि नै तयार छौँ। आशा गरौँ यो हप्ताभित्रै मन्त्रिपरिषदले पूर्णता पाउँछ।’ साथै नेपालले यथास्थितिमा एमसीसी अघि नबढ्ने प्रस्ट समेत पार्नुभयो । उहाँले एमसीसीका बारेमा आफूहरुका विभिन्न सात शर्त रहेको पनि जानकारी दिनुभयो ।