एजेन्सी । १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता माल्दिभ्समा आयोजना हुने भएको छ । प्रतियोगिता अक्टोबर १ देखी १३ गतेसम्म संचालन हुने बताईएको छ।
सोमबार बसेको दक्षिण एसियाली फुटबल महासंघ साफको कार्यकारी समितिको बैठकले प्रतियोगिता आयोजनाको जिम्मा माल्दिभ्सलाई दिने निर्णय गरेको अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव इन्द्रमान तुलाधारले जानकारी दिए ।
च्याम्पियनसिपमा नेपाल, भारत, बंगलादेश, माल्दिभ्स र श्रीलंकाले खेल्ने पक्का भईसकेको छ भने भुटानले तीन दिनपछि निर्णय दिने बताइएको छ । एकबर्ष पछि धकेलिएको प्रतियोगिता यस अघि सेप्टेम्बर १४ देखि २५ सम्म बंगलादेशको ढाकामा हुने तालिका रहेको थियो । तर, आयोजक बंगलादेशले कोरोनाका कारण आयोजना नगर्ने जानकारी गराएपछि एन्फाले प्रतियोगिता आयोजनाको जिम्मा माल्दिभ्सलाई दिने निर्णय गरेको हो ।
प्रतियोगिताका लागि नेपाली टोली बन्द प्रशिक्षणमा रहेर अभ्यास गरिरहेको छ । अभ्यासका लागि नेपाली टोली मंगलबार पोखरा जाने छ ।